सांसदले गराए कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

सांसदले गराए कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकको विशेष समयमा भाग लिने सांसदहरूले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरूपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने ढंगबाट कर बढाएको भनी सरकारको आलोचना गरिन् ।

उनले भनिन्, ‘अहिले स्थानीयस्तरबाट जथाभावी कर लगाउनाले आमजनता मारमा परिरहेका छन्, यस विषयमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।’

नेकपा (नेकपा)का सांसद सूर्य पाठकले वर्तमान सरकारले उचित वैदेशिक नीति, संघीयता कार्यान्वयन र सुशासन स्थापनाका लागि सराहनीय काम गरिरहेको धारणा व्यक्त गरे । चीन र भारतसँग पनि समानताका आधारमा वैदेशिक नीति स्थापित गराएको बताउँदै उनले भने, ‘वर्तमान सरकार गठनपछि नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राख्ने गरी बढाएको नीतिको चौतर्फी रूपमा स्वागत भएको छ, स्थानीय तहले लिएको करबारे प्रतिपक्षले अनावश्यक रूपमा हल्ला मच्चाउने मात्र काम गरेको छ ।’

सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठह¥याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराए ।

सांसद मोहन आचार्यले रसुवाको विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई राहतका लागि व्यवस्था गर्न माग गरे ।

सांसद अमृता अग्रहरिले सरकारले मधेस र मधेसीप्रति विभेद गरेको जनाउँदै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गरे ।

सांसद सरिता गिरीले धनुषा जिल्लाको ढल्केबरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा अहिले विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गरे ।