क्यान्सर भवन निर्माणमा समय दोब्बर लागेपछि १२ करोड लागत बढ्ने

क्यान्सर भवन निर्माणमा समय दोब्बर लागेपछि १२ करोड लागत बढ्ने


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्पन्न गर्न सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा १२ करोड बढी थपिने भएको छ ।

०६९ फागुनमा ३३ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । भवनको ठेक्का प्रेरा आशिष जेभीलाई परेको थियो । अस्पतालका तर्फबाट भवन हेर्दै आएका रमेशराज पाण्डेका अनुसार सम्झौताका बेला लागत मूल्य ६० करोड १९ लाख थियो । भवन सम्पन्न हुन ६६ महिना लाग्यो । जसका कारण लागत बढ्ने बताइएको छ ।

निर्माण कम्पनीका परियोजना व्यवस्थापक सुभाष पोखरेलका अनुसार भवन सम्पन्न भई लागत मूल्य निकाल्ने काम भइरहेको छ । उनका अनुसार ७२ करोड हाराहारी खर्च आउने देखिएको छ । समय दोब्बर लाग्नु र नक्सांकनमा गरिएको फेरबदलले मूल्य बढ्न गएको हो । पोखरेलले बीचको समयमा अस्पतालले गर्नुपर्ने कतिपय नीतिगत निर्णय नगरेकाले काममा ढिलाइ भएको बताए ।

अस्पताल १५ महिना सञ्चालक समितिविहीन बनेको थियो । अस्पतालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले बीचको समयमा सञ्चालक समितिको अलमलका कारण निर्णय लिन नसक्दा काममा ढिलाइ भएको बताए । सरकारी नियमअनुसार नै मूल्य बढेको बताउँदै उनले यसमा कुनै अनियमितता भने हुन नपाएको जिकिर गरे । भवन सम्पन्न भएसँगै अस्पतालमा २५० शय्या बढ्नेछ । हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छ । पाँचतले सो भवनमा शल्यक्रिया, सघन उपचार, शल्यक्रिया गर्नुअघि र पछि बिरामी राख्ने र विभागीय प्रमुखका कक्ष छन् । त्यस्तै, सभाहल, चिकित्सक छलफल कक्ष, तथ्यांक शाखा, रेडियोथेरापी बंकरसमेत छन् ।