कामनपाद्वारा भारी मात्रामा कर कटौती

कामनपाद्वारा भारी मात्रामा कर कटौती


काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर संकलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो ।

कामपाले चालू आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ । निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपांगत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् ।

त्यस्तै घटना दर्ता जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ । गएको वर्ष रु. १० हजार लिइँदै आएको वैवाहिक अंगीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु. दुई हजार पाँच सय कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष रु. दुई हजार लिइँदै आएकोमा यस वर्ष रु. एक हजार लिइने भएको छ ।

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु. पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यस वर्ष रु. तीन हजार कायम गरिएको छ ।