प्रधानमन्त्रीका अगाडि प्रतिवाद गर्ने जम्मा एक नेता !

प्रधानमन्त्रीका अगाडि प्रतिवाद गर्ने जम्मा एक नेता !


प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीका अघिल्तिर उभिएर उहाँसँग प्रतिवाद गर्नसक्ने एमाले नेताहरूमा जम्मा एक जना देखिनुभएको छ । कार्तिक ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सचिवालय बैठकमा छलफलका क्रममा एकजना मात्र नेता सशक्त ढङ्गले प्रस्तुत हुनुभएपछि नेतृत्व पङ्क्तिमा एकजना मात्र साहसी नेता भएको महसूस गरिएको छ । माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल बाहिरिएपछि एमालेमै रहेर केपीविरूद्ध डट्नसक्ने भीम रावल रहनुभए पनि उहाँ सल्लाहकार परिषद् सदस्यको मात्र हैसियतमा रहनुभएको, तर अहिले उहाँको त्यही जिम्मेवारी पनि सङ्कटमा परेको छ ।

कार्तिक ४ गते रात्रीकालिन भोजनको सहित ब्यवस्था गरी प्रधानमन्त्री निवासमा पार्टी सचिवालयको बैठक राखिएको थियो । बैठकमा अध्यक्ष ओलीले मीनबहादुर गुरुङबाट पार्टीको कार्यालय भवन निर्माण निम्ति सत्तरी करोडभन्दा बढीको जग्गा दान पाएको र उक्त दान मिलेकै जमिनमा गुरुङले नै दशदेखि पन्ध्रतले भवन निर्माण गरिदिने भएको जानकारी गराउनुभएको थियो । गुरुङबाट दान लिनुअगाडि पार्टीका दुई बाहेक अन्य कुनैपनि नेतालाई मीनबहादुरबाट दान लिइँदैछ भन्ने थाहा थिएन । ईश्वर पोखरेल र बिष्णु पौडेल प्रारम्भिक जानकारहरूमा पर्छन भने शङ्कर पोखरेल र बिष्णु रिमालले पनि अलिक पछिमात्र थाहा पाएका थिए ।

अध्यक्ष केपीले बैठकमा उक्त विषय जानकारी गराउनु हुँदा सहभागी अधिकाङ्श नेताले यो जानकारी दान ग्रहण गर्नु अगाडि नै किन दिइएन भन्ने जिज्ञासा उत्पन्न भएर पनि दमन गरेर राखेका थिए । बैठकमा केपीले दानका विषयमा सार्वजनिकरूपमा नकारात्मक अभिव्यक्ति दिने नेता-कार्यकर्तालाई अनुशासनको कारवाही गर्न प्रस्ताव राख्नुभएपछि नेता युवराज ज्ञवालीले विवादास्पद ब्यक्तिबाट दान लिनैनहुने भन्दै यही विषयमा असहमति जनाएकै कारण कसैसँग स्पष्टीकरण माग्ने या कारवाही गर्ने कार्य गर्न नहुने धारणा राखेका थिए । वातावरण तात्दै गएपछि युवराजले केपीलाई औंला ठड्याएर भने- ‘हामी तपाईंलाई देखेर पार्टीमा लागेका होइनौँ, पचपन्न वर्षअघि देशमा परिवर्तन ल्याउने अठोटसहित पार्टीमा जोडिएका हौँ । अन्तरविरोधहरूको ब्यवस्थापन गर्ने काइदा बेग्लै हुन्छ, जसले नेतृत्वप्रति असहमति जनाउछ उसलाई कारबाही गर्दैजाने अभ्यास कम्युनिष्ट पार्टीभित्र चल्दैन ।’

ज्ञवालीको कुरामा अष्टलक्ष्मी शाक्यलगायत धेरैको सहमति भएपनि केपीका अघिल्तिर खुलेर उनलाई साथ दिने कोही भएनन् । केपीले नेताहरू भीम रावल, बृन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण लिइ कारबाहीको प्रक्रिया अघि बढाउन प्रस्ताव गर्नुभएपछि ज्ञवालीले गम्भीर असहमति प्रकट गरेका थिए । छलफलका क्रममा नेता रघुवीर महासेठले बृन्दा पाण्डेलगायत जसले सार्वजनिक रूपमा नकारात्मक टिप्पणी गरेका छन्, तिनले सार्वजनिक रूपमा माफी माग्दा पनि हुने सुझाव प्रस्ताव गरेका थिए । तर त्यसमा केपी सहमत हुनु भएन । उल्लिखित नेताहरूसँग स्पष्टीकरण लिने निर्णयका साथ पार्टी पङ्क्तिभित्र मीनबहादुरबाट दान लिएको विषयमा कसैले नकारात्मक टिप्पणी गर्न नपाउने निर्देशन पनि केपीबाट भएको छ ।