‘संहिता’ जारी भएकै दिन यसरी मनाइयो मुलुकी ऐन दिवस

‘संहिता’ जारी भएकै दिन यसरी मनाइयो मुलुकी ऐन दिवस


दशकौँको इतिहास मासेर कम्युनिस्ट सरकारले मुलुकमा ‘ऐन’को ठाउँमा ‘संहिता’ जारी गरेकै दिन राष्ट्रको धर्म, संस्कृति, परम्परा तथा रीतिथिति भनेपछि हुरुक्कै हुने एक समाजसेवी वृद्धाचाहिँ आस्था र विचार मिल्ने व्यक्ति–व्यक्तित्व भेला पारेर मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस मनाउँदै थिइन् । सन्दर्भ यही भदौ १ को हो । सरकारले यही भदौ १ देखि मुलुकी देवानी संहिता र अपराधसंहिता जारी गरेको छ भने राजा महेन्द्रले समाज सुधारका लागि महत्वपूर्ण कदम चालेको दिनको सम्झना गर्दै ५६औँ मुलुकी ऐन दिवस मनाउनेहरू पनि कमलादीस्थित प्रज्ञा भवनमा सोही दिन भेला भएका थिए ।

५६औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस समारोह आयोजना गरेको थियो नेपाल जनविकास समाजसेवा सङ्घले, जसको अध्यक्ष हुन् सुभद्रा विश्वकर्मा । समारोहको सभापतित्व पनि उनै सुभद्राले गरेकी थिइन्, जहाँ अतिथि तथा वक्ताको रूपमा डा. रत्नकुमार वैद्य, दीर्घराज प्रसाईं, हिन्दू सङ्घका अध्यक्ष नीलकण्ठ भण्डारी, दलवीर विश्वकर्मा, बलभद्र भारती, शरदचन्द्र दाहाल, राधेश्याम, मीरा रञ्जित, उषा राणा आदि उपस्थित थिए । शान्ति विश्वकर्माको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रममा आस्था दर्शाएर उपस्थित हुने आमन्त्रितहरूको सङ्ख्या पनि ठूलै थियो ।

कार्यक्रमका सभापतिको आसनबाट नेजस सङ्घकी अध्यक्ष सुभद्रा विश्वकर्माले २०२० भदौ १ भन्दा अघि नेपालका दलितहरूले पशुतुल्य जीवन बाँच्नुपरेको, तर राजा महेन्द्रले कडाइका साथ छुवाछुतको अन्त्य गर्ने अभिप्रायले ऐन जारी गरेपछि छुवाछुत र भेदभाव अन्त्यमा महत्वपूर्ण सहयोग पुगेको बताइन् । यस घटनाबाट आफूमा राजा महेन्द्रको अत्यन्त गहिरो प्रभाव परेको उनले प्रस्ट्याइन् । जातीय आधारमा भेदभाव गर्नु भनेको देशकै नाम कलङ्कित पार्ने कुकृत्य हो भन्दै उनले यो कलङ्क मेटाउन सबै लागिपर्नुपर्ने बताइन् ।

दलित पनि समान रूपमा बाँच्न चाहन्छन् किनकि यी पनि समान अधिकार बोकेका नेपाली नागरिक हुन् भन्दै उनले समाजमा अझै छुवाछुत र भेदभावको भावना विद्यमान रहेकोले त्यो पूर्ण रूपले अन्त्य हुनुपर्ने तर्क गरिन् । मुलुक सबै जातजातिको फूलबारी भएकोले सबैले मिलेर बस्नुपर्छ भन्ने भावनाविपरीत भेदभावको व्यवहार गर्न खोज्नेलाई कडा कारबाही हुनुपर्छ भन्ने सुभद्रा विश्वकर्माको धारणा थियो । दलित जातका सांसदले समेत डेरा नपाउने अवस्था रहेको औँल्याउँदै उनले सरकार सबैको अभिभावक भएकोले यस्ता कुरामा ध्यान पु¥याएर न्याय दिलाउन कटिबद्ध रहन आग्रह गरिन् । काङ्ग्रेस–कम्युनिस्टहरूले गणतन्त्र आएको, जनताको दिन फिरेको भनी दाबी गरे पनि जनताले झन् बढी दुःख भोग्नुपरेको अवस्था चित्रित गर्दै उनले मुलुकका लागि बेथिति अन्त्यका लागि राजसंस्था अपरिहार्य रहेको धारणा अघि सारिन् ।