विद्रोहीको बोली– अतहर कमाल
म स्वतन्त्र सभासद् हुँ । कपिलवस्तुको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारको हैसियतमा विजयी भएँ । तर, मेरो पृष्ठभूमिको दल नेपाली काङ्ग्रेस हो । मैले पटक–पटक अन्यायमा परेँ भनिरहनुपर्दैन । जनता (मतदाता)ले मलाई न्याय गरिदिएका छन् ।
फेरि पनि मैले आस्था राख्ने पार्टी नेपाली काङ्ग्रेस नै भएकाले समानुपातिक सूचीबाट उम्मेदवार छनोट गरिएको भागबन्डाबारे टिप्पणी गर्न मन लाग्यो । जसरी प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्दा मेरो नाम अन्तिम समयमा भागबन्डाको खेलले हटाइयो, त्यसरी नै अहिले समानुपातिक सूचीबाट ६०–४० को भागबन्डा गरेर उम्मेदवार छनोट गरियो । काङ्ग्रेसमा कुनै पक्षको होइन, म काङ्ग्रेस मात्र हुँ भनेर बस्ने दिन अब कहिले आउला ?
किनकि कुनै पक्षको फेरमा नलाग्दा पार्टीको मूल्याङ्कनबाट जसरी म ‘स्याक’मा परँे, त्यसरी नै समानुपातिक सूचीमा रहेका काङ्ग्रेसजन फेरि ‘स्याक’मा परेको अनुभूति मैले गरेको छु । काङ्ग्रेसमा कहिलेसम्म यो व्यक्तिवादी खेल रहिरहने ? पार्टी र पद्धतिमा विश्वास गर्ने कार्यकर्ता कहिलेसम्म ठूला नेताहरूको दास भइरहने ? यो पीडा अरू कसैको होइन, स्वयम् मैले भोगेको हो । मैले पार्टीको आस्थालाई आफूभित्र जीवित राख्दै स्वतन्त्र उम्मेदवारी दिएको हुँ । पार्टीको गलत निर्णयका विरुद्ध साहस गरेर आज यो हैसियतमा आइपुग्न सफल भएको हुँ ।
सम्पन्न निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघिको मेरो पृष्ठभूमि मुलुकको जेठो पार्टी नेपाली काङ्ग्रेससँगको आबद्धता हो । म नेपाली काङग्रेसमा लागेर आज यो स्थानसम्म आइपुग्न सफल भएको हुँ । अझै पनि मेरो आस्था काङ्ग्रेसमा नै छ । पार्टीले अन्तिम समयमा उम्मेदवारी नदिएपछि मैले मेरा कार्यकर्ता र शुभचिन्तकको सुझावमा उम्मेदवारी दिएको हुँ । म कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवार बने पनि मैले आफूले मतदान गर्दा देखाएर नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नै दिएको हुँ । समानुपातिकमा पनि काङ्ग्रेसलाई नै ।
यतिबेला म स्वतन्त्र उम्मेदवार बनेर विजयी सभासद् भएको छु । मेरो लगनशीलता र सामाजिक सेवामा मैले गरेको कामको मूल्याङ्कन गर्दै मतदाताले मलाई स्वतन्त्र रूपमा उठ््दा पनि मत दिएका हुन् । मलाई जिताउने कपिलवस्तु क्षेत्र नं. २ का मतदाता पनि काङ्ग्रेसका नै हुन् । उनीहरूले समानुपातिकतर्फको मत काङ्ग्रेस (रूख) लाई नै दिएका छन् । तर, प्रत्यक्षतर्फको मत मेरो चुनावचिह्न तालाचाबीलाई । त्यसका लागि मैले मेरा मतदातालाई धन्यवाद दिनुपर्छ ।
०४६ परिवर्तन हुँदा म भारतमा विद्यार्थी थिएँ । ०४८ सालमा स्नातक तहसम्मको अध्ययन पूरा गरेर घर फर्किएपछि म राजनीतिमा सहभागी भएको हुँ । म पहिलोपटक सङ्गठित भएको पार्टी नै काङ्ग्रेस हो । त्यसपछि जिल्लामा रहेर समाजसेवा, शिक्षण पेसासँगै राजनीतिलाई निरन्तरता दिएँ । शिक्षण पेसालाई तिलाञ्जली दिएर ०५० सालबाट पूर्ण रूपमा जिल्लाको राजनीतिमा समर्पित भएँ । जिल्ला सदस्य, सहसचिव हुँदै महासमिति सदस्य बनँे । काङ्ग्रेस भएर नै आज यो हैसियतमा आइपुगेको हुँ । साथै मेरा यी शब्दलाई उन्मादका रूपमा नबुझिदिन आग्रह गर्छु ।
मैले बीपीका पुस्तक अध्ययन गर्दा उहाँको आदर्शको छाप परेको छ । अरूलाई निर्देश होइन, आफैँ जुध्न सक्नुपर्छ भन्ने उहाँको प्रेरणाबाट म अभिपे्ररित छु । त्यसैले म काङ्ग्रेसमा लागेको हुँ । तर, आज काङ्ग्रेसमा उहाँको आदर्शको अभाव देखिएको छ । फेरि एकपटक उहाँलाई स्मरण गर्न चाहन्छु ।
‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान यतिबेला नेपालका पार्टीहरूमा चरितार्थ भइरहेको देखिरहेको छु । पार्टीका निष्ठावान पङ्क्ति दलहरूभित्रका गुट र उपगुटमा नलागे अवसरबाट वञ्चित हुनपर्ने अवस्थाले विकराल रूप लिइरहेको छ । त्यसैको परिणाम हो नेपालमा पार्टीको सङ्ख्या बढ्नु । संविधानसभाको पहिलो निर्वाचनमा २४ पार्टीले प्रतिनिधित्व गरेका भए पनि यसपटक त्यो सङ्ख्या वृद्धि भएर ३० पुगेको छ । निर्वाचनमा भाग लिने पार्टीको सङ्ख्या हेर्ने हो भने ४ गुणा बढी छ । यो तथ्याङ्क र प्रवृत्ति नेपालको राजनीति र भविष्यका लागि सुखद परिणाम होइन । किनकि अहिले मलाई स्वतन्त्र सभासद् भएपछि अस्तित्वमा नरहेको पार्टीले नै आफ्नो दलमा प्रवेश गर्न आग्रह गर्दै आर्थिक प्रलोभन देखाइरहेका छन् । तर, मलाई त्यसो गर्न मन छैन । आफ्ना मतदाताको अभिमतलाई बिर्सने पक्षमा म छैन । किनकि, मलाई मतदान गर्ने मतदाता काङ्ग्रेसकै हुन् । उनीहरूले पार्टी निर्णयलाई ममार्फत दिएको सन्देशलाई बेवास्ता गर्दै कुनै दलगत स्वार्थमा फस्नु छैन ।
मेरो भनाइ अनर्थ नलगाई बुझ्ने हो भने मेरो आस्था अझै काङ्ग्रेसप्रति नै हो । तर, गुट–उपगुटको पक्षमा होइन । ६०–४० को भागबन्डा कायम राखिरहने हो भने के अब शेरबहादुर देउवा पार्टी सभापति बन्ने हैसियत नराख्ने ? रामचन्द्रले त्यो हैसियत नराख्ने ? वा अरू कुनै अन्य नेताले ? पार्टीका निष्ठावान कार्यकर्ता र काङ्ग्रेसका मतदाताले कुन काङ्ग्रेस हुँ भन्ने ? प्रजातान्त्रिक भनिने पार्टीमा यस्तो खेल कहिलेसम्म रहिरहने ? यसको परिणाम समाज, निष्ठावान काङ्ग्रेसजनले कहिलेसम्म भोग्ने ? पार्टीमा प्रतिबद्ध र कार्यक्षेत्रमा दिनरात खटिरहने कार्यकर्ताको संस्थागत मूल्याङ्कन नगरेर नेतृत्वले गोजीको दक्षिणा बनाएर पार्टीलाई कहिलेसम्म राख्ने ?
वडा तहसम्म संरचना भएको पार्टीको आज यो विजोग देख्दा लाखौँ काङ्ग्रेसजनलाई पीडा छ ।
त्यही पीडाको एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । गत १४ गते आइतबार राजधानीका एक अग्रज काङ्ग्रेसजन (रघुशमशेर राणा, स्व. डायमनशमसेर राणाका पुत्र)ले मलाई फोन गरेर काङ्ग्रेसमा अब ६०–४० मा नपर्नेहरूले काग्रेस हुँ भन्न पनि व्यर्थ हुने भो भन्ने आशय व्यक्त गर्नुभयो । उहाँको पारिवारिक पृष्ठभूमि मैले परिचित गराइरहनुपर्दैन । उहाँ आफू काङ्ग्रेस हुँ भन्न गर्व गर्ने परिवारको मान्छे । पार्टी प्रवृत्तिका तीता अनुभवबारे त्यस दिन मात्र उहाँले मसँग फोनमा लामो संवाद गर्नुभयो । उहाँ सभासद्को सूचीमा पनि हुनुहुन्न । त्यसपछि म भावुक भएर सोच्न बाध्य भएँ । त्यत्रो निष्ठावान परिवारको व्यक्ति त पार्टीको पद्धतिप्रति निराश हुनुहँुदो रै’छ भने अरूको त झन् अवस्था के होला ? तर, मैले यसो भनिरहँदा पार्टी नेतृत्वले सबै निर्णय गल्ती मात्र गरिरहेको छ भन्न खोजिरहेको छैन र होइन पनि ।
काङ्ग्रेसमा अवसरका लागि राजधानी बसेर नेता वा आफन्तका घर धाउने कार्यकर्ताको पङ्क्ति ठूलो छ । फेरि पनि त्यही पङ्क्तिको गुमराहमा परेर नेतृत्व पङ्क्तिले मतदातासँग प्रत्यक्ष सम्बन्ध राख्ने इमानदार र निष्ठावान कार्यकर्तालाई किनारा त लगाएनन् भन्ने मेरो चिन्ता हो । म त यतिबेला काङ्ग्रेसका लागि एउटा शुभचिन्तक मात्र हुँ । किनकि मैले पार्टी निर्णयविरुद्ध गरेको विद्रोहले कारबाहीमा परेर निष्कासित छु । म यतिबेला पूर्वकाङ्ग्रेस कार्यकर्ता हुँ । तर, यति भनिरहँदा मैले सम्पन्न निर्वाचनमा आफ्ना दुवै मत काङ्ग्रेसलाई हालेको हुँ भन्न मलाई गर्व छ ।
(लेखक कपिलवस्तु क्षेत्र नं. २ बाट विजयी स्वतन्त्र सभासद् हुनुहुन्छ ।)
प्रतिक्रिया