अन्डामा बिचौलियाको यस्तो मनपरी

अन्डामा बिचौलियाको यस्तो मनपरी


किसानले उत्पादन गरेको अन्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन लिने गरेको पाइएको छ ।

बिचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन किसानलाई मुस्किल परेको छ भने महँगो मूल्य तिर्न उपभोक्ता बाध्य छन् । किसानको फार्मबाट स्थानीय डिलरले अन्डा खरिद गर्छन् । त्यही अन्डा विभिन्न बजारका मुख्य डिलरलाई बिक्री गरिन्छ । मुख्य डिलरले सबडिलरलाई तथा सबडिलरले साइकल वा भ्यानमा बिक्री गर्नेलाई दिन्छ । साइकल र भ्यानमार्फत पसल–पसलमा बिक्री गरिन्छ भने पसलबाट उपभोक्ताले अन्डा खरिद गर्दै आएका छन् ।

नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फार्मबाट ठूलो अन्डा प्रतिक्रेट रु. २६० तथा मध्यम आकारको अन्डा प्रतिक्रेट रु. २०० मा बिक्री गरिन्छ । बजारमा प्रतिगोटा अन्डा रु. १५ सम्ममा बिक्री हुन्छ । संघले प्रतिगोटाको रु. १२ खुद्रा मूल्य तोकेको भए पनि सामान्यतया बजारमा रु. १५ भन्दा बढी मूल्यमा बिक्री गरिँदै आएको छ ।

किसानबाट मध्यम आकारको अन्डा ६ रुपैयाँ ६६ पैसामा खरिद गरी उपभोक्तासम्म पुग्दा रु. १५ सम्ममा बिक्री गरिन्छ । ठूलो अन्डा ८ रुपैयाँ ६६ पैसामा खरिद गरेर रु. १५ भन्दा बढीमा बिक्री गर्ने गरेको पाइएको छ । किसानको फार्मबाट अन्डा प्रतिक्रेट रु. पाँच नाफा खाएर बिक्री गरिन्छ । पूर्वी चितवनको अन्नपूर्ण कुखुरा फार्मका सञ्चालक अर्जुन अर्याल बिचौलियाका कारण किसान मारमा परेको बताउँछन् । उनले रु. १६ करोडको लागतमा फार्म स्थापना गरी ८२ हजार लेयर्स कुखुरापालन गरेका छन् । ‘जोखिम सबै किसानले व्यहोर्नुपर्छ, नाफा बिचौलियाले मात्रै खाने गरेका छन्,’ उनले बताए ।

नेपाल अन्डा उत्पादक संघका केन्द्रीय सचिव मदन पोखरेल लागत मूल्यभन्दा कममा अन्डा बिक्री गर्नुपर्दा किसान मारमा परेको बताउँछन् । एउटा अन्डा उत्पादन गर्न रु. १० खर्च हुने गरेको तर बिक्री मूल्य त्योभन्दा कम रहेको उनको भनाइ छ । वर्षेनी किसान थला पर्दै गएका छन् ।

नेपालमा दैनिक ३५ लाख अन्डा उत्पादन हुन्छ । यो पेसाबाट झन्डै एक लाख ७५ हजारले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा कुखुरापालनको क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको कँडेल बताउँछन् । कुखुरापालनमा रु. ७० अर्बभन्दा बढी लगानी रहेको बताइन्छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी रहेको छ । सबैभन्दा बढी कुखुरापालन चितवनमा गरिँदै आएको छ । पछिल्लो मुलुकका अन्य जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउँदै गएको छ ।