पीडितलाई न्याय पुग्ने गरी काम गर्न मन्त्री ढकालको आग्रह

पीडितलाई न्याय पुग्ने गरी काम गर्न मन्त्री ढकालको आग्रह


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडितलाई न्याय हुने तरिकाले काम गर्न द्वन्द्वकालीन दुई आयोगलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा उनले दुवै आयोगलाई द्वन्द्वपीडितलाई आशावादी हुने तरिकाले काम गर्न आग्रह गरेका हुन् ।

मन्त्री ढकालले भने, ‘बेपत्ता परिवारका पीडालाई कम गर्ने तरिकाले आयोगले काम गर्नुपर्छ, आयोगले पीडितलाई न्याय दिन्छ भन्ने आशावादी पनि बनाउनुपर्छ, कानुनी रूपमा केही समस्या भए, त्यो समाधान सरकारले छिट्टै गर्छ ।’

पीडामा परेका पीडितलाई न्याय दिन सरकारले आयोगको गठन गरेको, तर आयोगका पदाधिकारीलाई सरकारकै आलोचना गरेर समय बिताउनेजस्ता कार्य नगर्ने आग्रह गर्दै मन्त्री ढकालले एक वर्षभित्र पीडितका पक्षमा उदाहरणीय काम गरेर देखाउन आग्रह गरे ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले स्रोत र साधनको कठिनाइबीच गरेको कामबारे सही मूल्यांकन नहुँदा पीडा हुने उल्लेख गर्दै आयोगले पीडितकै न्यायका लागि काम गरिरहेको स्पष्ट पारे ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले पीडित र अन्तर्राष्ट्रिय निकायको विश्वास जित्ने तरिकाले काम गर्न र आयोगले के कारणले सोचेअनुरूप काम गर्न नसकेको हो भन्नेबारे प्रस्ट रूपमा पीडितलाई जानकारी गराउनुपर्ने बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा. माधवी भट्टले आयोगमा पदाधिकारी परिवर्तन गर्दैमा समस्याको समाधान नहुने र त्यसका लागि आवश्यक स्रोत र साधन सरकारले जुटाइदिनुपर्नेमा जोड दिए ।

बेपत्ता परिवारका अध्यक्ष रामकुमार भण्डारी र द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले पीडितले उजुरी हालेपछि आयोग नै बेपत्ता भएको र राज्यको सम्पत्ति खर्च गरेर काम नगर्ने आयोगलाई निरन्तरता दिन आवश्यक नभएको धारणा राखे ।

कार्यक्रममा उपस्थित बेपत्ता परिवारले अझै पनि आफन्त आउने आशा रहेको र आयोगलाई कि सास कि लास देखाइदिन आग्रह गरेको थिए । आयोगमा तीन हजार १९७ उजुरी परेका छन् । तत्कालीन समयमा ८५ प्रतिशत राज्य र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएको आयोगको तथ्यांकमा छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन गरेपछि चौथोपटक यो दिवस मनाइएको हो । विश्वभर नै ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ ।