हस्तकला उद्योगको वार्षिक कारोबार करिब १० अर्ब

हस्तकला उद्योगको वार्षिक कारोबार करिब १० अर्ब


एसिया प्रशान्त क्षेत्रको हस्तकलाको विकास र विस्तारका लागि एसियाका हस्तकला व्यवसायी काठमाडौंमा भेला भएका छन् ।

राजधानीमा बिहीबारदेखि शुरु भएको विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको ३७औँ साधारणसभा र अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा विभिन्न १६ मुलुकका कालीगढ तथा कलाकारले आ–आफ्ना मुलुकका कला, संस्कृतिसँग हस्तकला र वास्तुकलाका सामग्रीसहित उनीहरू भेला भएका हुन् ।

नेपाल हस्तकला महासंघको संयोजनमा आयोजित सम्मेलन यही भदौ १७ गतेसम्म चल्नेछ । सम्मेलनसँगै गरिएको प्रदर्शनीमा करिब एक सय प्रतिनिधि सहभागी छन् । सन् १९६४ मा स्थापना भएको विश्वकला परिषद्ले नेपालमा पहिलोपटक सम्मेलन गरेको हो । जनावरका हाड, पक्षीका प्वाख, भेँडाका ऊनबाट बनाइएको विभिन्न कपडा, काठबाट बनाइएका मूर्ति, माटोबाट सजाइएका सेरामिक्सका सामान आदिले प्रदर्शनी स्थलमा रौनक थपिएको छ ।

एसिया प्रशान्तभित्रका कला र शिल्पको संरक्षण र प्रवद्र्धन गर्दै कलाकारको जीवनस्तर उकास्न आयोजित सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, काजकस्तान, ओमन, प्यालेस्टाइन, इरान, मलेसिया, श्रीलंका, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलिया, कुवेत र मौरिससका कलाकार तथा हस्तकला पारखी सहभागी छन् ।

सहभागी मुलुकका प्रतिनिधिले एक–आपसमा उक्त परिषद्का सदस्य देशबीच सुमधुर सम्बन्ध कायम गरी आपसी सद्भाव बढाउन कला र शैली निर्माणसम्बन्धी अनुभव एक–आपसमा आदानप्रदान गरेका छन् ।

प्राचीन कला शैलीलाई संरक्षण गरी हस्तकला क्षेत्रमा प्रयोग गर्ने, कला र शिल्पमा क्रियाशील हस्तकर्मीलाई प्रशिक्षण कार्यशाला, गोष्ठीको व्यवस्था गर्नेजस्ता विषयमा छलफल केन्द्रित भएको छ । पछिल्लो समय विकास भएका विज्ञान र प्रविधि तथा सूचना क्षेत्रको प्रयोग गर्दे गुणस्तरीय उत्पादन, बजारीकरणजस्ता विषयमा सम्मेलनको अवधिभर छलफल हुनेछन् ।

नेपालमा काठमाडौं, ललितपुर, भक्तपुर, बाग्लुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभालगायतका जिल्लामा धेरै हस्तकला उत्पादन हुने गरेको छ ।

उक्त सम्मेलनको शुभारम्भ गर्दै प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले वार्षिक करिब १० अर्बको कारोबार हुने हस्तकला उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको बताए । ‘प्रदेश सरकारले नेपाली परम्परागत हस्तकलालाई प्रदेशका १३ वटै जिल्लामा फैलाउने लक्ष्य राखेको छ,’ उनले भने ।

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल हस्तकला क्षेत्रको विकासले देशमा रोजगारीका अवसर वृद्धि गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने बताउँछन् । यसको प्रवद्र्धन गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको उनले बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य आफ्नो महानगरलाई सांस्कृतिक नगरका रूपमा विकास गर्ने अभियान शुरु गरेको बताए । नेपालबाट निर्यात हुने हस्तकलामध्ये प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ललितपुर ललितकला र हस्तकलाको प्राचीन नगरीका रूपमा परिचित रहेको भन्दै गुणस्तरीय उत्पादनका लागि कालिगढलाई तालिमको व्यवस्था महानगरले मिलाउने बताए ।

परिषद्का एसिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. घाडा हिज्जावी एसिया क्षेत्रको गरिबी न्यूनीकरण गर्ने र सामाजिक रूपान्तरणमा हस्तकला उद्योगको महत्व रहेको बताए । सम्मेलनमा नेपाली कला र संस्कृतिबारे अन्तर्राष्ट्रिय क्षेत्रका कलाकारलाई परिचित गराउने कार्यक्रम रहेको नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले सो अवसरमा जानकारी दिए ।