महोत्तरीको सर्पदंश उपचार केन्द्र : बिरामीको भिड, सुविधासम्पन्न सघन उपचार कक्ष स्थापनाको माग

महोत्तरीको सर्पदंश उपचार केन्द्र : बिरामीको भिड, सुविधासम्पन्न सघन उपचार कक्ष स्थापनाको माग


बर्खा लागेसँगै महोत्तरीको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी बढेको छ । जिल्लाका बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दै छन् ।

बर्दिबास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नै सर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँचजना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ ।

०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष ०७४–७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए । तीमध्ये आर्थिक वर्ष ०७१–७२ मा १६५, आव ०७२–७३ मा २७०, आव ०७३–७४ मा २७३ र आव ०७४–७५ मा २९६ जनाले उपचार लिएको अभिलेखलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए । चालू आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्यांक छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ ।

जिल्लाका बर्दिबास, गौशाला, औरही, भंगाहा र रामगोपालपुर नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ देखिएका छन् । केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्यांक हेर्दा बर्दिबास नगर क्षेत्रमा मात्रैै सर्पदंशका ४७० घटना भएको देखिन्छ । त्यसैगरी गौशाला–१८७, औरही–१२९, भंगाहा–२६ र रामगोपालपुरका २४ जनाले केन्द्रबाट सफल उपचार पाएको अध्यक्ष देवकोटा बताउँछन् । महोत्तरीबाहेक अन्य छिमेकी जिल्लाबाट सर्पदंशको उपचार लिनेमा सिन्धुलीका १६७, धनुषाका ६६, सर्लाहीका आठ, रामेछापका तीन र सुनसरीका एकजना देखिएका छन् ।

सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने दक्ष ६ जना प्राविधिक उपलब्ध गराउँदै आएको छ । बितेका चार वर्षमा सर्पदंशका ३१ बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केको अध्यक्ष देवकोटाले जानकारी दिए ।

उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई अन्यत्र उपचारका लागि सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष देवकोटाको भनाइ छ । केन्द्र र बर्दिबास अस्पतालको समन्वयमा अत्यावश्यक भेन्टिलेटर र अन्य उपचार उपकरणसहितको सघन उपचार कक्ष सञ्चालनको आवश्यकता सार्वजनिक रूपमा औँल्याइँदै आएको छ । सो व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण कैयौँपटक गराइए पनि हालसम्म उपलब्ध भने हुन नसकेको अध्यक्ष देवकोटाको गुनासो छ । सो भेगका सर्वसाधारणले उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारी पहलकदमी बढ्नुपर्ने बताएका छन् ।