मुस्ताङ घुमेर फर्कंदै गरेका पाँच जना आन्तरिक पर्यटक गाडी दुर्घटनामा घाइते

मुस्ताङ घुमेर फर्कंदै गरेका पाँच जना आन्तरिक पर्यटक गाडी दुर्घटनामा घाइते


म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको तितरमा सोमबार गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कंदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन् ।

जोमसोमदेखि बेनीतर्फ आउँदै गरेको बा१९च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो । गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा परी घाइते भएका पाँच जनाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

घाइते भएका काठमाडौं बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका-७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका-२ निवासी ३६ वर्षीय तारा कुँवर खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ ।

स्कोर्पियोचालक काभ्रेको फूलबारी नगरपालिका-२ घर भई हाल पोखरा-१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।