आज पनि शेयर कारोबारी निराश, नेप्से करिब ४ अंकले ओरालो

आज पनि शेयर कारोबारी निराश, नेप्से करिब ४ अंकले ओरालो


बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन ।

आज शेयर बजार ओरालो लागेर कारोबार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक करिब चार अंक अर्थात ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ ।

आज कुल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु. २७ करोड ७३ लाख आठ हजारमा कारोबार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैंकिङ ३.५३, जलविद्युत १४.६२, होटेल २.३६, वित्त ०.०७, निर्जीवन बिमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बिमा ३८.६४ ले घटेको छ ।

एनआईबीएल समृद्धि फन्ड र लक्ष्मी भ्यालू फन्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन् ।