हुलाकी राजमार्गका लागि ४७ करोड सहयोग

हुलाकी राजमार्गका लागि ४७ करोड सहयोग


हुलाकी राजमार्ग आयोजनाअन्तर्गतका सडक निर्माणका लागि छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई ४७ करोड सहयोग प्रदान गरेको छ । हुलाकी सडक बनाउन आवश्यक कोषको तरलता कायम गर्न प्रदान गरिएको सो सहयोग रकमको चेक राजदूत मञ्जीवसिंह पुरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

गत साता मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमबीच राजदूत पुरीले ४ सय ७० मिलियनबराबरको चेक हस्तान्तरण गेका हुन् । उक्त रकम हुलाकी राजमार्ग आयोजनाअन्तर्गतका १४ वटा निर्माणाधीन सडकका लागि आवश्यक कोषको तरलता कायम गर्न प्रदान गरिएको सम्बद्ध पक्षको भनाइ छ ।

बताइएअनुसार भारत सरकारले नेपाल सरकारलाई हुलाकी राजमार्ग आयोजनाका १४ वटा सडकअन्तर्गत प्याकेज २–६ को पहिलो चरणको निर्माण कार्यका लागि आठ अर्ब अनुदान प्रदान गर्ने प्रतिबद्धताअनुरूप हालसम्म २ अर्ब ३५ करोड प्रदान गरिसकेको छ ।

प्याकेज १ अन्तर्गतका दुई सडकहरू (क) धनगढी–भजनीया–सत्ती सडक र (ख) लम्की–टीकापुर–खक्रौला सडकको निर्माणकार्य भारत सरकारको एक अर्बभन्दा बढी अनुदान रकममार्फत सम्पन्न भइसकेको छ । ती सडकहरूको उद्घाटन गत ०७४ भदौ ३ का दिन भएको थियो ।

यसैगरी, स्वतन्त्रता दिवसको अवसर पारेर हरेक वर्ष अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आएको नेपालस्थित भारतीय राजदूतावासले भारतको ७२औँ स्वतन्त्रता दिवस मनाउने क्रममा यस वर्ष पनि एम्बुलेन्स, बसलगायतका उपहार तथा सहयोग प्रदान गरेको छ ।

भारतीय दूतावासमा आयोजित स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीद्वारा एक वीर नारी, सात एकल महिला, तीन मृत सैनिकका निकटतम् नातेदार र एक विकलाङ्ग भूतपूर्व भारतीय सेनालाई ५.३५ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो भने नेपालका ६८ वटा पुस्तकालय तथा सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरूलाई १७ लाखबराबरको पुस्तक वितरण गरिएको थियो ।

यस्तै, दूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस पनि उपलब्ध गराएको छ । आफ्नो मुलुकको राष्ट्रिय ध्वजा फहराई समारोह आरम्भ गरेका राजदूत पुरीले शुरुमा भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए, जसमा बितेका ७१ वर्षमा विभिन्न क्षेत्रमा भारतले प्राप्त गरेको उपलब्धि उल्लेख गरिनुका साथै नेपालको सामाजिक–सांस्कृतिक विकासतर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धता प्रकट गरिएको थियो ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ६ सय ९२ वटा एम्बुलेन्स र १ सय ३६ वटा बस उपहारस्वरूप प्रदान गरिसकेको उक्त अवसरमा जानकारी दिइयो । हजारौँ नेपाली जनतालाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीका शैक्षिक आवश्यकताको पूर्ति गर्न उल्लिखित सहयोगबाट योगदान पुग्ने दाबी गरिएको छ ।