रहेनछ कसैलाई राष्ट्रको माया– वीरेन्द्रमणि पौडेल

रहेनछ कसैलाई राष्ट्रको माया– वीरेन्द्रमणि पौडेल


bicharरुन मन लाग्ने अवस्था छ यतिबेला ती मान्छेहरूलाई ज–जसले मुलुकलाई माया गर्छन् र भलो चिताउँछन् । पहिले–पहिले हामी गरिब भएको हुँदा दुनियाँले हेप्थे । हामी सहन्थ्यौँ । अज्ञानी र अशिक्षित भएका कारण हामीलाई दुनियाँले कठै बिचरा भन्थे । हो, हामी कठै बिचरा नै हौँ भनी स्वीकाथ्र्यौं । हामीले रेल बनाउन सकेनौँ । गाडी बनाउन सकेनौँ । हवाईजहाज बनाउने त कहिल्यै कल्पनासम्म पनि गरेनौँ । भृकुटी कागज कारखाना थियो हामीलाई नहेप्ने छिमेकी चीनले दिएको । त्यो हामीले कौडीको भाउमा बेच्यौँ । किन्नेले कागज उत्पादन गरेजस्तो मात्रै ग-यो । किनेको त जग्गा पो रहेछ उसले । कागज कारखाना बन्द ग-यो । पाँच सयभन्दा बढी नेपाली बेरोजगार भए । हेटौँडामा कपडा कारखाना थियो । त्यो पनि बन्द भयो । हेर्दाहेर्दै एकपछि अर्को गर्दै नेपालका प्रायः सबै उद्योग कलकारखाना बन्द भए । उसै त गरिब हामी, त्यसमाथि उत्पादन भन्ने चिज ठ्याम्मै हुन छाड्यो । रायो र मूलाको सागलाई छाडेर यो मुलुकमा केही उत्पादन नहुने अवस्था सिर्जना भयो । हाम्रो मुलुकमा हाम्रो नाङ्गो ज्यान, टेक्ने जमिन, मूला र रायोको साग, जङ्गल, जङ्गली जनावर, हावा, पानी र दिनमा सूर्यको किरण मात्रै बाँकी रह्यो । अरू बाँकी हामीलाई चाहिने र उपभोग गरिरहेका सबै वस्तु अरूले दिएर हामी बाँच्ने अवस्थामा पुग्यौँ । अरूले दिएको दियै गरे, हामी बाँचेको बाँच्यै ग-यौँ । हामीलाई अरूले जहिलेसम्म दिएको दियै गरिरहन्छन् हामी बाँचिरहने भयौँ । जुन दिन दिन छाड्छन् त्यसदिनदेखि हामी बाँच्न नसक्ने अवस्थामा पुग्छौँ । यो सत्य हो । हामीले काम गरेर खान छाड्यौँ । मागेर खान बानी प-यो । मागेर खान बानी परेकाहरूले अरू काम गरेर खाँदैनन् । समाजविज्ञहरू यसै भन्छन् ।
छिमेकी मुलुक चीनले माओत्सेतुङले सांस्कृतिक क्रान्ति सफल पारेपछि आर्थिक रूपले अघि बढ्न अधिकतम् प्रयास ग-यो तर सन् १९७६ पछि जब देङसियाओ पेङको आर्थिक नीति लागू गर्न सुरु गरियो त्यो दिनदेखि आजसम्म लगातार चीन आर्थिक विकासको गतिमा अघि बढेको बढ्यै ग-यो । यतिबेला ऊ विश्वमा आर्थिक प्रगतिका हिसाबले एक नम्बरमा देखियो । हाम्रो अर्को छिमेकी मुलुक छ भारत । बेलायती उपनिवेशबाट सन् १९४७ मा मुक्ति पाएको यो मुलुकले स्वतन्त्रता पाएको करिब ७० वर्षमा अकल्पनीय आर्थिक र भौतिक विकास ग-यो । यहाँसम्म कि यो देशले अहिले ‘मंगलग्रह’लाई अध्ययनको विषय बनाएको छ । पचास वर्ष पहिले नेपालको र थाइल्यान्डको आर्थिक अवस्था उस्तै उस्तै थियो । पचास वर्षपछि आउँदा थाइल्यान्ड आर्थिक रूपले सक्षम भयो । सँगसँगै दुईवटा हवाईजहाज खरिद गरेका नेपाल र थाइल्यान्ड आज आइपुग्दा थाइल्यान्डसँग १०० भन्दा बढी जेट विमान छ तर नेपालसँग दुईवटै मात्र जेट विमान छ त्यो पनि बिग्रिएर थन्किएको अवस्थामा । यो जत्तिको बेइज्जत हाम्रो अरू के हुन सक्छ ? मलेसिया र सिंगापुरको सामाजिक र आर्थिक अवस्था पनि आजभन्दा पचास वर्षअघि हाम्रैजस्तो थियो । इन्डोनेसियासमेत हामीभन्दा अगाडि थिएन तर हेर्दाहेर्दै ती देशले उपल्लो तहको आर्थिक प्रगति गरे, हामी जहाँको त्यहीँ रह्यौँ । कारण अरू थिएनन् । थियो त सिर्फ राष्ट्रलाई प्रेम गर्ने भावना हुनु र नहुनु मात्रै थियो । चिनियाँ, भारतीय, थाइल्यान्ड, मलेसिया, सिंगापुर र इन्डोनेसियाका राजनीतिज्ञ र त्यहाँका जनतामा आफ्नो राष्ट्रलाई प्रेम गर्नुपर्छ भन्ने भावना पलायो, हाम्रो देशका नेतामा पलाएन, ठ्याम्मै पलाएन । चीनमा माओत्सेतुङ र देङसियाओ पेङ नभएर पनि अरू नेतामा राष्ट्रप्रेमको भावना भएका कारण आर्थिक प्रगति रोकिएन । भारतमा महात्मा गान्धी, सुवाषचन्द्र बोस र लालबहादुर शास्त्रीहरू नभए पनि भौतिक प्रगति र समृद्धि रोकिएन । सिङ्गापुरमा लि क्वान यु र मलेसियामा मोहम्मद महाथिर राजनीतिमा नभए पनि सामाजिक आर्थिक प्रगति रोकिएन तर नेपालमा गतिलो नेताको मृत्यु भएपछि, राष्ट्रप्रेमी नेता भौतिक रूपले नरहेपछि आर्थिक प्रगति रोकिएन मात्रै होइन राष्ट्रियतासमेत धरापमा परेको महसुस गरियो । विश्वेश्वरप्रसाद कोइराला थिए देश र जनता बुझेका । उनले राष्ट्रको उन्नति र प्रजातन्त्रका लागि भरमग्दुर प्रयत्न गरेका थिए, उनी मुलुकलाई गन्तव्यमा नपु-याउँदै बिते । मदन भण्डारी थिए एकजना दूरदर्शी नेता उनी नेपालभित्रै रहस्यमय ढङ्गले मारिए । गणेशमान र कृष्णप्रसाद भट्टराई थिए देश र जनता बुझेका तर तिनलाई धुन्धुकारीहरूद्वारा षड्यन्त्रमूलक ढङ्गले ओझेलमा पारियो । मनमोहन अधिकारी पनि असलमा गनिन्थे, उनी पनि मरे । पछिल्लो दिनमा सक्षम अनुमान गरिएका प्रचण्ड सोचेजति सक्षम देखिएनन् । यसरी हाम्रो मुलुकमा सक्षम नेताको खडेरी परेको स्पष्ट देखियो । अरू देशमा एक सक्षम नेताको अन्त्यसँगै अरू सक्षम नेताको जन्म भयो हामीकहाँ हुन सकेन । हाम्रा कमसल नेताहरू राष्ट्रप्रेमीको रूपमा भन्दा धनपे्रमी, पदप्रेमी र भौतिक सुविधाप्रेमीको रूपमा देखापरे । प्रमाणको रूपमा यतिबेला भर्खर सम्पन्न भएको संविधानसभा निर्वाचनपश्चात् दलहरूले समानुपातिकका लागि सांसद बिक्रीका लागि गरेको अवस्थालाई लिन सकिन्छ । हाम्रा नेतागणलाई सिर्फ पद र पैसा पाए अरू केही चाहिँदैन भन्ने प्रमाण जनताले पाएका छन् । यो प्रमाण र अवस्थाले मुलुकलाई कहाँ लैजान्छ अनुमान गर्न गाह्रो छ । अर्को पनि छ नेपालीको मन रुने खालको विषय । त्यो विषय हो केही दिन पहिले मात्रै युरोपियन मुलुकहरूले लगाएको हवाईनाकाबन्दी ।
शक्तिहीनहरूलाई शक्तिशालीहरूले जे पनि गर्न सक्छन् भन्ने बलियो उदाहरण पनि हो यो । युरोपियनहरू हामीभन्दा आर्थिक रूपले मात्रै बलिया छैनन् औधी बाठा र चलाख पनि छन् । उनीहरू हामीलाई मर्न दिँदैनन् तर बलियो भएर बाँच्न पनि दिँदैनन् । असुरक्षित हवाई उडान बताएर युरोपियन युनियनले उनीहरूका जहाज नेपालमा नउडाउने, नेपालको कुनै पनि उडान कम्पनीका जहाज युरोपमा उड्न नपाउने मात्रै घोषणा गरेनन् युरोपभरिका पर्यटक जो सुन्दर हाम्रो मुलुक नेपाल घुम्न चाहन्छन् तिनलाई समेत नेपालका कुनै पनि हवाईजहाज नचढ्न उर्दी जारी गरे । नेपालको इतिहासमा यो पहिलो हवाई नाकाबन्दी हो जसले नेपालको पर्यटन क्षेत्रमार्फत गरिरहेको आर्थिक आम्दानीमा तगारो हाल्छ, हालिसकेको छ । सुनिन्थ्यो युरोपियनहरूले नेपाली वायुसेवाको गुणस्तर वृद्धि गर्न भनेको थियो । सुरक्षाप्रणालीमा पनि सुधार गर्न भनेको थियो । नेपालले ठीक समयमा उनीहरूले भने जसरी काम फत्ते गर्न सकेनन् होला यो बेग्लै पक्ष हो, तर एक्कासि बिनासूचना यो तरिकाले नाकाबन्दी लगाइनु अत्याचारको पराकाष्ठाबाहेक अरू केही होइन । केही विद्वान्को भनाइ छ– नेपाल सरकारले चिनियाँ हवाईजहाज खरिद गरेर नेपालमा ती जहाज उडाउन अनुमति पनि दिएको छ जुन जहाज युरोपियनहरूले उडाउन योग्य छैन भनिरहेका छन् । युरोपियनहरूले अयोग्य ठह-याएको विमान नेपालले उडानयोग्य ठहर गर्दा युरोपियनहरू रिसाएको बताइने जुन सवाल छ यदि यसो नै हो भने अब भन्नैपर्छ, ‘युरोपियनहरू अत्याचारी हुन् ।’ कसैको प्लेन किन्ने वा नकिन्ने वा उडानयोग्य छ–छैन निर्णय लिने अधिकार नेपालकै हुन्छ अरूको हुँदैन । नेपाल आर्थिक हिसाबले कमजोर र शक्तिहीन छ भन्नुको अर्थ युरोपियनहरूले हवाई नाकाबन्दी लगाएर आर्थिक रूपले नकारात्मक धक्का दिन पाउँछन् भन्ने होइन । युरोपियनहरूले सीधा नेपाली स्वाभिमानमाथि नाङ्गो हस्तक्षेप गरेको अर्थ लगाउन मिल्ने यो काम गरिसकेका छन् तर आज मुलुक हाँक्ने जिम्मेवारी लिएका राजनीतिक दलका नेताहरू नाकाबन्दी नगर भन्दैनन् । सुशील कोइराला के गर्ने के नगर्नेको अवस्थामा छन् । शेरबहादुर सुशीललाई छिर्के हानेर प्रधानमन्त्रीको कुर्सीमा चढ्ने दाउमा छन् । रामचन्द्र पनि प्रधानमन्त्रीको कुर्सीलाई हेरेर एकोहोरिएका छन् । माधव नेपाल राष्ट्रपतिको कुर्सीतिर हेर्दै छन् । झलनाथ र केपी ओली प्रधानमन्त्रीको कुर्सीमा उक्लिन पाई पो हालिन्छ कि भन्ने आशामा छन् । प्रचण्ड दिउँसै राष्ट्रपति भएको सपना देखेर भर्खरै ब्युँझिएका छन् । उनलाई चुनावमा धाँधली भएकै होला जस्तो लागेको छ । हाम्रा यी खासखास हैसियतवाला नेताहरूलाई मुलुकमा आइलागेको यति ठूलो समस्याबारे चिन्ता गर्ने फुर्सदै छैन । साना दलका अरू भारेभुरे नेताहरू समानुपातिक सिटका लागि खरिद–बिक्री कार्यमा व्यस्त छन् । व्यापारीहरू राजनीतिक अस्थिरताको फाइदा उठाएर एक किलो आलुको मूल्य ६० रुपैयाँ पु-याउँदै छन् । भ्रष्टाचारीहरू भ्रष्टाचारमा डुबिरहेका छन् । हुनेहरू खाइरहेका छन् । नहुनेहरू खाइरहेकाहरूको मुख हेरिरहेका छन् । यहाँ न मानवअधिकारवादीहरू देखिए न राष्ट्रवादीहरू देखिए । न यो पेसाकाहरूलाई देशको माया देखियो न त्यो पेसाकाहरूलाई । अपवादलाई छाडेर यो त्यस्ता मान्छेहरूको देश भयो जसलाई निजी फाइदादेखि बाहेक अरू हेर्ने फुर्सद छैन । छँदै छैन । जसलाई यो देशको माया लाग्यो ती शक्तिहीन भए, जो शाक्तिशाली छन् तिनलाई देशको माया भएन । घुमाएर भन्न जरुरी छैन । सीधा भन्न सकिन्छ अपवादलाई छाडेर ‘कसैलाई छैन यो राष्ट्रको माया’ । आजकालाई छैन, भोलि जन्मिनेहरूले माया गर्लान्–नगर्लान् त्यो भने भविष्यले निर्धारण गर्नेछ ।