नेकपाभित्र शुरु भयो प्रचण्ड खेल

नेकपाभित्र शुरु भयो प्रचण्ड खेल


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई ‘संसद्मा पुऱ्याउने’ विषय दिन प्रतिदिन पेचिलो बन्दै गएको छ । वामदेवको इच्छा, प्रचण्डको योजना र झलनाथ खनालको समर्थनमा अघि बढाउन खोजिएको प्रस्तावप्रति सचिवालयका अन्य नेताहरू भने सचेत देखिएका छन्, आफू संसद्मा पुग्नुपर्ने प्रस्ताव सचिवालयको बैठकमा वामदेव स्वयम्ले राखेका थिए । तर, उक्त प्रस्तावमा छलफल गरी उचित निर्णयमा पुग्ने तत्परता पार्टीका अधिकांश नेताहरूले लिइरहेका छैनन् ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल यस विषयमा अलि बढी सचेत भएको पाइएको छ । वामदेव गौतमले गत साता सचिवालय बैठकमा आफू संसद्मा आउनेसम्बन्धी विषयलाई छलफलका निम्ति प्रस्ताव गर्दै डोल्पाका प्रतिनिधिसभा सदस्य (हाल राज्यमन्त्री) धनबहादुर बुढा पदबाट राजीनामा दिएर आफ्ना निम्ति ठाउँ खाली गरिदिन तयार भएको जानकारी गराएका थिए । सबैले गौतमको कुरा सुने, तर निर्णयका निम्ति कसैले पनि तत्परता लिएका छैनन् र वामदेवको प्रस्तावका विरुद्ध जाने आँट पनि कुनै नेताले गरेका छैनन् । त्यसैले सचिवालयको बैठक छोटो समयका लागि राख्ने र अन्य जरुरी महत्वका विषयमा छलफल गरी विभिन्न बहानाबाजी गर्दै बैठक हतार–हतारमा टुङ्ग्याउने गरिएको छ ।

तर, यसरी अब धेरै दिन वामदेवलाई अलमल्याउन सक्ने स्थितिमा नेताहरू छैनन् । बरु संसद्मा वामदेव गौतमलाई मात्र किन प्रवेश गराउने, सचिवालय सदस्य रहेका अरू नेतालाई समेत प्रतिनिधिसभा सदस्य बनाइने बाटो खोजिनुपर्छ भन्ने सोच केही नेताहरूले बनाएको बुझिन्छ । ज्ञातव्य छ, सचिवालयका नौ सदस्यमध्ये वामदेव गौतम र नारायणकाजी श्रेष्ठ मात्र सांसद छैनन् । गौतम बर्दियाबाट काङ्ग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए भने गोरखाबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ काङ्ग्रेस समर्थनका उम्मेदवार डा. बाबुराम भट्टराईबाट झिनो मतान्तरले पराजित भएका थिए ।

वामदेवले आफूलाई केपी ओलीले पराजित गरिदिएको ठानेका छन् । ओलीविरुद्ध अहिले बोल्दा झन् काम बिग्रने भएकोले उनी यस विषयमा मौन रहेका छन् । तर, आफ्ना विश्वासप्राप्त व्यक्तिहरूसँग भने वामदेवले आफूलाई केपीले चुनाव हराइदिएको भन्ने गरेका छन् । नारायणकाजी श्रेष्ठलाई स्वयम् प्रचण्डको इसारामा चुनाव हराइदिएको बताइन्छ । श्रेष्ठलाई पराजित गर्न स्वयम् प्रचण्डका स्वकीय सचिवसमेत रहेका चूडामणि खड्कालाई विशेष रूपमा खटाइएको थियो र जिम्मेवारी कुशलतापूर्वक पूरा गरेबापत चूडामणिलाई प्रचण्डले सांसद पदमा मनोनीत पनि गरिदिएका छन् ।

प्रचण्डले अड्चन पैदा गरेनन् भने वामदेवसँगै नारायणकाजी श्रेष्ठका बारेमा पनि निर्णय हुने विश्वास गरिएको छ । तर, एउटा जटिलता के छ भने वामदेव गौतमले आफू कहाँबाट चुनाव लड्ने भन्ने तय गरी सम्बद्ध जिल्लाका निर्वाचित सांसदलाई पद त्याग गर्नसमेत मनाइसकेका छन्, नारायणकाजी श्रेष्ठ आफैँले यस विषयमा कुनै तत्परता लिएका छैनन् ।

सचिवालय बैठकले वामदेवका विषयमा कुनै पनि दिन छलफल गरी निर्णय लिइने सम्भावना छ, तर नारायणकाजी श्रेष्ठको बारेमा समेत छलफल हुने बुझिएको छ । व्यक्तिविशेषको अपरिहार्यता ठान्नुभन्दा पनि सचिवालयका सबै सदस्यहरू प्रतिनिधिसभा सदस्य पदमा रहने सैद्धान्तिक निर्णय गरेर अघि बढ्नु उचित हुने केही नेताहरूको ठम्याइ छ । त्यसैले प्रचण्डले अड्चन पैदा गरेनन् भने वामदेवसँगै नारायणकाजी श्रेष्ठका बारेमा पनि निर्णय हुने विश्वास गरिएको छ । तर, एउटा जटिलता के छ भने वामदेव गौतमले आफू कहाँबाट चुनाव लड्ने भन्ने तय गरी सम्बद्ध जिल्लाका निर्वाचित सांसदलाई पद त्याग गर्नसमेत मनाइसकेका छन्, नारायणकाजी श्रेष्ठ आफैँले यस विषयमा कुनै तत्परता लिएका छैनन् ।

वामदेव गौतमले डोल्पाबाट निर्वाचन लड्न आफू तयार भएको र उक्त जिल्लाका सांसद राजीनामा दिन सहमत भइसकेको भन्ने जानकारी सचिवालय बैठकलाई गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डोल्पाका निर्वाचित सांसद (हाल राज्यमन्त्री) धनबहादुर बुढालाई बोलाएर कुराकानी गरेको बुझिएको छ । ओलीले बुढासँग वामदेवले दबाब या प्रलोभनमा पारेर सांसद पदबाट राजीनामा दिने निर्णयमा पुगेको हो कि स्वेच्छाले भन्ने जिज्ञाशा राखेका थिए । प्रधानमन्त्रीको प्रश्नको जवाफ दिँदै धनबहादुरले ‘वामदेव कामरेडले इच्छा राख्नुभयो, मैले हुन्न भन्न सकिनँ’ भनेका छन् । यसैबीच पार्टीका कतिपय नेता–कार्यकर्ताले धनबहादुरलाई पद नछोड्न दबाब दिइरहेका छन् । डोल्पाका कार्यकर्ताहरूले बुढामाथि पद त्याग नगर्न अलिक बढी नै दबाब दिइरहेको बताइन्छ । तथापि पार्टीले वामदेवलाई चिढ्याउन सक्ने स्थिति नरहेकोले ढिलो या चाँडो वामदेवकै चाहनाबमोजिम निर्णय लिन पार्टी बाध्य हुन सक्ने ठानिएको छ ।

वामदेव गौतम प्रधानमन्त्री बन्ने स्थिति अहिलेसम्म देखिएको छैन, तर उनी अब प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको ठान्दछन् । केपी, माधव, प्रचण्ड, झलनाथ प्रधानमन्त्री बनिसकेकोले अब आफूले बन्न पाउनुपर्ने दाबी वामदेवको छ । संसद्मा पुगेपछि प्रधानमन्त्री बन्न पहल गर्ने सुर गौतमले गरेका छन् । प्रचण्डले वामदेवको यही कमजोरीमा खेलेको र उनलाई संसद्मा पु¥याएर केपी–माधवविरुद्ध अस्त्रका रूपमा प्रयोग गर्न चाहेको बुझिन्छ । प्रचण्डको यस्तो खेल बुझ्नेहरूले वामदेव मात्र किन नारायणकाजी श्रेष्ठ पनि संसद्मा पुग्न आवश्यक छ भन्ने धारणा बनाएका छन् । प्रचण्डबाट हुन सक्ने कुटिल खेलहरूलाई परास्त गर्न पनि वामदेवसँगै नारायणकाजीको समेत संसद्मा प्रवेश हुनुपर्ने उनीहरूको ठम्याइ छ । तर, निर्णय कुन रूपमा हुने हो त्यसको जानकारीका निम्ति अझै केही दिन प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।