सरकारी हस्तक्षेपका कारण निलम्बनमा परेको भारतीय राष्ट्रिय ओलम्पिक कमिटी (आईओए)माथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले त्योभन्दा ठूलो कारबाही गर्न सक्ने सङ्केत देखाएको छ । अब आईओसीले निश्चित समयमा निर्वाचनसहित सम्पूर्ण विवाद समाधान नगरे आईओएलाई ‘खारेजी’ गर्ने प्राय: निश्चित देखिएको छ । भविष्यमा आईओसीले कडा कदम उठाउन सक्ने सम्भावना देखिएपछि अहिले भारतीय खेलकुदमा सन्नाटा छाएको छ । सम्भावित खतरालाई आत्मसात् गरिरहेका त्यहाँका खेलाडीहरू विवादको समाधानका लागि पहल गरिरहेका छन् भने पदाधिकारीले मौनता साँधेका छन् । सरकारी हस्तक्षेप जसलाई आईओसीले कहिल्यै स्वीकार्दैन तर विडम्बना, भारतले यो कुरालाई बुझेर पनि बुझपचाउँदा समस्या जटिल बन्दै गएको छ । जुन भविष्यमा भारतीय खेलकुदका लागि प्रत्युत्पादक हुनेमा सायदै कसैको दुईमत होला ।
भारतमा देखिएको यो अन्योलता र सजीव चित्रले नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पार्ने कुरालाई नकार्न सकिँदैन । विगत लामो समयदेखि विवादमा होमिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद सँम्य नहुँदा यस्तो अड्कल काटिन थालेको हो । सम्माननीय सर्वोच्च अदालतले रुक्मशमशेर राणाको ओलम्पिक कमिटीलाई ब्युँताएपछि विवादमा तानिएको एनओसीको विवाद अहिलेसम्म छिनोफानो हुन सकेको छैन अर्थात् ज्युँकात्युँ अवस्थामा रहेको छ । यसरी नेपालमाथि तरबार झुन्डिएको अवस्थामा सरकारले एनओसीको विवादबारे गम्भीर भएर नसोचे भविष्यमा नेपाल पनि आईओसीद्वारा निलम्बन नहोला भन्न सकिँदैन । तसर्थ सर्वोच्चको फैसलालाई सम्मान गर्दै सरकारले हस्तक्षेप गरेर एनओसीको विवाद समाधान गर्नुपर्ने भइसकेको छ । यो विवादको जड विगतको सरकार भएकाले अब सरकारले नै एनओसीको विवादलाई समाधान गर्न हस्तक्षेपीय भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । अन्यथा भोलि नेपाल पनि भारतझैं निलम्बनमा प-यो भने सरकार नै दोषी ठहरिनेछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले सरकारको ठाडो र स्पष्ट हस्तक्षेपपछि छिमेकी मुलुक भारतको राष्ट्रिय ओलम्पिक कमिटी (आईओए) माथि प्रतिबन्ध लगाएको अवस्था छ । आईओसीले गत ८ डिसेम्बरभित्र भारत सरकारलाई विवादित मुद्दा सल्टाउन अन्तिम समय दिएको थियो । सरकार र आईओएले विवादित मुद्दा सुल्झाउन नसकेपछि आईओसीले प्रतिबन्ध लगाएको छ । अब आईओसीले आईओएलाई फेब्रुअरीमा चुनाव गर्न निर्देशन दिएको छ । तोकेको समयावधिमा चुनाव गर्न नसके आईओसीले आईओएमाथि पूर्णरूपमा निलम्बन गर्ने तयारी गरेको छ । जसका कारण भारतीय खेलाडी विचलित मानसिकताका साथ त्यो दिन हेर्न नपरोस् भनेर कामना गरिरहेका छन् ।
आईओसीको प्रतिबन्ध गरे भारतीय खेलाडी आईओसीले आयोजना गर्ने कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भारतीय झन्डामुनि खेल्नबाट वञ्चित रहनेछन् । सो अवस्थामा उनीहरूले आईओसीको झन्डामुनि मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । त्यो भारतीय खेलाडीका लागि निकै पीडाको विषय बन्ने त्यहाँ चर्चित ओलम्पियनहरूले बताएका छन् । त्यसैले ओलम्पिक विवाद समाधान गर्न ओलम्पिकमा भारतलाई पदक दिलाएका चर्चित खेलाडी मैदानमा ओर्लिसकेका छन् । सन् २००९ को बेइजिङ ओलम्पिकमा भारतलाई दश मिटर सुटिङमा ऐतिहासिक स्वर्ण पदक दिलाएका अविनव बिन्द्रा, टेनिस स्टार लियन्डर पेस, रेस्लर सुशील कुमार र योगेश्वर दत्ताजस्ता खेलाडी ओलम्पिक विवाद तत्कालै समाधान गर्न गम्भीर भएर लागेका छन् ।
यता, छिमेकी राष्ट्र भारतको जस्तो अवस्था नेपालमा पनि नहोस् भन्ने कामना अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष ध्रुवबहादुर प्रधानले गरेका छन् । नेपालमा पनि ओलम्पिक विवाद दिन प्रतिदिन बढ्दै जाँदा आईओसीले कुनै पनि बेला नेपालमाथि प्रतिबन्ध लगाउन सक्ने दाबी प्रधानले गरेका छन् । ‘यस्तै अवस्था रहेमा नेपालमाथि पनि प्रतिबन्ध हुन सक्छ,’ गम्भीर हुँदै एनओसी अध्यक्ष प्रधान भन्छन्, ‘यसकारण बेलैमा सोच्नुपर्ने भइसकेको छ ।’ दुई वर्षअघि भारतको ओलम्पिक कमिटीको चुनाव हुँदा सरकारले हस्तक्षेप गरेको थियो । भारतमा झैं नेपालको घटनाक्रम पनि समान देखिन्छ । सन् २००७ मा भएको ओसीए र आईओसीका प्रतिनिधिबीच एनओसीको चुनाव भएको थियो । तर, २०१० मा सर्वोच्च अदातलले प्रधान अध्यक्ष गरेको एनओसीको चुनाव अवैधानिक भएको निर्णय गर्दै काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको रुक्मशमशेर राणा अध्यक्ष रहेको एनओसी ब्युँताएको थियो । राणाको संस्थाले सरकारी मान्यता पाएपछि मुलुकमा दुईवटा एनओसी अस्तित्वमा आएका थिए र यहीँबाट ओलम्पिक विवादको शुभारम्भ भएको थियो ।
सन् २००६ मा राणा पक्षका व्यक्ति, सरकारी पक्ष, आईओसी र ओसीएका पदाधिकारीबीच सौहार्दपूर्ण वार्तापछि चुनाव भएको दाबी प्रधानले गरेका छन् । ‘सम्झौताअनुरूपै हामीले चुनाव गरेका थियौँ,’ ६ वर्षअघिको वार्ता सम्झँदै प्रधानले भने, ‘तर के कारण हो हाम्रो चुनावलाई अदालतले मान्यता दिएन ।’ सरकारले सीधै एनओसीमाथि हस्तक्षेप गरेको दाबी गर्दै प्रधानले ‘केही तŒवका कारण हामीमाथि हस्तक्षेप भयो, त्यो अधिनायकवादी शैली थियो ।’ आईओसी र ओसीएले सरकारी हस्तक्षेपलाई कहिल्यै स्वीकार नगर्ने उनी बताउँछन् । ओलम्पिक चार्टर्डअनुसार एनओसी अगाडि बढिरहँदा सरकारबाट हस्तक्षेप हुँदा यसको गतिविधि नै रोकिएको प्रधानले दाबी गरे । वर्तमान अवस्थामा सरकार र ओलम्पिकबीचको युद्धमा खेलाडीमाथि निकै मार परिरहेको पीडा उनले पोखेका छन् । विवादका कारण खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेका छैनन्, ओलम्पिक विवाद नभएको भए खेलाडीलाई वैदेशिक प्रशिक्षण पठाउन सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन ।
मुलुकको ओलम्पिक विवादको समाधानका लागि सरकार र आफूहरूबीच समझदारी हुनुपर्ने बाटो प्रधानले देखाएका छन् । ‘सरकार र ओलम्पिक कमिटीबीच समझदारी गर्दै अगाडि बढे, त्यो विवाद तत्कालै समाधान हुन्छ, हामी सबै खेलाडीको भविष्यप्रति चिन्तित हुनुपर्ने बेला आइसक्यो,’ सरकारलाई सुझाव दिँदै प्रधानले भने ।
भारतजस्तो ठूलो राष्ट्रमा आईओसीले सरकारी हस्तक्षेपलाई गम्भीरतापूर्वक लिएको बताउँदै ‘भारत हामीभन्दा ठूलो राष्ट्र हो, यस्तो राष्ट्रलाई त आईओसीले छाड्ने भने नेपालको कुरै छैन । आईओसीमा नेपालको स्थान खासै नरहेको र नेपालजस्तो मुलुकलाई प्रतिबन्ध लगाउँदा कुनै असर पर्ने पनि देखिँदैन । तसर्थ भारतीय खेलाडीको पीडालाई आत्मसात् गर्दै नेपाली खेलाडीलाई त्यो पीडाबाट बचाउन ओलम्पिक विवादलाई सरकारले सदाका लागि समाप्त गर्न माथिल्लो स्तरको निर्णय गर्नुपर्ने भइसकेको छ । अन्यथा नेपाललाई आईओसीको ‘कु’बाट कसैले रोक्नसक्ने देखिँदैन । त्यसपछि थाप्लोमा हात राख्नुभन्दा अहिल्यै सकारात्मक निर्णय गरे नेपाली खेलकुद र खेलाडीको कल्याण हुनेछ । पशुपतिनाथले सबैलाई समयमै सद्बुद्धि देऊन् ।
खेल समाचार
दीपक र वैकुण्ठलाई पच्चीस लाख
नेपाल सरकारले कीर्तिमानी खेलाडीद्वय तेक्वान्दोका दीपक विष्ट र एथलेटिक्सका वैकुण्ठ मानन्धरलाई जनही २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को ९०औँ बोर्ड बैठक (०६८ चैत २१ गते) गरेको सिफारिसलाई नेपाल सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो । सो बैठकले तीन वा तीनभन्दा वढी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेलमा स्वर्ण पदक वा एसियाडमा स्वर्णसहित दुई पदक वा ओलम्पिक खेलका पदकधारी खेलाडीले खेलजीवनबाट सन्न्यास लिएमा २५ लाखबराबरको आवासको व्यवस्थाका लागि रकम दिने निर्णय गरेको थियो ।
पुरस्कृत हुने खेलाडी दीपक विष्टले चारवटा सागमा लगातार स्वर्ण र एसियन गेममा दुईवटा कास्य पदक जितेका थिए । दीपकले सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ साफ, पाकिस्तानमा सम्पन्न नवौँ साफ, श्रीलंकामा सम्पन्न दसौँ साग र बंगलादेशमा सम्पन्न एघारौँ सागमा स्वर्ण पदक जितेका थिए । दीपक साफ गेममा चारवटा स्वर्ण पदक जित्ने नेपालका एक मात्र खेलाडी हुन् । त्यस्तै, अर्का चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धरले सन् १९८३ मा काठमाडौंमा सम्पन्न पहिलो साफ, बंगलादेशको ढाकामा सम्पन्न दोस्रो साफ र भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा लगातार स्वर्ण पदक जितेर ह्याट्रिक गरेका थिए ।
पटक–पटक पुरस्कार दिने घोषणा भए पनि खेलकुदप्रति सरकारको गैरजिम्मेवारी भूमिकाले विष्ट र मानन्धरले पुरस्कारबाट विमुख हुनुपरेको थियो । खेलाडीहरूको हक, अधिकार र सुविधाका लागि विशेष भूमिका निभाउँदै आएका राखेपका सदस्यसचिव युवराज लामाको पहलले गर्दा आज यो सम्भव भएको पुरस्कृत खेलाडीद्वयले बताएका छन् । राखेपले गत वर्ष यसलाई प्रमुख मुद्दा बनाएर खेलकुद मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरेको थियो । सरकारले खेलाडीको उच्च मूल्याङ्कन गर्दै गरेको यो सकारात्मक निर्णयप्रति राखेपले आभार प्रकट गरेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई धन्यवाद ज्ञापन गरेको छ । यसप्रकारको निर्णयले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्नुका साथै खेलाडीलाई प्रेरित गर्ने महासचिव दीपक श्रेष्ठले बताएका छन् ।
आयोगले क्रिकेट प्रतिवेदन बुझायो
राष्ट्रिय खेलकुद परिषद्ले टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अति आवश्यक के–के कार्य गर्नु आवश्यक छ त्यसका लागि बृहत् कार्ययोजनासहितको प्रतिवेदन बुझाउन गठित आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा तत्काल गर्नुपर्ने कामबारे विस्तृत विवरण रहेको छ ।
जसअनुसार क्रिकेटको पूर्वाधार सुधार गर्ने र प्रतियोगिताको तयारीका लागि अभ्यास म्याचको आवश्यकतालाई औँल्याइएको छ । पूर्वाधार सुधारतर्फ हाल सञ्चालनमा रहेको त्रिभुवन विश्वविद्यालयको मैदानमा जिमहलको सुधार गर्ने, इन्डोर हलको निर्माण, नेट र टर्फको व्यवस्था आदि रहेका छन् ।
त्यस्तै श्रीलंका र न्युजिल्याण्डमा अभ्यास म्याच र एकदिवसीय म्याचको व्यवस्था गर्नुपर्ने औँल्याइएको छ । प्रतिवेदन तयारी समितिमा राष्ट्रिय खेलकुद परिषद्, खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल, क्यानका प्रतिनिधि सञ्जीव पाण्डे, प्रमुख प्रशिक्षक जगत टमाटा र परिषद्का एक इन्जिनियर रहेका थिए ।
प्रतियोगितका लागि आवश्यक रकम क्रिकेटका लागि विनियोजन गरेको बजेट र भौतिक पूर्वाधारका लागि मौजुदा रहेको ४० लाखबाट काम सुरु गर्ने र नपुग रकम सरकारसँग माग्ने सदस्यसचिव युवराज लामाले जानकारी गराएका छन् । प्रथम चरणमा प्रतियोगिता तयारीका लागि पूर्वाधार निर्माणका लागि एक करोड ५३ लाख आठ हजार तीन सय ४३ रुपैयाँ ४४ पैसा र अभ्यास खेल र एकदिवसीय प्रतियोगिताका लागि दुई करोड ३० लाख ४० हजार नौ सय ३० रुपैयाँ २० पैसा रहेको प्रतिवेदनका क्रममा उपसचिव रामबहादुर हमालले बताएका थिए ।
काठमाडांै म्याराथनका खेलाडी पुरस्कृत
सातौँ रियल काठमाडौं म्याराथनका खेलाडी पुरस्कृत भएका छन् । भद्रकालीस्थित नेपाल सैनिक क्लबमा ह्विलचेयरतर्फ महिला÷पुरुष, पाँच किलोमिटर स्कुल छात्र÷छात्रा, पाँच किलोमिटर खुला महिला÷पुरुष, हाफ म्याराथन महिला÷पुरुष र म्याराथनतर्फ महिला÷पुरुषतर्फको विधामा विजयी खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
ह्विलचेयरको महिलातर्फ ज्योति अर्याल १६.६ मिनेटका साथ प्रथम, यमी झाँक्रीमगर द्वितीय तथा सोनिका ढकाल तृतीय भएकी थिइन् । यसैगरी पुरुषतर्फ भरत अधिकारी ११.६ मिनेटका साथ प्रथम, कृष्णराज चौधरी दोस्रो र राजु कटुवाल तेस्रो भएका थिए । ५ किलोमिटर छात्रातर्फ संगीता खड्का २०.५७ मिनेटका साथ प्रथम, हुमी बुढामगर दोस्रो र शर्मिला क्षेत्री तेस्रो भएकी थिइन् । त्यस्तै सो विधाको छात्रतर्फ ज्ञानबहादुर दानी १७.२२ मिनेटका साथ प्रथम, विकास राई दोस्रो र बाबुराम माझी तेस्रो भएका थिए ।
पाँच किलोमिटर खुला महिलातर्फ विश्वरूपा बुढा २०.०७ मिनेटका साथ प्रथम, कान्छीमाया कोजु दोस्रो तथा लक्ष्मी पाण्डे तेस्रो भएकी थिइन् । सो स्पर्धाको पुरुषतर्फ कल्याण बानियाँले १६.४६ मिनेटका साथ प्रथम स्थान हासिल गरेका थिए । लक्ष्मण मल्लले दोस्रो र किरण मल्लले तेस्रो स्थान पाएका थिए ।
हाफ म्याराथनको महिलातर्फ सशस्त्रकी वृन्दा श्रेष्ठले एक घन्टा, ३१.३५ मिनेटका साथ प्रथम स्थान हासिल गरेकी थिइन् । त्यसैगरी सेनाकी सरिता बासी दोस्रो र नारायणीदेवी सिंहले तेस्रो स्थान प्राप्त गरेका थिए । पुरुषतर्फ भने प्रथम, द्वितीय र तृतीय स्थान नेपाली
सेनाको पोल्टामा परेको थियो । सेनाका राजकुमार विष्टले एक घन्टा ११.५१ मिनेटमा दूरी पूरा गरेका थिए भने दोस्रो र तेस्रो स्थानमा होमलाल श्रेष्ठ र तीर्थबहादुर तामाङ रहेका थिए ।
महिलातर्फको म्याराथनमा सशस्त्रकी सोनु राईले तीन घन्टा ३६.४४ मिनटमा दूरी पूरा गर्दै विजय हासिल गरेकी थिइन् । त्यस्तै पुरुषतर्फ नेपाली सेनाका उत्तम खत्री दुई
घन्टा ३२.०१ मिनेटका साथ प्रथम, कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भएका थिए । उक्त विधामा १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाका प्रधान सेनापति महारथी गौरवशमशेर जबराा, रथी पवनबहादुर पाण्डे, उपरथी प्रदीपविक्रम राणा, एथलेटिक्स सङ्घका अध्यक्ष एवम् आयोजक नीलेन्द्रराज श्रेष्ठ, प्रायोजक संस्था डाबर नेपालका सिनियर एक्जुकेटिभ मार्केटिङ विकास डङ्गोलले पुरस्कार वितरण गरेका थिए ।
नेपालका लामो दूरीका धावकहरूलाई अन्तराष्ट्रियस्तरमा स्थापित गर्दै पदक हासिल गर्ने र खेलकुद पर्यटनको विकास गर्ने उद्देश्यले एनआरएन काठमाडांै म्याराथनको नामबाट सुरु भएको म्याराथन आर्थिक कठिनाइ, प्रायोजकहरूको अभाव र विभिन्न बाधा–अड्चनका बाबजुद सातौँ संस्करणसम्म आइपुगेको अध्यक्ष श्रेष्ठले कार्यक्रम जानकारी गराएका थिए ।
एम्बेसडर राष्ट्रिय तेक्वान्दो सुरु
छैटौँ कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल तेक्वान्दो सङ्घ र नेपालस्थित कोरियाली दूतावासको संयुक्त आयोजनामा हुने प्रतियोगितामा तीन विभागीय टोली र सङ्घसँग आबद्ध नेपालभरका प्रशिक्षण केन्द्रहरू (डोजाङ) का पाँच सय महिला र नौ सय तीन पुरुष गरी एक हजार चार सय तीन खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक टेकराज जोशी (प्रदीप) ले जानकारी गराएका थिए ।
जुनियर महिला÷पुरुष र सिनियर महिला÷पुरुषमा स्पाइरिङतर्फ २४ र पुम्सेतर्फ १९ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर र सिनियरमा उत्कृष्ट घोषित हुने चार खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो सार्वजनिक गरिएको थियो ।
राष्ट्रिय भलिबल अर्को महिना
नेपाल भलिबल सङ्घको आयोजनामा २८औँ पुरुष तथा १८औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा हुने भएको छ । पुस ३० देखि माघ ४ गतेसम्म पुरुषको नवलपरासी तथा पुस २७ देखि माघ १ गतेसम्म महिलाको पोखरामा राष्ट्रिय प्रतियोगिता हुने आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दानबहादुर तामाङले जानकारी गराए ।
पुरुषतर्फ पाँच विकास क्षेत्रका पाँच टिम, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेना र विश्वविद्यालयको एक–एक गरी नौ टिमको सहभागिता रहनेछ । महिलामा सेनाबाहेक पुरुषमा सहभागी अन्य आठ टिमले भाग लिनेछन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब २८ लाख ५० हजार रुपैयँँ खर्च हुने आयोजक जानकारी गराएको छ ।
महिला डबल लिग भलिबल माघमा
ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबले आयोजना गर्दै आइरहेको ढोरपाटन ब्लु स्काइ कप टीभीएस महिला डबल लिग भलिबलको नवौँ संस्करण माघ १६ गतेदेखि राजधानीमा हुने भएको छ । मङ्सिर २९ गतेदेखि हुने भनिएकोमा विविध कारणले गर्दा प्रतियोगिता सार्नुपरेको आयोजकका महासचिव देवेन्द्रकुमार घर्तीमगरले जनाएका छन् । ज्ञानुबाबा उमावि, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड एकेडेमी, चन्देश्वरी युवा क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, आयोजक, पशुपति क्याम्पस, कोलकाताको टिम, काभ्रे जिल्ला भलिबल सङ्घ र कुलेश्वर मावि गरी ११ टिम प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । पहिलो हुनेले दुई लाख ५१ हजार र दोस्रोले एक लाख २० हजार नगद पुरस्कार पाउनेछन् ।
राष्ट्रिय कराते टोलीलाई खेल सामग्री
मकाउमा रहेका कराते खेलाडी र एनआरएन मकाउले नेपाली राष्ट्रिय कराते टोलीलाई एक–एक थान ‘डमी किकप्याड प्रदान गरेको छ । खेलाडीलाई प्रशिक्षणमा सुविधा होस् भन्ने उद्देश्यले उक्त खेल सामग्री प्रदान गरिएको राष्ट्रिय कराते टोलीका प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् । कराते खेलाडीका तर्फबाट आठौँ साफका स्वर्णधारी कृष्ण गुरुङ र एनआरएन मकाउका तर्फबाट अध्यक्ष सुदर्शन थापामगरले नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङलाई सामग्री हस्तान्तरण गरेका थिए । लगत्तै अध्यक्ष गुरुङले प्रशिक्षक दीपक श्रेष्ठलाई सो सामग्री हस्तान्तरण गरेका थिए । ३०–३० हजारका दरले ६० हजार मूल्यबराबरको सामग्री प्रदान गरिएको प्रशिक्षक श्रेष्ठले बताए ।
नरबहादुर र शम्भुलाई उपाधि
दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिताको समूह ‘ए’तर्फ पुरुष डबल्समा कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडी पहिलो भएका छन् । गोंगबुमा भएको फाइनलमा उक्त जोडीले आयोजक गँगटा युवा क्लबका वीरेन्द्र थापा र पुजन श्रेष्ठको जोडीलाई २१–१२ र २१–१७ को सोझो सेटमा पराजित गरेका थिए । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । तेस्रो भएका आयोजकका रेशम पुन र कृष्ण गुरुङ तथा एपीएफका राम लामा र जोसेफ अधिकारीले १५–१५ हजार नगद पुरस्कार हात पारे । यो विधामा उत्कृष्ट भएका आयोजकका मनोज गुरुङले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।
पुरुष डबल्सकै समूह ‘बी’को फाइनलमा आयोजकका इसान श्रेष्ठ र जीवन पुनको जोडीले अर्जुन तामाङ र लक्ष्मण श्रेष्ठको जोडीलाई २१–१६ र २१–१९ ले हराउँदै पहिलो भएका थिए । आयोजकका दिनेशकुमार दुरा र दिलीप राउत तथा डम्बर गुरुङ र प्रदीप श्रेष्ठको जोडी तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार जितेका थिए । उत्कृष्ट भएका इसान श्रेष्ठलाई पाँच हजार नगद प्रदान गरिएको थियो ।
भेट्रान्स डबल्सतर्फ बालाजुका विश्व गुरुङ र नवीन श्रेष्ठले उपाधि भिडन्तमा एपीएफका हरि श्रेष्ठ र पूर्णबहादुर बुढाथोकीलाई २१–१० र २१–१६ ले पाखा लगाउँदै शीर्ष स्थान हात पारे । राजु भुजू र लिलेन्द्रविक्रम शाह तथा कमल शाक्य र सानुबाबु महर्जनको जोडी तेस्रो भएका थिए । पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार तथा तेस्रोले पाँच–पाँच हजार नगद पुरस्कार हात पारे । उत्कृष्ट बनेका नवीन श्रेष्ठले पाँच हजार नगद पुरस्कार पाएका थिए । यू–१४ ब्वाइज सिंगल्समा नेपाली सेनाका रुकेश महर्जनले सेनाकै प्रफुल्ल महर्जनलाई २१–१२ र २१–१३ को सोझो सेटमा पन्छाउँदै शीर्ष स्थान हात पारे ।
बौद्ध टिम च्याम्पियन
दोस्रो काठमाडौं जिल्लास्तरीय खुला अफिसियल कराते प्रतियोगितामा बौद्ध डोजो टिम च्याम्पियन बनेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बौद्धले पाँच स्वर्ण, तीन रजत र दुई कास्य जितेको थियो । सानो गौचरणमा भएको प्रतियोगितामा दुई स्वर्ण, एक रजत र तीन कास्यसाथ केन्द्रीय डोजो दोस्रो भयो भने तेस्रो स्थानमा रहेको आनन्दनगर डोजोले दुई स्वर्ण, एक रजत र एक कास्य हात पा-यो । एकदिने प्रतियोगिताको पुरुषमा ब्राइट गोर्खा डोजोका सन्तोष राई तथा महिलामा बौद्धकी सुनिता लामा उत्कृष्ट खेलाडी चुनिएका थिए । विजेतालाई अतिरिक्त प्रहरी महानिरीक्षक सुशीलकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया