भुवनलाई जिल्याउँदा एमालेलाई घाटा

भुवनलाई जिल्याउँदा एमालेलाई घाटा


bhuvankcएमालेका शीर्षस्थ नेताहरूलाई जिताउन चुनाव प्रचारप्रसारका लागि के मात्रै गरेनन् अभिनेता भुवन केसीले । उनको चुनावी परिश्रमको सूची तयार पार्ने हो भने लामै हुन्छ, तर समानुपातिक कोटाबाटै भए पनि सभासद् बन्ने तीव्र चाहना पालेका भुवनका लागि अन्ततः परिणाम हातमा लाग्यो शून्य नै भयो । जीवनमा आधा किलोमिटर पनि पैदल नहिँडेका भुवन वामदेव गौतमका लागि बर्दियादेखि माधव नेपालका लागि रौतहट मात्र होइन कि झलनाथ खनालका लागि इलाम र केपी ओलीका लागि झापासम्म पसिना चुहाउँदै पैदलै चुनाव प्रचारमा खटिएका थिए ।
उपरोक्त जिल्ला तथा क्षेत्रहरूमा सम्बन्धित नेताहरू त ‘घर की मुर्गी दालबराबर’ भनेजत्तिकै थिए । वास्तवमा चुनावी कार्यक्रमको आकर्षण भन्नु नै भुवन केसी बनेका थिए । यी नेताहरूलाई नभएर भुवनलाई हेर्न, छुन र उनका कुरा सुन्न घन्टौँ कुरेर बसे स्थानीय जनता । भुवनले पनि मनदेखि नै उल्लेखित शीर्षस्थ नेताहरू र उनीहरूको पार्टीका निम्ति खुलेर भोट मागे । भुवनले जुन–जुन ठाउँमा पुगेर जुन–जुन नेताहरूका लागि भोट मागे ती सबैले शानसँग जिते । तर, नेपाली चलचित्रपे्रमी दर्शक, शुभचिन्तक र शुभेच्छुकहरूको नजरमा भने यतिबेला भुवन हार्न पुगे । प्रत्यक्षमा टिकट दिएर पछि खोस्दै भुवनलाई एमालेले पहिले नै बेइज्जत गरिसकेको थियो । त्यतिसम्म हुँदा पनि उनले सहेकै थिए । पछि उनलाई समानुपातिकमा राखेपछि भुवनलाई ठूलो आशा थियो कि एउटा कलाकारको एमालेले सही मूल्याङ्कन ग-यो । तर, भुवनको त्यो आशा गत शनिबार तुहियो । समानुपातिकको बन्दसूचीमा उनको नाम कटाएर एमालेले उनीमाथि ठूलो गद्दारी गरेको निष्कर्ष भुवनले निकालेका छन् । तर, पार्टीले यसरी धोका दिँदा पनि एमाले परित्याग नगर्ने घोषणा गरेर केसीले महानता र राजनीतिक चरित्र प्रदर्शन गरेका छन् । उनको यो कदम प्रशंसनीय बन्न पुगेको छ ।
एमालेमा रहेका कुनै पनि नेताभन्दा कमको उचाइ छैन भुवनको । लोकप्रियताको कसीमा ती नेताहरूभन्दा भुवन नै माथि छन् । उनलाई प्रत्यक्षमा टिकट दिने प्रसङ्गले एमालेकै उचाइ बढाएको थियो । त्यतिबेला एउटा सिङ्गो चलचित्र उद्योगमा एमालेप्रति सकारात्मक प्रभाव परेको थियो । तर, अहिले भुवनलाई प्रयोग गरेर उनको गरिमा र उचाइमा नै धक्का पुग्ने काम गरेपछि अहिले एमालेप्रति चलचित्र उद्योगको धारणा नकारात्मक बन्न पुगेको छ । भुवन नाम र दामका लागि नभएर राजनीतिमा प्रवेश गरी एमालेमार्फत चलचित्र क्षेत्रको आवाज संविधानसभामा उठाउन लागिपरेका थिए, तर उनको यो सपना अधुरै रह्यो । ‘मलाई साथीभाइहरूले पनि एमालेमा नछिर, पछि धोका हुन्छ भनेका थिए, सल्लाह त सही रहेछ । तथापि, म अब पार्टी भने छाड्दिनँ,’ भुवनको भनाइ छ ।
संविधानसभाको हलमा भुवनको प्रवेश साँच्ची नै आकर्षणको विषय बन्ने थियो । हस्ताक्षर गर्न नजान्नेहरू आज समानुपातिकमा परेका छन्, तर भुवनको विरोध आयो भनेर बजारमा हल्ला गर्नेहरूलाई भुवन प्रश्न गर्छन्, ‘त्यो पार्टीमा सबै दूधले धोएका छन् ? म पुगेँ भने मिडिया र जनताको नजरमा म पर्ने र अरू छायामा पर्ने भएकाले पनि मेरो जबर्जस्ती विरोध गरिएको हो ।’ भुवन केसी, जसले नेपाली चलचित्रको एउटा इतिहास बोकेको छ, यस्ता कलाकारहरूलाई एमालेले आफ्नो पार्टीमा पाउनु पार्टीकै गौरवको कुरा हो, तर संविधानसभामा नलागेर एमालेले साँच्चै ठूलो गल्ती गरेको छ । त्यो पार्टीमा रहेका थुपै्र नेताभन्दा सान, मान, गरिमा र उचाइ भुवनको माथि छ भन्दा अत्युक्ति हुँदैन । विदेशमा यस्ता सेलिबे्रटीलाई पार्टीले स–सम्मान स्वागत गर्छ । भाषणमा देशको गहना भन्ने तर व्यवहारमा धागोको डोरोजति पनि नठान्ने राजनीतिक पार्टीमा प्रवेश गर्दा कलाकारले धेरैपटक सोच्नुपर्ने भयो । जोगी बन्न कोही पनि पार्टीमा प्रवेश गर्दैन, तर यहाँ आफ्नो क्षेत्रमा वर्चश्व कमाएकालाई राजनीतिक पार्टीले नचिन्दा अन्ततः घाटा उनीहरूलाई नै पर्न जाने देखिन्छ । भुवनलाई माछा–माछा भ्यागुतो बनाएपछि अब एमालेमा प्रवेश गर्न खोज्ने अन्य सेलिबे्रटीहरू भोलि कतै यता न उताको हुने त होइन भनी हच्किएका छन् । एमालेलगायतका दलहरूलाई हेक्का रहोस् ।

‘ठग’ ऋचाले दिइन् अमेरिकाबाटै धम्की
गत अङ्कको घटना र विचार साप्ताहिकमा सर्वसाधारण एवम् आफ्नै साथीभाइको करोडौँ खाएर निर्देशक शंकर र अभिनेत्री ऋचा घिमिरे विदेश पलायन भएको विषयमा समाचार प्रकाशित भएपछि यस विषयले अमेरिकामा रहेका दम्पती शंकर र ऋचाको जीवनमा तरङ्ग पैदा गरेछ । अमेरिकामा गोप्य रूपमा छिरेको यो जोडीको वास्तविकता अमेरिकामा रहेका नेपालीले थाहा पाएपछि दुवैलाई स्थानीय नेपालीले हेर्ने नजर फेरिन थालिएपछि यतिबेला के गर्ने, कसो गर्ने भनी यी दुई तनावमा परेको बुझिएको छ । समाचार पढेपछि शंकरले त केही बोलेनन् तर ऋचाले भने अमेरिकाबाटै फोनमा यो पङ्क्तिकारलाई धम्कीपूर्ण भाषामा थर्काएकी छिन् । उनले फोनमा भनिन्, ‘हाम्रो बेइज्जत किन गरेको ? हामीले के बिगारेका छौँ र ? म त्यता आऊँ अनि जानेकी छु । म तिमीलाई छाड्दिनँ ।’ गत बुधबार प्रकाशित समाचार पढेपछि उनले बिहीबार यस्तो धम्कीपूर्ण भाषा प्रयोग गरेकी थिइन् । पछि उनले थपिन्, ‘म यता अमेरिकामा बसेर पनि त्यहाँ ठीक पार्न सक्छु, याद रहोस् ।’
पङ्क्तिकारले त सत्य उजागर गरेर सेलिब्रेटीको खोलमा ठगी धन्दा गर्ने व्यक्तिहरूसँग सचेत रहन आमनागरिकसमक्ष सूचना सम्प्रेषण गरेको मात्रै हो र पङ्क्तिकारको यो धर्म नै हो । ऋचाजस्ता व्यक्तिको धम्कीले पङ्क्तिकारको कलम रोकिँदैन । यसरी अशिष्ट र धम्कीपूर्ण भाषा बोल्ने ऋचाप्रति खेद प्रकट गर्दै फेरि यसपटक पनि शंकर र ऋचा अमेरिका पलायन हुनुको थप कारणबारे खुलाउन आवश्यक छ । विदेशमा अरूको मुलुकमा गैरनागरिक भएर लुक्दै धम्क्याउनु कतिसम्म स्वाभिमानको कुरा हो ? यो प्रश्न ऋचा घिमिरेलाई ।
कैयनलाई ठगेर आफैँ जो सडकमा पुगिसकेको छ, उसले अरूलाई ठीक पार्छु भन्नु कतिसम्म हास्यास्पद र लाजमर्दो कुरा हो, अनुमान लगाउन सकिन्छ । ऋचाजी तपाईं सही हुनुहुन्छ भने आउनुस् नेपाल अनि यहाँ तपार्इंकै कारण बिल्लीबाठ भएकाहरूको रकम फर्काइदिएर उनीहरूलाई राहत प्रदान गर्नुस् । अनि चलचित्र तुलसी बनाउन चलचित्र वितरकसँग लिएको लाखौँ रुपैयाँको हिसाबकिताब पनि गर्नुस् । सक्नुहुन्छ ? विदेशमा बसेर यसो गर्छु र उसो गर्छु भनेर किन धाक लगाउनु ? बरु शिर ठाडो पारेर नेपाल नै आउनुस् र आफ्नो छवि सफा पार्ने चेष्टा गर्नुस् । तपाईंको धम्कीको बदलामा पङ्क्तिकारको यही छ आग्रह ।

मिर्जा गालिबको सम्झना
उर्दू साहित्य एवम् गजलका महान् हस्ती मिर्जा गालिबको जन्मजयन्ती मनाउँदै दुई दर्जनभन्दा बढी गजल स्रष्टाहरूले सोमबार एक समारोहमा गालिबको सम्झना गरेका छन् । राजधानीको तेजस्वी कला केन्द्रमा आयोजित उक्त कार्यक्रममा मिर्जा असदुल्लाह खाँ गालिब (मिर्जा गालिब)को सम्झना गर्दै उनको जीवनको चर्चा–परिचर्चा गर्दै उनका गजलहरू वाचन गरिए ।
वरिष्ठ चलचित्रकर्मी एवम् उर्दू भाषाका ज्ञाता चेतन कार्कीले गालिबको गजल वाचन गर्दै उनको गजलमा दर्शन र कल्पना अकल्पनीय रूपमा रहेको बताए । सर्जक कार्कीले आफ्ना अभिव्यक्ति उर्दू भाषामा नै व्यक्त गरेका थिए ।
अर्का गजल स्रष्टा डा. सनतकुमार वस्तीले गालिबको लेखन र उनको जीवनदर्शनको चर्चा गर्दै गालिबले आफ्ना गजलमा जीवनका अनन्तः पीडालाई कलात्मक, दार्शनिक एवम् कल्पनातीत रूपमा प्रस्तुत गरेको बताए । गालिबको कुल १० वटा पुस्तक प्रकाशित भएको बताउँदै डा. वस्तीले गालिबद्वारा लेखिएका थुप्रै गजल वाचन गरे । डा. वस्ती गालिबलाई सम्झिँदै सुनाउँदै थिए, ‘हजाराँे ख्वाहिसें एसी कि हर ख्वाहिस पे दम निकले, बहुत निकले मेरो अरमाँ लेकिन फिर भी कम निकले’ ।
कवि एवम् चलचित्रकर्मी प्रकाश सायमीले गालिबको जन्म सन् १७९९ डिसेम्बर २७ मा आगरामा भएको उल्लेख गर्दै गालिबका जीवनका केही प्रसङ्गहरूबारे चर्चा गरे । उनले पनि गालिबका गजल वाचन गरेका थिए । कार्यक्रममा उपस्थित गजल मर्मज्ञहरू घनेन्द्र ओझा, शेखर खरेल, डा. भीमार्जुन आचार्य, मनमोहन थपलिया, शैलेश सिंह, डा. सुबोधलगायतले गजल वाचनका साथै गजल गाएर सुनाएका थिए ।

प्राध्यापक केसीका कविता सार्वजनिक
पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. जगतबहादुर केसीद्वारा लेखिएको काव्यकृति प्रा. जगतबहादुर केसीका कविता हालै सार्वजनिक गरिएको छ । सिंहवाहिनी एल्मुनाई एसोसिएसनको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती, वामपन्थी गायक रामेश श्रेष्ठ, डा. माधवप्रसाद पोखरेल तथा भक्तिप्रसाद सुवेदीले उक्त काव्यकृतिको संयुक्त रूपमा विमोचन गरेका थिए । कवितासङ्ग्रहका स्रष्टा प्रा. केसीले आफूले १८ सालदेखि कविता लेख्न थालेको बताए भने उनले केही कविता वाचन पनि गरे ।
कार्यक्रममा गायक रामेशले आफूले केही समय तेह्रथुमको म्याङलुङमा अवस्थित सिंहवाहिनी स्कुलमा पढेको सम्झना गर्दै तेह्रथुमबारेमा गाएको गीत पनि सुनाएका थिए । स्रष्टा जगतबहादुर केसीलाई स्कुलमा पढाउने शिक्षक भक्तिप्रसाद सुवेदी, सहकर्मी डा. माधवप्रसाद पोखरेलले काव्यकृतिका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए । कवि विश्वविमोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरूसँगै तेह्रथुम जिल्लासँग सम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

म्वाइँ–संवाद

म्वाइँको सट्टा धेरै हिरोइनको चट्कन खाइयो
सिनेमाको पर्दामा सुनिल थापा जसरी डरलाग्दो रूपमा देखापर्छन् त्योभन्दा पनि मिजासिलो, शालीन, भद्र अनि व्यावहारिक छन् । अहिलेसम्म दुई सयभन्दा बढी चलचित्रमा दह्रो उपस्थिति जनाइसकेको थापाको कलायात्रा भने भारतीय चलचित्रबाट सुरु भएको हो । चलचित्र चिनोको सफलतासँगै ‘राते काइँला’को उपनामले चिनिएका सुनिल थापासँग यसपटक म्वाइँ–संवाद गरिएको छ ।
० म्वाइँ भनेको थाहा छ ?
– छ नि । चुम्बन अनि किस पनि भनिन्छ होइन र ?
० पहिलोपटक कसको म्वाइँ खानुभएको थियो ?
– बच्चामा कसको कति खाइयो थाहा भएन, तर बुबा–आमाको खाएकोचाहिँ याद छ ।
० स्कुल वा कलेज पढ्दा खाइएन ?
– स्कुल पढ्दा त खाइएन तर कलेज पढ्दा भने खाइयो ।
० कस्तो हुँदो रहेछ म्वाइँको स्वाद ?
– स्वाद थाहा पाउनेगरी खानै पाइएन । साथीहरूसँग बाजी ठोकेर कलेजकी एउटी केटीको म्वाइँ खाइएको थियो । डराई–डराई खाइएको म्वाइँको स्वादै थाहा भएन ।
० स्वाद थाहा पाउनेगरी कसको म्वाइँ खानुभयो ?
– श्रीमतीकै हो ।
० कस्तो हुँदोरहेछ त ?
– मायालु ।
० अहिलेसम्म सबैभन्दा बढी म्वाइँ कसको खानुभयो ?
– श्रीमतीकै हो ।
० धेरै फिल्म खेल्नुभयो, हिरोइनहरूको पनि म्वाइँ खानुभयो होला नि ?
– म्वाइँ भनेको माया गरेर खाने हो । यसमा म्वाइँ खाने र म्वाइँ खान दिने दुवैको स्वीकृति हुनुपर्छ । तर, म त सिनेमाको खलनायक । मलाई कुनै पनि हिरोइनले म्वाइँ खान स्वीकृति दिएका छैनन् । खलनायक भएका कारण कथाअनुसार जबर्जस्ती म्वाइँ खाएको छु । खलनायकको अभिनय गर्दा जबर्जस्त धेरै हिराइनको म्वाइँ खाएको छु ।
० भनेपछि पर्दाबाहिर कुनै हिरोइनको म्वाइँ खानुभएको छैन ?
– हिरोइनको साँच्चिकै म्वाइँ खाने अवसर पाएको छैन ।
funtime० बाटोमा हिँड्दा तपार्इंलाई कुनै केटीले च्याप्प समातेर म्वाइँ खाएका छन् ?
– त्यो अवसर अहिलेसम्म पाएको छैन । पाइँदैन पनि होला । बाटोमा हिँड्दा देख्नेहरू सबै डराउँछन् म्वाइँको त कुरै छाडौँ ।
० फिल्ममा धेरै नायिकाको म्वाइँ खानुभयो । मीठो कसको लाग्यो त ?
– त्यस्तो स्वाद नै पाउने गरी म्वाइँ खान पाइएन । फिल्मको कथाअनुरूप हिरोइनमाथि धेरैपटक आक्रमण गरियो तर म्वाइँको अनुभव भएन । बरु म्वाइँको सट्टा धेरै हिरोइनको चड्कनचाहिँ खाइयो सिनेमामा ।