जुम्लामा फल्यो २४ करोडको स्याउ

जुम्लामा फल्यो २४ करोडको स्याउ


आर्थिक वर्ष ०७५–७६ मा जुम्लामा २४ करोड रुपैयाँको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाणमा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । तीन हजार चार सय हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु. ४० मा स्याउ बिक्री भएको उनी बताउँछन् ।

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताउँछन् । अहिलेसम्म झन्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार सय कार्टुन बाँडिएको आचार्यले बताए । कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु. ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए ।

जुम्लाका किसानले स्याउ टिप्न थालेका छन् । बगँैचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङसहित कार्टुन तयारी गर्न उनीहरूलाई भ्याइनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झन्झट हटेको छ । बगैँचामा प्रतिकिलो रु. ५५ देखि रु. ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताए ।