कवाडी स्याटलाइट तीव्र गतिमा धर्तीतिर
कवाडी अवस्थामा पुगेको एक युरोपीय स्याटलाइट केही दिनभित्रै पृथ्वीमा ठक्कर खानेगरी खसिरहेको न्युयोर्क टाइम्सले जनाएको छ । कहाँ र कतिबेला उक्त स्याटलाइट धर्तीमा ठोक्किन आइपुग्ने हो भन्ने यकिन गर्न नसकेर सम्बन्धित विज्ञहरूसमेत रनभुल्ल परेका छन् । यदि यो मानव बस्ती भएको स्थानमा खस्न पुगेमा निकै क्षति पुग्ने ठानिएको छ । युरोपीय स्पेस एजेन्सी (ईएसए)का स्पेसक्राफ्ट अपरेसन म्यानेजर रुने फ्लोवेर्गहागनका अनुसार सतहबाट ८० किलोमिटरमाथि ५.३ मिटर लामो उक्त स्पेसक्राफ्ट छिट्टै २५ देखि ४५ टुक्रामा खण्डित हुँदै टकराउनेछ । यी टुक्राहरू सयौँ किमि टाढासम्म फैलन सक्नेछन् भने बिजुली चम्कँदा पैदा हुने गतिकै वेगमा आएर ठोक्किने हुँदा यसले पु-याउने क्षति ठूलै हुन सक्नेछ । सन् २००९ देखि अन्तरिक्षमा काम गरिरहेको उक्त स्याटलाइट गत अक्टोबर महिनामा इन्धन समाप्त भएपछि वायुमण्डलतर्फ बढ्न थालेको थियो । एकथरी विज्ञहरूले उक्त स्पेसक्राफ्ट मानवका लागि खतरा बन्ने सम्भावना कमै मात्र रहेको पनि औँल्याएका छन् ।
शुक्राणुलाई ‘नजरबन्द’ गरेर यौनसुख
आफ्नो यौन पार्टनरसँगको सम्पर्कलाई थप रसिलो बनाउन चाहने पुरुषका खुसीको खबर छ । अब त्यस्तो समय नजिक आउँदै छ जब पुरुष आफ्नी महिला मित्रसँग ‘गर्भ पो बस्छ कि ?’ भन्ने आशङ्काका साथ यौन समागम गर्नुपर्ने अवस्थाबाट पूर्णत: मुक्त हुनेछ, जसका कारण यौनानन्दमा बढोत्तरी हुनेछ । यस्तै दाबी गरेको छ अस्ट्रेलियाली वैज्ञानिकहरूको एक टोलीले । वैज्ञानिकहरूले एक यस्तो उपायको खोजी गरेका छन् जहाँ सेक्स सम्बन्धमा कुनै असर नपुग्ने गरी विर्य स्खलनलाई केहीबेरका निम्ति स्थगित गर्न सकिनेछ । अहिले यो परीक्षणकै क्रममा छ र जनावर (मुसा)मा सफल परीक्षण गरिएको छ । उक्त परीक्षणले यौनक्रीडाको दौरानमा बन्ने शुक्राणुहरूलाई ‘भण्डारण’ गर्न सकिने देखाएको छ । पुरुषका निम्ति गर्भनिरोधक चक्कीको खोजीमा जुटेको सो वैज्ञानिक–समूहभित्र निकै दिनदेखि निष्क्रिय शुक्राणुहरूको भूमिकामाथि विचार–विमर्श चलिरहेको छ । शुक्राणुलाई निष्क्रिय तुल्याउन जुन औषधिहरूको प्रयोग गरियो, त्यसबाट अलिक साइडइफेक्ट हुन सक्ने देखिएकाले अनुसन्धानकर्ताहरू बडो सतर्कताका साथ अध्ययन गरिरहेका छन् । यसले गर्दा केही समय लिनसक्ने देखिए पनि वैज्ञानिकहरू निकै आशावादी बनेका छन् । सामान्यतया स्खलनभन्दा ठीक अघि विर्यकोषबाट शुक्रवाहिकाहरूको मद्दतबाट शुक्राणु बाहिर निस्कन्छन् । तर, वैज्ञानिकहरूको उक्त टिमले मुसामा गरेको प्रयोगअनुसार अनुवांशिक बनावटलाई परिवर्तन गरेपछि शुक्रवाहिकाबाट विर्य बाहिर निस्किएन । शुक्राणुहरूलाई अर्कै एक ठाउँमा जम्मा गरियो फलस्वरूप स्खलनको बेला त्यहाँ शुक्राणु उत्सर्जित भएनन् । यसरी यौन समागमका बेला विर्यलाई अर्कै स्थानमा जम्मा गर्ने र पछि फेरि पूर्ववत् स्थानमा लैजाने प्रक्रियाका लागि औषधि तयार भएको छ । ‘जैविक नसबन्दी’ नाम दिइएको यस प्रक्रियाको अन्तिम परीक्षणमा अनुसन्धानकर्ता जुटिरहेका छन् ।
अल्जाइमरले खाने भो विश्व !
विश्वमा अल्जाइमर (मानसिक विक्षिप्तताका कारण बिर्सने रोग)बाट पीडितहरूको सङ्ख्या झन्डै साढे चार करोड रहेको तथ्याङ्क छ । अल्जाइमर्स डिजिज इन्टरनेसनल नामक संस्थाले सन् २०५० सम्ममा उक्त सङ्ख्यामा तीन गुणा बढोत्तरी हुने दाबी गरेको छ । सो संस्थाले गरेको आशङ्काअनुसार जुन हिसाबले गरिब तथा मध्यम आयवाला देशमा मानिसको औसत आयु बढिरहेको छ, यसले अल्जाइमर्स रोगीको सङ्ख्या काफी बढाउनेछ । खासगरी दक्षिणपूर्व एसिया र अफ्रिकामा यस्ता सङ्केत देखिइसकेका छन् । अहिलेसम्म चाहिँ मानसिक विक्षिप्तताको ३८ प्रतिशत रोगी सम्पन्न देशमा छन्, तर आगामी ३०–३५ वर्षमा यस तथ्याङ्कको सन्तुलन पूरै बदलिनेछ । त्यतिबेला विश्वका ७१ प्रतिशत बिरामी गरिब तथा मध्यम आयवाला देशमा हुनेछन् । विडम्बना त यो छ कि डिमेन्सियाको महामारीबाट बच्ने मामलामा यस क्षेत्रका सरकार पूरै उदासीन देखिएका छन् । वैश्विक महामारीको रूप लिन लागेको अल्जाइमर्सको बढ्दो रफ्तारले विश्वमै स्वास्थ्य क्षेत्रमा ठूलो समस्या पैदा गर्ने विज्ञहरूको धारणा छ ।
नितम्ब देखाएर मिस बम बम !
विश्वमा अनेक नामका प्रतियोगिता हुन्छन् । कतिपय प्रतियोगिता त निकै अजिव र बेतुकका झैँ लाग्छन् र पनि यस्ता प्रतियोगिताको आयोजना भने घट्नुको साटो बढ्दो मात्रामा छ । ब्राजिल पनि यसको एउटा उदाहरण बनेको छ । पछिल्लो तीन वर्षयता ब्राजिलमा ‘मिस बम–बम’ नामको प्रतियोगिता आयोजन हुँदै आएको छ । यस प्रतियोगितामा सहभागी हुने महिलाका अनुहार होइन हिप (नितम्ब) कस्तो छ भन्ने आधारमा विजेताको छनोट गरिन्छ । यसमा प्रथम र द्वितीय विजेता बन्ने महिला ब्राजिलकै सबभन्दा सुन्दर नितम्बवाली र सेक्सी महिला कहलिनुका साथै रातारात सेलिब्रेटी बन्ने हुनाले जजलाई घुस दिएरसमेत सुन्दरीहरू मिस बम बम बन्न लालायित हुँदै आएका छन् । गाउँघरतिर पुठो भनेरसमेत सम्बोधन गरिने अङ्ग देखाएर मिस बम बम बन्ने सौभाग्य यस वर्ष २५ वर्षीया डाय मकेडोलाई प्राप्त भयो भने एलियाना एमरल नामक अर्की सुन्दरीको नितम्ब दोस्रो र जेसिका एमरलको तेस्रो कोटीमा परेको घोषणा गरिएको छ ।
प्रतिक्रिया