गोलबजार नगरपालिकामा यी सेवा निःशुल्क

गोलबजार नगरपालिकामा यी सेवा निःशुल्क


देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु. ५० विलम्ब शुल्क लाग्ने नगरप्रमुख देवनाथ साहले जानकारी दिए । जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, निःशुल्क स्वास्थ्योपचार, स्वास्थ्य उपचारमा सहुलियत, छात्रवृत्ति, अति गरिब र दुईजना व्यक्ति एउटै भएकोलगायतका सिफारिस निःशुल्क गरिएको नगरप्रमुख साहले बताए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम अपांगता भएका नागरिकको सिफारिसमा ५० प्रतिशत छुट दिने तथा अति गरिब डुम र मुसहर समुदायलाई नगरपालिकाबाट दिइने सिफारिसमा पूर्ण निःशुल्क गरिएको नगर प्रमुख साहको कथन छ ।

अधिकांश स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाइरहँदा गोलबजार नगरपालिकाले विभिन्न सिफारिस र व्यक्तिगत घटना दर्ता निःशुल्क गरेपछि स्थानीयवासी खुसी भएका छन् । देशभरिका स्थानीय तहले कर बढाइरहेको भन्ने तीव्र असन्तुष्टि आएको बेला गोलबजार नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क गरेपछि स्थानीयवासी खुसी देखिन्छन् ।