पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बरले वृद्धि

पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बरले वृद्धि


पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पुऱ्याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटेबाघको संख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटेबाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको संख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो ।

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सातवटा पाटेबाघ रहेका थिए । तर, सन् २०१७/१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटेबाघको संख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लालाई समेटेर पर्सा वन्यजन्तुबाट पर्सा राष्ट्रिय निकुञ्जमा गतवर्ष परिणत भएपछि यसको क्षेत्र विस्तार भएर ६२७ वर्गकिलोमिटरमा फैलिएको छ । बाघबाहेक हात्ती, चितुवा तथा भालुजस्ता हिंस्रक जनावरसमेत रहेकाले निकुञ्ज घुम्न आउने पर्यटकलाई सुरक्षित घुमाउन हात्ती अथवा सफारी गाडी प्रयोग गर्ने गरिन्छ । बाहिरबाट आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर बाहिरबाट आउने कुनै पनि सवारीसाधनलाई निकुञ्जभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

संसारकै लोपोन्मुख प्रजातिका रूपमा रहेको पाटेबाघ लोप हुन थालेपछि निकुञ्ज प्रशासनले यसको संख्या वृद्धि गर्न प्रभावकारी कार्यक्रम अघि सारेका छन् ।

प्रत्येक वर्ष निकुञ्जको भाठा क्षेत्रमा लाग्ने धार्मिक मेलाको कारण बाघको वासस्थान प्रभावित भई प्रदूषण बढ्नाले सो मेला अन्यत्र सार्न निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै गएको छ ।

सन् २०१३ को तथ्यांकलाई हेर्दा नेपालमा रहेका आरक्ष तथा निकुञ्जमा हाल १९८ वटा वयस्क बाघ रहेका छन् ।