केसीले राखे ९० घन्टा वक्तव्य दिएर विश्वकीर्तिमान

केसीले राखे ९० घन्टा वक्तव्य दिएर विश्वकीर्तिमान


नुवाकोटस्थित शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घन्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्वकीर्तिमान कायम गरेका छन् ।

भदौ ११ गते बिहान ६ बजेदेखि बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर उनले सो कीर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानकोे ८१ घन्टा १६ मिनेट बोलेर कायम गरेकोे विश्वकीर्तिमानलाई समेत तोडेका छन् ।

न्यु माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कुलमा केसीले सो वक्तव्य दिएका हुन् । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएको न्यु माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।

निरन्तर ९० घन्टा दुई मिनेट बोलेर विश्वकीर्तिमान राखेका उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्निल डांगारीकार, प्रदेश सांसद जीवन डंगोलले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका हुन् ।

नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार पाँच सय किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक पनि हुन् केसीले २१ दिन जल उपवास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन् । केसीले यसअघि ८० घन्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् ।