वर्तमान सरकार मुलुकभित्रै रोजगार सिर्जना गर्न अग्रसर : मन्त्री विष्ट

वर्तमान सरकार मुलुकभित्रै रोजगार सिर्जना गर्न अग्रसर : मन्त्री विष्ट


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको मुख्य चुनौती रोजगार भएको दावी गरेका छन् ।

मन्त्री विष्टले रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउनुपर्नेमा जोड दिए । वर्तमान सरकार मुलुकभित्रै रोजगार सिर्जना गरी बेरोजगारी समस्या हटाउन लागिपरेको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

श्रम विभाग, कोइका र आइएलओको संयुक्त प्रयासमा आयोजना गरिएको रोजगार सूचना केन्द्र रोजगार पोर्टल र त्यसका एप्सको शुभारम्भ गर्दै मन्त्री विष्टले सरकारी कार्यालय र निजी क्षेत्रले रोजगारी प्रवद्र्धनमा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

मुलुकभित्रै गुणस्तरीय रोजगार सेवा उपलब्ध गराउने र रोजगार दाता तथा श्रमिकलाई रोजगारका सूचना उपलब्ध गराउनका लागि मोबाइल एप्सको निर्माण गरिएको मन्त्री विष्टको भनाई छ ।

मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र विस्तार गर्ने सरकारको तयारी रहेको छ । स्थानीय तहमा खोलिने रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको छ । रोजगार सम्बन्धी मोबाइल एप्सको पहुँच दुरदराजसम्म पु¥याउनुपर्ने सहभागीहरुको जोड थियो ।