‘आम आदमी’को सत्तायात्रा !– सन्देश शर्मा

‘आम आदमी’को सत्तायात्रा !– सन्देश शर्मा


bicharएनजीओको छवि भारतमा पनि राम्रो छैन । त्यहाँका राजनेता र सरकारी अफिसर एनजीओलाई प्रायः ‘झोला ब्रिगेड’का रूपमा व्यङ्ग्यपूर्ण सम्बोधन गर्दछन् । यस्तै ‘झोला ब्रिगेड’ अर्थात् स्वयम्सेवी संस्थाको एक कार्यकर्ताका रूपमा वर्षौंदेखि चिनिन्थे अरविन्द केजरीवाल । सामाजिक क्रियाकलाप एवम् भ्रष्टाचारविरोधी अभियानमा जुझारू रूपले लागेबाट सन् २००६ को रामन म्यागसेसे पुरस्कार हासिल गरेका कारण सम्मानित स्वयम्सेवीका रूपमा पनि चिनिन्थे उनी ।
तर, भारतका घरघरमा केजरीवालको तस्बिर टीभी स्क्रिनको प्राइम टाइम तथा पत्रपत्रिकाका प्रथम पृष्ठमार्फत सन् २०११ मा मात्र पुग्यो । केजरीवाल भ्रष्टाचारको विरुद्ध अभियान छेडेका अन्ना हजारेको बगलमा हरदम बसिरहेका देखिन्थे, सार्वजनिक स्थलमा धर्नामा बस्दा अन्नाको कानमा बेलाबेला कानेखुसी गर्थे, अन्नाले बिगारेका अभिव्यक्तिहरू सच्याउने र पत्रकार सम्मेलनमा अन्नाले बेस्सरी कुरा बिगार्न लागे भने पत्रकारहरूको बीचबाट बहाना बनाएर उनलाई उठाएर लैजाने भूमिकामा केजरीवाललाई भारतीय र खासगरी दिल्लीवासीले धेरै–धेरै नियाले ।
प्रायः आधाबाहुले कमिज पहिरिने केजरीवाल दुई वर्षअघि कुनै कोणबाट पनि ‘नेता’जस्ता लाग्दैनथे । तर, आज उनी यस्ता खाँटी नेता बनेका छन् जसले सत्ताधारी काङ्ग्रेस र विपक्षी भारतीय जनता पार्टी दुवैको सत्ताको मार्ग मुस्किलपूर्ण तुल्याइदिएका छन् । भाजपा तथा काङ्ग्रेसका जुन नेता उनलाई नेता मान्दैनथे, आज ‘आप’ (आम आदमी पार्टी)बाट सिक्ने कुरा गरिरहेका छन् । काङ्ग्रेसका उपाध्यक्ष राहुल गान्धीले त सार्वजनिक भाषणमै भनिदिए, ‘हामी आपबाट सिकौँला ।’ यस्तै, भाजपाले पनि आधिकारिक तवरमा वक्तव्यबाजी ग-यो, ‘केजरीवालको पार्टीको जित चकित पार्ने खालकै भयो ।’
त्यसो त आम आदमी पार्टीले सरकार गठन गर्ने फैसला लिन अनपेक्षित तवरले ढिलाइ ग-यो, तर अरबिन्द केजरीवालले अन्ततः दिल्लीको सत्ता आफ्नै कमाण्डमा सञ्चालन गर्ने फैसला लिएरै छोडे । १२ महिनाभरमै उनको नवगठित पार्टीले दिल्लीको राजनीतिमा मात्र हलचल ल्याइदिएको नभई पुराना र ‘मै हुँ’ भन्ने ठूला दललाई समेत एकप्रकारले अवसादकै सागरमा डुबाइदियो । यहाँसम्म अनुमान गर्न थालिएको छ कि आम आद्मी पार्टी दिल्लीबाहिरका त्यस्ता भोटरहरूको विकल्प बन्न सक्छ जो लामो समयदेखि काङ्ग्रेस वा भाजपामध्ये कुनै एकलाई नचाहेरै पनि चुन्न विवश बन्दै आएका थिए ।
दिल्लीमा हालै सम्पन्न चुनावभन्दा अघिसम्म दिल्लीकी मुख्यमन्त्री शिला दीक्षित आम आद्मी पार्टीलाई तृणबराबर पनि गन्न तयार थिइनन्, ‘आप’लाई राजनीतिक दल मान्नै तयार थिइनन् उनी । तर, उनकै पार्टीका सर्वशक्तिमान नेता राहुल गान्धीले समेत ‘केजरीवालको दलबाट सिक्ने’ अभिव्यक्ति दिएर ‘आप’को उचाइ बढाइदिए ।
चुनावी चर्चा सुरु हुनुअघि केजरीवालले भारतीय विदेशमन्त्री सलमान खुर्शिददेखि लिएर काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीका ज्वाइँ रवर्ट वाड्रासँग जोडिएको कथित भ्रष्टाचारको मामलामा सचेतना अभियान चलाएका थिए । उनले भ्रष्टाचारको उक्त मामला यस्तो बेला चर्काइदिए जतिबेला काङ्ग्रेसको नेतृत्ववाला सरकारमाथि एकपछि अर्को घोटालाका आरोपहरू लागिरहेका थिए । त्यसो त केजरीवालका आलोचकहरू उनले सस्तो लोकप्रियताका लागि यस्ता हथकण्डा अपनाएको टिप्पणी गर्छन् । तर, यो कुरालाई इन्कार गर्न सकिँदैन कि अरबिन्द केजरीवालले संस्कृतिझैँ बन्न पुगेको ‘चुप बस्ने’ प्रवृत्तिलाई मज्जाले तोडिदिए । मनमा रहेको कुरालाई मुखको आवाज बनाउन सक्नु साधारण कुरो होइन । केजरीवाल केवल एक वर्षअघि यसो भन्दै राजनीतिको मैदानमा ओर्लिएका थिए, ‘देश बेचिँदै छ र यसका निम्ति सबै दलहरू दोषी छन्, तसर्थ यो व्यवस्थाको सफाया गर्नुपर्छ ।’
भारत सरकारका पूर्वकर्मचारी केजरीवाललाई समाजसेवा र भ्रष्टाचारविरोधी अभियानमा दृढताका साथ सरिक भएबापत २००६ को रामन म्यागसेसे पुरस्कार प्रदान गरिएको थियो भने सन् २०१० मा उनले भ्रष्टाचारको विरोधमा ‘इण्डिया अगेन्स्ट करप्सन’ नामक संस्था स्थापना गरेका थिए । उक्त संस्थाको उद्देश्य भ्रष्टाचारविरोधी कडा कानुन बनाउनका निम्ति सरकारमाथि तीव्र दबाब दिनु थियो । यी सबै गरेर पनि ४५ वर्षीय केजरीवाल त्यतिबेला मात्र चर्चामा आए जब उनले अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनमा पर्दापछिल्तिर बसेर अहम् भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरे । वास्तवमा भ्रष्टाचारविरोधी आन्दोलनको प्रमुख अनुहार त ७४ वर्षीय अन्ना हजारे नै थिए, तर उनको सफलताको पछिल्तिर जो–जो व्यक्तिले अहम् भूमिका निर्वाह गरे, तीमध्ये ‘टिम अन्ना’का सदस्य अरबिन्दकै योगदान उच्च थियो ।
हरियाणाको हिसारमा सन् १९६८ मा जन्मिएका केजरीवालले आईआईटी खड्गपुरबाट मेकानिकल इन्जिनियरिङमा डिग्री हासिल गरेका छन् । सरकारी सेवामा प्रवेश गर्नुअघि उनले केही समय टाटा समूहमा पनि काम गरेका थिए । सन् १९९२ मा राजस्व अधिकारीका रूपमा भारतीय प्रशासनिक सेवामा सामेल भएका केजरीवालले सन् २००६ मा स्वेच्छिक अवकाश लिएका थिए । लगत्तै उनले पब्लिक कज रिसर्च फाउन्डेसन नामक एक गैरसरकारी सङ्गठन स्थापना गरे र सरकारी तन्त्रमा पारदर्शितालाई बढावा दिनुपर्ने तथा सूचनाको अधिकारप्रति जनतामा जागरुकता जगाउने अभियान सुरु गरेका थिए । प्रशासनमा हुने भ्रष्टाचारका कारण आफैँले कुनै कष्ट झेल्न नपरे पनि भ्रष्टाचारको जालो तोड्न र जनचेतना जगाउन उनले गरेको प्रयासलाई प्रशंसनीय मान्नैपर्छ । कुनै रोषका कारण सामाजिक कार्यकर्ता तथा भ्रष्टाचारविरोधी अभियन्ता बनेका थिएनन् केजरीवाल, बरु सरकारी सेवामा प्रवेश गरेको दश वर्षमै उनी सरकारी तन्त्र वा संयन्त्रसँग वाक्क–दिक्क बनेका थिए ।
राजनीतिक यात्रा सुरु गर्ने बेला अरविन्द केजरीवालले भनेका थिए, ‘आजदेखि आम आद्मी (सर्वसाधारण)ले राजनीतिमा पाइला हालेको छ, भ्रष्ट नेताहरू अब आफ्नो दिनगन्ती सुरु गर !’ हो, आज तिनै सर्वसाधारण केजरीवाल दिल्लीको मुख्यमन्त्रीको ओहोदा सम्हाल्दै छन् । राजनीतिको सुरुवाती चरणमा त केजरीवाललाई यसरी वाहवाही मिलेको छ, तर के दिल्लीवासीसमक्ष गरिएका वाचा (बिजुलीबत्तीको शुल्क आधा कम गर्ने, प्रत्येक घरमा दिनहुँ सात सय लिटर पानी आपूर्ति गर्ने, सुकुम्बासी बस्तीलाई उचित व्यवस्थापन गर्ने, प्याजलगायत खाद्य सामग्रीहरूको मूल्य न्यून गर्ने आदि) यथार्थमा पूरा गरेर जनताको असली ‘हिरो’ बन्ने सफलता उनलाई प्राप्त होला ? यदि केजरीवाललाई यस्तो सफलता हासिल भयो भनेचाहिँ ‘एकजना सर्वसाधारणले पनि दिलदेखि चाह्यो भने बेथितिपूर्ण राजनीतिमा भारी परिवर्तन ल्याउन सक्दोरहेछ’ भन्ने मान्यता स्थापित हुनेछ ।
(एजेन्सीको सहयोगमा)