लण्डन – दिसम्बर ३० को दिनमा तमुधिं यूके र पे ल्हु संघ यूकेको ल्होछार कार्यक्रम पछि ४ जनवरी २०१४को दिनमा प्लमस्टिड स्थित एसियन कम्युनिटी सेन्टरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं, लण्डन एकाईले नयाँ वर्ष २०१४ र त (घोडा वर्ग) ल्होछारलाई स्वागत गर्दै बडो हर्षोल्लासको साथ मध्यरातसम्म नयाँ वर्ष मनाएको थियो । यो ल्होछार कार्यक्रम समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङको अध्यक्षता सम्पन्न भएको थियो । प्रथम चरणको कार्यक्रमलाई समाजका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । प्रमुख अतिथि ग्रिनविच बारोका मेयर, एन्जेला क्रोफ्ट थिईन भने अन्य अतिथिहरुमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङ, पूर्व अध्यक्ष डम्बर घले, उपाध्यक्ष द्वय रामचन्द्र (सुर्जे) गुरुङ र ज्ञाम गुरुङ, महासचिव नन्दजंग गुरुङ, स्थानीय संघसंस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरु थिए । यस कार्यक्रमलाई दोस्रो चरणमा उद्घोषक योगेश गुरुङ, सुर्य गुरुङ तथा समाजकी चेली भाविका गुरुङले पालै पालो सञ्चालन गरेका थिए । सदा झै अतिथिहरुको स्वागत गरेपछि प्रमुख अतिथि तथा समाजका अध्यक्षले द्वीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेको थियो । समाजको उपाध्यक्ष हिरा प्रसाद गुरुङले स्वागत मन्तव्य प्रकट गरेपछि कार्यक्रमले राम्रो गति लिएको थियो । प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षले आ–आफ्नो मन्तव्य प्रकट गरे पश्चात सदा झै सम्मान कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्ष पाँच जना महिलाहरुले समाजलाई सराहनीय योगदान दिए बापत क्रमशः तारा गुरुङ, ममता गुरुङ, विष्णु गुरुङ, कमला गुरुङ र सारादेवी गुरुङलाई सम्मानित गरेको थियो । सम्मान पश्चात सारादेवी गुरुङले महिलाहरुको तर्फबाट समाजलाई धन्यवाद दिँदै समाजका लागि सबैले ऐक्यबद्धता जनाउनु पर्ने कुरा आफ्नो मन्तव्यमा प्रकट गरेकी थिईन् । त्यसपछि दुई जना समाजका मुर्धन्य व्यक्तित्वहरुलाई पनि यस समारोहमा सम्मान गरेको थियो । ती व्यक्तित्वहरुमा समाजका सल्लाहकार द्वय क्रमशः समाजसेवी तथा समाजका कार्यक्रमहरुमा आफ्नो मिठो उद्घोष शैलीबाट सबैलाई मन्त्रमुग्ध पार्ने योगेश गुरुङ र समाजसेवी तथा साहित्यकार सुमल कुमार गुरुङ रहेका थिए । ती दुबै व्यक्तित्वहरुका जीवनबृत्त संक्षेपमा उद्घोषक् सुर्य गुरुङले वाचन गरेर सम्मान गरेको थियो । सुमल कुमार गुरुङलाई यसवर्ष एउटै पुस्तक(मेजर अर्जुनको आँैठी, कथा सङ्ग्रहका)बाट दुईवटा साहित्यिक पुरस्कारहरु जित्न सफल भएको उपलक्ष्यमा तमुघिं बेलायतले पनि रेडिङमा दिनांक ३० डिसेम्बस १३, तमु ल्होछारको दिनमा सम्मानित गरेको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा उपलब्धि हासिल गरेका युवाहरुलाई पनि सम्मानित गरेको थियो । यसै समारोहमा समाजको हाउजिङ संयोजक श्रीचन्द्र गुरुङले सामुदायिक भवनको खरिद गर्ने तथा हालसम्म सङ्कलित रकमको प्रतिवेदन पेश गरेका थिए साथै आर्थिक सहयोग गर्ने नयाँ चन्ददाताहरुलाई समारोहमा कदरपत्र सहित सम्मान गरेको थियो । स्थानीय कलाकारहरु तथा नेपालबाट आएका गायक तुलसी पराजुली र गायिका ममता गुरुङबाट जोडदार गीतहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । गीत तथा नृत्यमा हलभरिका सहभागीहरु नाच्दै धूम मचाएका थिए । पाहुनाहरु कार्यक्रमको गरिमा र मनोरञ्जन देखेर छक्क परेका थिए । अन्तमा राती साढे बारह बजेतिर कार्यक्रम समापन भएको थियो ।
प्रतिक्रिया