विषयगत समितिका सभापतिको निर्विरोध चयन संविधान कार्यान्वयनमा सुखद् शुरुवात

विषयगत समितिका सभापतिको निर्विरोध चयन संविधान कार्यान्वयनमा सुखद् शुरुवात


संघीय लोकतान्त्रिक संविधान जारी गर्न प्रमुख दलबीच बनेको सहमति, सहकार्य र एकता कार्यान्वयन गर्न पनि एकताको सुखद शुरुवात भएकोमा संघीय संसद्को माथिल्लो सदनका सांसदले खुसी व्यक्त गरेका छन् ।

उनीहरूले राष्ट्रिय सभामातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयनले संविधान कार्यान्वयन गर्न दलहरूबीच एकता बलियो बनेको टिप्पणी गर्दै यो सहकार्यलाई आगामी दिनमा अझ बलियो बनाएर अघि बढ्न सुझावसमेत दिए ।

राष्ट्रिय सभाअन्तर्गतका विषयगत सभापतिहरूको बुधबार निर्विरोध चयन भएको थियो । जनअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी निर्विरोध निर्वाचित भएका हुन् । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने बताइएको छ ।

विधान व्यवस्थापन समितिको आज बसेको पहिलो बैठकमा समितिका सदस्य सांसदले कानुन बनाउँदा दलीय स्वार्थभन्दा माथि उठेर संविधानको भावनालाई प्रतिविम्बित गर्ने प्रणसमेत गरे ।

सांसद अनिता देवकोटाले संघीय लोकतान्त्रिक संविधान जारी गर्न दलहरूका बीच जुन सहमति, सहकार्य र एकता भएको थियो, आगामी दिनमा संविधान कार्यान्वयन गर्न पनि दलहरूका बीच सहकार्य आवश्यक रहेको बताइन् । सांसद जीतेन्द्रनारायण देवले संघीय संविधानलाई सर्वाेपरि राखी कानुन निर्माणमा दलगत स्वार्थभन्दा माथि उठी जनताको पीरमर्कालाई प्रतिविम्बित गर्नसक्नुपर्ने बताए ।

सांसद शेरबहादुर कुँवरले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने मौलिक अधिकारसित सम्बन्धित विधेयकमाथि छलफल शुरु गर्न सुझाव दिए । सांसद नन्दा चपाई र ठगेन्द्रप्रकाश पुरीले सर्वसम्मति रूपमा सभापति चयन भई सहमतिको अभ्यास पुनः शुरु भएकोमा खुसी व्यक्त गरे । समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिका काम सहमति र एकताबाट आगामी दिनमा अगाडि बढ्ने बताए ।