देश विकासका लागि जनता आर्थिक रूपमा बलियो हुन आवश्यक : प्रचण्ड

देश विकासका लागि जनता आर्थिक रूपमा बलियो हुन आवश्यक : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

इभेन्ट्स भेन्यु एसोसिएसन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको आज (बिहीबार) उद्घाटन गर्दै उनले राज्यले अनावश्यक रूपमा व्यवसायीलाई नियन्त्रण गर्न नहुने र व्यवसायीले सरकारलाई तिर्नुपर्ने कर छल्न नहुने बताए । ‘नाफा कमाउने व्यवसायलाई दुहुनु गाईका रूपमा मात्र प्रयोग गर्ने संस्कार ठीक होइन, नाफा कमाउने स्वतन्त्रता पनि दिनुपर्छ, जनता बलियो भए मात्र देशको विकास हुन्छ,’ दाहालको भनाइ थियो ।

अहिले बलियो सरकार भएको हुँदा जनता र व्यवसायीबाट आएका गुनासालाई सम्बोधन गर्ने उल्लेख गर्दै उनले पार्टीका तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष दाहालले आगामी दिनमा स्वदेशमै रोजगारीको सिर्जना गर्नेलाई राज्यले प्रोत्साहन गर्ने खालको नीति निर्माणमा सरकारले ध्यान दिनका लागि आफूले भूमिका खेल्ने र नेपालको उद्योग व्यवसायीलाई सेवामुखी संस्थाका रूपमा विकास गर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘मुलुकमा निकै ठूलो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ, यसका लागि निकै ठूलो क्रान्ति गर्नुप¥यो, अबको सरकारको मुख्य काम भनेकै देश र जनताको आर्थिकस्तरमा वृद्धि गर्नु हो, यसमा सरकारी र निजी दुवै क्षेत्र लाग्नुपर्छ ।’ मानिसको जन्मदेखि मृत्यु संस्कारसम्मका क्रियाकलापमा पार्टी प्यालेस र क्याटरिङ व्यवसायको महत्व बढ्दै गएको र यसले मुलुकको आर्थिक विकासमा समेत मद्दत पुगेको उनको भनाइ थियो ।

पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकमा पार्टी प्यालेस र क्याटरिङ व्यवसाय फस्टाउँदै गएको र सकेसम्म हरेक कार्यक्रम देशभित्र गर्दा देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । इभेन्ट्स एन्ड भेन्यु एसोसिएसन अफ नेपालका अध्यक्ष अनिल शर्माले सामाजिक सुधार ऐन २०३३ संशोधनका क्रममा संसदमा विचाराधीन रहेको हुँदा देशको खुला अर्थनीतिलाई सहयोग पुग्ने नीतिअनुरूप कुनै खालको सीमा तोक्न नहुने माग गरे ।

सामाजिक सुधार ऐन २०३३ अनुसार विवाहमा ५१ जना मात्र जन्ती लानुपर्ने, निश्चित खर्च गर्नुपर्नेजस्ता सीमा राख्न नहुने व्यवसायीको माग छ । देशभर चार हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी छन् ।