नेपाल विद्युत प्राधिकरण–सुपर घलेम्दीबीच पीपीए सम्झौता

नेपाल विद्युत प्राधिकरण–सुपर घलेम्दीबीच पीपीए सम्झौता


सुपर घलेम्दी जलविद्युत आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत प्राधिकरणबीच पीपीए सम्झौता भएको हो । हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट चार रुपैयाँ आठ पैसाका दरले विद्युत खरिद सम्झौता भएको सो आयोजनाका संस्थापक मनप्रसाद कँडेलले जानकारी दिए ।

पीपीए सम्झौतापछि पूर्वाधार निर्माणको अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आगामी मंसिरदेखि पूर्वाधार निर्माण थाल्नेछ । सो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा रहेको छ । बाँधभन्दा २०० मिटरमाथि विद्युतगृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किलोमिटरको हुनेछ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनाले २०८० साल चैतदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउँछन् । दश प्रतिशत साधारण सेयर, दश प्रतिशत प्रभावित सेयर तथा दश प्रतिशत संस्थापक सेयर रहने उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाबाट उत्पादित विद्युत चार किलोमिटर टाढा दाना सब स्टेसनमा पु¥याएर कालीगण्डकी कोरिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट आयोजना निर्माण भइरहेको छ । एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जको निर्माणस्थलसमेत नारच्याङ नै हो ।