विचौलियाका कारण आकाशियो तरकारी तथा फलफूलको मूल्य

विचौलियाका कारण आकाशियो तरकारी तथा फलफूलको मूल्य


बजारमा दैनिक उपभोग हुने तरकारी तथा फलफूलको बढ्दो मूल्यले आम उपभोक्ता मारमा परेका छन् । काठमाडौं उपत्यकाकै प्रमुख तरकारी तथा फलफूल बजारमा सरकार र व्यवसायीबीच द्वन्द्वको मारमा परेको छ । जसका कारण तरकारी तथा फलफूलको मूल्य आकाशिदो छ ।

सरकारले तरकारी तथा फलफूल विक्रि वितरणमा अनियमितता देखिएको भन्दै अनुगमन गरेपछि कालिमाटी तरकारी तथा फलफूल बजार केही दिनदेखि तनावग्रस्त बन्यो । बुधबारबाट बल्ल बजार सञ्चालनमा आएको छ । सरकार भन्छ, तरकारी तथा फलफूल विक्रिमा अनियमितता छ ।

अनुगमनको आवश्यकता देखाउँदै कालिमाटी बजारमा आपूर्ति मन्त्रालयको नेतृत्वमा अनुगमन टोली अनुगमनका लागि कालिमाटी पुगेपछि व्यवसायीहरु भने अनियमितता नभएको भन्दै सरकारी अनुगमनबिरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबार दिनभर तनावग्रस्त बनेको बजार बुधबारबाट सहज बन्न थालेको छ । कालिमाटी तरकारी बजारमा बिचौलियाहरु हावी भएको, र तरकारीको मूल्य दुई तिहाईभन्दा बढि हुने गरेको आरोप लाग्ने गर्दछ । यता, व्यवसायीहरु भने किसानबाट तरकारी महँगोमा किन्ने र सस्तोमा बेच्नुपरेको गुनासो गर्छन् ।

व्यवसायीहरुले सस्तोमा तरकारी बेच्नुपरेको बताए पनि उपभोक्ताले भने महँगोमा खरिद गर्नुपरेको गुनासो कायमै छ । अझ कालिमाटी बजारको तनावले अझ तरकारीको भाउ बढेको उपभोक्ता बताउँछन् ।

विचौलियाको बढ्दो सक्रियता नै समस्या भएको कतिपय जानकारहरु बताउँछन् । सरकारले तरकारी बजारभित्र भएको समस्यालाई हटाउनका लागि आपूर्ति मन्त्रालयका सहसचिव तहका कर्मचारीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले वास्तविक प्रतिवेदन बुझाउँदै कार्यान्वयन गरे दैनिक उपभोग्य तरकारी तथा फलफूलमा देखिएको समस्या हट्न सक्छ ।