नेपालमा गत महिना १००, गत वर्ष १,८०० को सडक दुर्घटनामा मृत्यु भएको तथ्याङ्क सुन्दा जोकोहीलाई छक्क लागेको छ । वास्तवमा दुर्घटनाको समाचारले कहिल्यै बिट मारेन नेपालमा । सडक दुर्घटनाका कारण नियाल्दा नीति, योजना, बजेट, सडकको क्षमता, सिन्डिकेट प्रणाली, ट्राफिक सेवा, ड्राइभिङ तालिम दिने संस्था, लाइसेन्स प्रक्रिया, चालकको लापरबाही फेहरिस्त लामै बन्छ । विश्व समुदायको रेकर्ड हेर्दा सडक सुरक्षाका लागि करिब ३० मुलुकले विस्तृत कानुन बनाएको देखिन्छ । जसभित्र सिट बेल्ट, हेलमेट, बच्चाको सुरक्षा सिट, चालकको पेय पदार्थमा निषेध, गति नियन्त्रण, मोबाइल प्रयोग निषेध आदि पर्दछन् । यद्यापि विश्वमा हरेक दिन १००० युवाको मृत्यु सडक दुर्घटनामा हुँदो रहेछ । वर्षेनी १२ लाखभन्दा बढीले सडक दुर्घटनामा ज्यान गुमाउँदा रहेछन् । सन् २०२० देखि प्रतिवर्ष १९ लाखको मृत्यु हुने भविष्यवाणी गरिएको रहेछ । यी तथ्याङ्कमा विश्वकै गम्भीर ध्यानाकर्षण भएको छ । तर भविष्यमा सडक दुर्घटनाले महामारीको रूपमा विश्व समुदायलाई चुनौती दिने निश्चित देखिन्छ ।
प्रियजन घाइते हुँदा औषधोपचारको खर्चले मुलुकलाई आर्थिक तथा सामाजिक जिम्मेवारी थप्दछ । एक अनुमानबमोजिम विकासशील राष्ट्रलाई यसको आर्थिक मूल्य वार्षिक एक अर्ब अमेरिकी डलरजति हुने रहेछ । विश्वको यस्तो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घले ‘सडक सुरक्षा कार्य तथा दशक २०११–२०२०’ घोषणा गरेको छ । कतिपय मुलुकले विषयको गाम्भीर्यतालाई बुझी राष्ट्रिय कार्ययोजना बनाई काम गर्न सुरु गरिसके ।
दक्षिण अफ्रिकामा विश्वकप फुटबलकोे साङ्गीतिक कार्यक्रम हेरेर फर्कँदा स्वर्गीय नेल्सन मण्डेलाकी १३ वर्षीया नातिनी जिनानी मण्डेलाको सडक दुर्घटनामा मृत्यु भयो । दुर्घटनामा मर्ने सबै स्वर्गीय नेल्सन मण्डेलाजस्तो ख्यातिप्राप्त परिवारका हुँदैनन्, तर मृत्युकोे पीडा विश्वभरिका परिवारलाई समान हुन्छ भन्दै दक्षिण अफ्रिकाले सडक सुरक्षाको राष्ट्रसङ्घीय दशकलाई साथ दिँदै सबै मिली लाखौँको जीवन बचाऔँ भन्ने जिनानी सचेतना अभियान चलाएको छ ।
बीबीसीले सडक दुर्घटनाको समीक्षा गर्दै नेपाललाई विश्वकै खतरनाक सडक भनी रिपोर्ट गरेको छ । अब नेपालमा नागरिकको चेतना, सडकको मापदण्ड, मृत्यु र घाइतेको एकीकृत तथ्याङ्क, सिन्डिकेट प्रणाली आदिबारे घनीभूत छलफल आवश्यक छ । क्षमताभन्दा बढी यात्रु चढ्ने कुरा सामान्य मानिन्छ हामीकहाँ । १८ घण्टा एउटै ड्राइभरले विश्राम नलिई गाडी चलाउँदा निदाएर गाडी पल्टँदा १२ यात्रुको मृत्युको इटहरीको घटना पनि आलै छ ।
सडक सुरक्षाको प्राविधिक समीक्षा त चाहिन्छ नै तर यसको मनोसामाजिक तथा आर्थिक विश्लेषण पनि त्यत्तिकै अहम् छ । भनिन्छ, नेपालमा करिब १५ लाख सवारीसाधन छन् तर त्यसले झण्डै ५० लाखको ज्यान जोखिममा पारिरहेका हुनसक्छन् । १६ वर्षका कलिलालाई लाइसेन्स दिने, नियम पालन नगर्नेलाई थोरै फाइन गर्नेे, चालकको गल्तीमा यातायात व्यवसायीले जिम्मेवारी लिने विषयमा अब बलियो बहस चाहिएको छ । ड्राइभरको अल्लारेपना, वैवाहिक स्थिति, केही ट्राफिकको बडी ल्याङवेज, बोली, हात हाल्ने व्यवहारजस्ता दुर्घटनाका मनोवैज्ञानिक पाटाहरू पनि केलाइनुपर्छ । अक्सर सडक दुर्घटनामा यात्रुको भूमिका ओझेलमा पर्दछ । तर, जहाँ चाहियो त्यहीँ गाडी रोकिदिओस्, जतिसुकै भीड होस् चढ्छु भन्ने, मोटरसाइकलले जता पायो उतै बाटो काट्ने प्रवृत्तिकोे पनि तीव्र आलोचना हुनुपर्छ । सवारी भिœयाउने अटोमोबाइल कम्पनी र निजी क्षेत्रको भूमिका पनि निक्र्योल गरिनुपर्छ । सवारी भिœयाएर उहाँहरू सबै जिम्मेवारी सरकारको भन्नचाहिँ मिल्दैन । दुर्घटनामा अक्सर कि एक पक्ष दोषी ठहरिन्छ कि अर्को पक्ष । हाम्रा अधिकार र कर्तव्यका बहसहरू पनि छुट्टाछुट्टै दिशातर्फ दौडन्छन्, या यातायात व्यवसायी दोषी ठहरिन्छन् या नीति । यी दुईबीचका विविध पक्षहरूमा अब आमबहस आवश्यक छ ।
ड्राइभरको भूमिकाकोे समीक्षा अत्यन्त आवश्यक छ । सडक दुर्घटनामा ड्राइभर सधैँ खलनायकजस्ता देखिन्छन् । ड्राइभरको क्षमता अभिवृद्धि गर्न लगानी गर्नुपर्छ निजी संस्था र सरकारले । अरू मुलुकमा कस्ता अभ्यास छन् त भन्दा भारतले कमनवेल्थ खेलका दौरान ड्राइभरलाई देशको इमेज बढाउन तालिम दिएको थियो । अमेरिकाले ‘ड्राइभर फेस अफ अमेरिका’ भन्ने होर्डिङबोर्ड राख्छ । सिङ्गापुरमा ‘जिम्मेवार ड्राइभर’ लेखिन्छ । फिलिपिन्सको मोटरमा ‘मेरो ड्राइभिङबारे तपाईंको सुझाब यो मोबाइल नम्बरमा दिनुहोस्’ भनेर लेखिन्छ । तर, हाम्रो ड्राइभरप्रतिकोे बोली–व्यवहार सम्मानजनक छैन । अब नेपालले पनि ड्राइभरलाई लगानी गर्ने समय आएको छ । किनकि १५ लाख सवारीसाधन चालकसँग मुलुकको समृद्धि र गरिबी सीधै जोडिएको छ ।
केही ठूला प्रवृत्तिको पनि कुरा गरौँ । स्विडेन, नर्वे र बेलायतमा मन्त्री नियमित सार्वजनिक सवारीसाधन चढ्छन् । हल्यान्डमा प्रधानमन्त्री साइकल चढेरै अफिस गएको पनि सुनिन्छ । सरकारै सार्वजनिक सवारीसाधन चढ्दा राम्रो सन्देश जाने रहेछ । हामीकहाँ सडक सुरक्षामा सम्बद्ध कतिले सार्वजनिक सवारी चढेका छौँ, थाहा छैन । साझा बसले भने सबैले सार्वजनिक बस सबै चढ्दैनन् भन्ने भ्रम तोड्न केही कोसिस गरेको छ । तर, विकसित देशको एक सूचक सार्वजनिक सवारीमा विश्वास हो । प्राइभेट गाडी घटाउने व्यवस्था हो । ताल न सुर साइरन बजाउँदै ट्राफिक जाम गरिँदैन विकसित देशहरूमा । भर्खरै भारतको अदालतले पनि कसले, कस्तो रङ्गको बत्ती सरकारी साधनमा बाल्न पाउने भन्ने निर्णय गरेको छ ।
नेपालीको मृत्युको प्रमुख कारणमा विदेशको सडक दुर्घटना पनि पर्दछ । ऋणपान गरेर कमाउन गएका नेपाली काठको बाकसमा फर्कंदाको घर गीरबीको भुमरीमा पर्दछ । मृत्यु, फगत नम्बर होइनन्, यत्तिकै सङ्ख्यामा विधवा, विधुर, टुहुरा बालबच्चा र वृद्धको बेसहारापनाको सार्वजनिकीकरण पनि हो । घरको कमाउ छोराछोरी वा आमाबाबु अकस्मात् गुमाउँदा परिवारमा पुगेको बज्रपात र गरिबीको लेखाजोखा गरिनुपर्दछ । यो विषयको गहनतालाई बुझी सडक सुरक्षा समाज नेपालले जनचेतना कार्यक्रम अघि सारेको छ । यसलाई रोटरी क्लब, जाइका, हार्ट टु हार्ट नेपालले हातेमालो गरेका छन् । मुख्यसचिवले सडक दुर्घटनालाई ‘महामारी’ भन्नुहँुदै यो विषय सम्बोधन गर्न सकिएन भने मुलुक अरू गरिबीमा पर्ने भएकाले सबैलाई सहयोगका लागि अपिल गर्नुभएको छ ।
सडक दुर्घटनाको चुनौती यद्यपि सम्बोधन गर्न नसकिने भने होइनन्, तर यसका लागि सजगता र एकीकृत प्रयास चाहिन्छ । राष्ट्रसङ्घको सदस्य राष्ट्रहरूलाई विश्वव्यापी कार्ययोजना अवलम्बन गरी नागरिकको जीवन बचाउन गरिएको आह्वानको बलियो कार्यान्वयन भएमा १० वर्षमा ५० लाखको जीवन रक्षा र पाँच करोडलाई गम्भीर चोटपटकबाट बचाउन सकिन्छ । नेपालमा पनि केही राम्रा अभ्यास भएका छन् । सवारीसाधनमा दुई सय ३८ प्रतिशत कर लगाएर मोटरसाइकलको बिक्री घटाउने पहल भएका छन् । सवारी चाप घटाउने प्रयासमा सरकारले ठूलो राजस्व गुमाएको छ । ट्राफिकको मापासे प्रयोग प्रभावकारी भएको छ भने काठमाडांैमा दुर्घटना घटेका छन् । साझा यातायातले स्तरीय बस ल्याएको छ । यसले सार्वजनिक सवारीप्रति सर्वसाधरणको आकर्षण बढाएको छ ।
मुलुकलाई द्वन्द्वसँगै सडकको घाउ बोझिलो भएको छ । द्वन्द्वताका १३ हजारको मृत्यु हुँदा संविधानसभाको जन्म भयो, तर त्योभन्दा बढी १७ हजारकोे सडक दुर्घटनामा मृत्यु भएको छ । मरेका त मरिगए, घाइतेलाई बाँच्नै मुस्किल भइरहेको होला । अनि आमनागरिकले सडक सुरक्षा सरकार वा यातायात व्यवसायीको मात्रै क्षेत्र हो भनेर पन्छिने प्रवृत्तिले अरू दुर्घटना बढ्छ, यसैले अब यस महामारीको सम्बोधन हुनैपर्छ ।
प्रतिक्रिया