औपचारितामा सीमित मेलमिलाप दिवस

औपचारितामा सीमित मेलमिलाप दिवस


bichar– इन्द्रबहादुर बराल
आफू र आफ्ना सहयात्रीसहित राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वर्गीय जननेता विश्वेश्वरप्रसाद कोइराला स्वदेश फर्केको यही पुस १६ गते ३७ वर्ष पूरा भएको छ । मुलुकले दूरदृष्टि भएका युगीन नेता हम्मेसी पाउन सक्दैन । बीपी त्यस्तै बिरलकोटीका युगीन नेता थिए । तर, तत्कालीन राजा र पञ्चायती निरङ्कुशताले महान् नेता बीपी कोइरालालाई देखिसहेनन् । राष्ट्रिय एकता र मेलामिलापको सुन्दर नीतिलाई समेत ‘अन्तर्राष्ट्रिय तत्व’को आँखाले हेरे । भारतको प्रवासबाट काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला मात्र टेकेका प्रजातान्त्रिक समाजवादका प्रणेता बीपी कोइरालालाई अराष्ट्रिय एवम् असामाजिक तत्वको आरोप मात्र लगाएनन्, विमानस्थलबाट सीधै गिरफ्तार गरी नजरबन्दसमेत राखियो । तथापि, दृढ इच्छाशक्ति भएका नेतालाई पञ्चायती निरङ्कुशताले हल्लाउन सकेन, बरु बीपीले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलामिलापको औचित्य सान्दर्भिक बन्दै गयो ।
०३६ को जनमतसङ्ग्रहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले जनमतसङ्ग्रह धोका हो भन्दै बहुदलको विपक्षमा लागेको पार्टी थियो । ०४६ सम्म आइपुग्दा उसले एकता र मेलमिलापको एक मात्र विकल्पलाई आत्मसात् गर्नेबित्तिकै नेपाली काङ्गे्रसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको कमान्डिङमा त्यसबेलाका साना–ठूला सबै कम्युनिस्ट संयुक्त वाममोर्चाका नामबाट एकै अभियानमा सामेल भए । राष्ट्रियता गम्भीर सङ्कटमा परेका बेला नेपाली एकताबद्ध भएर एउटै थलोमा उभिन्छन् भने प्रमाण त्यसबेला प्रकट भयो । प्रजातन्त्र पुनस्र्थापना पूर्वपञ्चहरूको खोक्रो राष्ट्रवादको अलापविलाप निकै सुन्ने गरिन्थ्यो । तर, मैहुँ भन्ने धेरै महापञ्चहरूलाई राष्ट्रियता र राष्ट्रवादको सामान्य पदावलीबाहेक केही जानकारी नभएको बोध हुन्थ्यो । त्यस्ता अबुझ र केही बुझेका तर बुझ पचाउने स्वार्थी तत्वले बीपीको नीति चाहे त्यो राष्ट्रिय एकता र मेलमिलाप होस् वा प्रजातान्त्रिक समाजवादको महत्व र आवश्यकतालाई बुझ्ने कुरै भएन । उनीहरू (पञ्चहरू) ‘महाराजाधिराजको जय होस्’ भन्नेमै नै मस्त रहे । त्यस्ता निरङ्कुशतावादीहरूले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म वा भावना बुझ्ने कुरै थिएन । अर्कोतर्फ नेपालका कम्युनिस्टहरू पनि नेपाली काङ्गे्रसलाई गाली गर्नुलाई नै महानता सम्झन्थे । आँखा चिम्म गरेर काङ्ग्रेसको विरोध गरेपछि नेता भइन्छ भन्ने मान्यता त्यसताका नेपाली कम्युनिस्टमा व्यापक रूपमा भेटिन्थ्यो । धेरै ठक्कर–चक्करका बाबजुद बीपी कोइरालाले प्रदर्शित गरेको गोरेटोलाई आजपर्यन्तसम्म जेनतेन छाडिहालेको अवस्था भने छैन । तर, राष्ट्रिय एकता र मेलमिलापको नीति र कार्यक्रमको सन्दर्भमा केही फेरबदल आएको भने पक्कै पनि हो । उक्त नीति लिँदा तत्कालीन अवस्थामा राजा एउटा शक्तिशाली केन्द्रको रूपमा रहेकाले एकता र मेलमिलाप राजा र जनताबीचको सुमधुर सम्बन्धले मात्र राष्ट्रिय एकता कायम हुन्छ र त्यो एकता र राष्ट्रिय मेलमिलापले राष्ट्र सबल हुन्छ भन्ने थियो र हो पनि । त्यस्तो एकता र मेलामिलाप प्रजातान्त्रिक पद्धतिमा मात्र सम्भव हुने हुनाले प्रजातन्त्र पुनस्र्थापनाको अभावमा ती उद्देश्य प्राप्ति हुने कुरै भएन ।
बीपीको अनुपस्थितिमा पनि मुलुकको राजनीति त्यही एकता र मेलमिलापकै वरिपरि आजसम्म घुमिरहेको छ । बिहान, दिउँसो र बेलुका तीनपटक जनतामाझ बेग्लाबेग्लै बोली बोल्ने आजका नेताहरूबाट धेरै आशा गरिहाल्ने बेला भइसकेजस्तो लाग्दैन, तथापि तिनै नेताको मुख ताक्नैपर्ने विडम्बना हामीमाझ छ । राष्ट्रिय एकता र मेलामिलापको तत्कालीन नीति आजसम्म कति सान्दर्भिक र औचित्यपूर्ण रहेछ भन्ने प्रमाणित भइसकेको छ । एकता र मेलमिलापको सूत्रबाटै दुई सय ४० वर्षको राजतन्त्रलाई हुत्याइदियो । एकता र मेलमिलापबिना साक्षत भगवान् विष्णुका अवतार मानिएका तत्कालीन राजा र राजतन्त्रको उन्मूलन सम्भव थिएन । एकता नै बल हो भन्ने भनाइलाई बीपीको नीतिको पालनाले सत्य सावित गरिदियो । मेलमिलापबिना एकता पनि सम्भव थिएन । यो यथार्थतालाई कहिल्यै बिर्सन हुँदैन ।
यदाकदा हाम्रा राजनीतिक दल वा तिनका नेताहरू बहकिएर एक्लाएक्लै हिँड्ने चेष्टा गरेको पाइन्छ । तर, सचेत नेपाली जनताले सहकार्यको बाटो नछाड्न निर्वाचनको माध्यमबाट मार्ग निर्देशन गरिसकेका छन् । अहिलेको संविधानसभाको मतपरिणामले त्यही भन्छ– दलहरू मेलमिलाप र एकताको मार्ग नछाड । ०४६ को प्रजातन्त्र पुनस्र्थापनाको निम्ति गरिएको जनआन्दोलनदेखि जनआन्दोलन ०६२/६३ सम्म पनि त्यही राष्ट्रिय एकता र मेलमिलापकै नीतिले निर्देशन हुन पुग्यो नेपाली राजनीति । जुन मार्गदर्शन छोडेर जानुभएको थियो बीपी कोइरालाले, त्यो कस्तो मूल मन्त्र बन्न पुग्यो नेपालको राजनीतिक परिवेशमा । राज्यको सम्पूर्ण क्षेत्र र अङ्गले स्थान पाएको अनि दुःखको बेला त्राण दिने अचुक अस्त्र राष्ट्रिय एकता र मेलमिलापको नीति कहिलेकहीँ कुनामा फालिएको खुकुरी खिया लागेर धारिलो हुन नसकेजस्तो पनि देखिन्छ । तथापि, नेपाली काङ्गे्रसले वर्षको एकपटक पुस १६ आउँदा झलक्क सम्झेर खिया लागेको हतियारमा सान लगाउन थाल्छ । यस हिसाबले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई केवल औपचारिकता मात्र सीमित राख्ने हो भने राष्ट्रमाथि आइपरेका गम्भीर प्रकृतिका सङ्कटबाट मुलुककै अस्तित्व जोगाउन धौ–धौ पर्नेछ ।
नेपाली राष्ट्रियतामा खतराका सङ्केतहरू प्रस्टसँग देखिएका छन् । हुन त राष्ट्रियता भनेको सामान्य अर्थमा कुनै पनि मुलुकको भूभाग मात्र हो कि भनेर बुझ्नेहरू पनि छन्, तर त्यो भूभागलाई अस्तित्वमा ल्याउने त्यस भूगोलमा बसोबास गर्ने जनतालाई अलग गरेर राष्ट्रियतालाई बुझ्ने कोसिस गरियो भने राष्ट्रियताको त्यो बुझाइ अपूर्ण हुनेछ । यसर्थ नेपालको सन्दर्भमा राष्ट्रियता भनेको नेपालको सीमाभित्र बसोबास गर्ने जनता र माटोको अन्योन्याश्रित सम्बन्ध नै राष्ट्रियता हो । तर, नेपालको दुर्भाग्य नै भन्नुपर्दछ कि बहुजाति, बहुधार्मिक, बहुभाषी एवम् बहुसंस्कृतिको अत्यन्त सुन्दर पुतली जस्तै संगम र सम्मिश्रणले सुसज्जित तथा शृङ्गारले चिकिक्क परेको समाजलाई जातिवादी सोचका कारण कतै जातीय सद्भाव बिथोलिने हो कि भन्ने सन्त्रास फैलिरहेको बेला दोस्रो संविधानसभाले केही हदसम्म त्यसको किनारा लगाउन निर्देशन गरेको महसुस गरिँदै छ । नेपाली राष्ट्रियतालाई छिया–छिया पार्ने उद्देश्यले जातीय आधारमा राज्य पुनर्संरचनाको सोच विकास भएकै थियो । त्यस्तो सोच विशेषतः एनेकपा माओवादी नामक पार्टीमा कहाँबाट आयो, त्यसको रहस्य पनि खुल्दै जाने छ । अहिले त्यो पाटोमा यसभन्दा बढी चर्चा आवश्यक ठानिएन ।
मुलुकमा एकता र मेलमिलापको औचित्य अझै बढिरहेको छ, तर राष्ट्रिय एकता र मेलमिलापका लागि आफ्ना पाइला अघिसार्ने प्रमुख जिम्मेवारी पाएको पार्टी नेपाली काङ्ग्रेसले अझै प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । नेपाली काङ्गे्रस पार्टी अझै बढी गम्भीर तथा एकताबद्ध भएर मेलमिलापको नीतिलाई नेपाली जनतामाझ पु-याउन आवश्यक छ । राजनीतिक, सैद्धान्तिक र वैचारिक धारलाई राष्ट्रिय एकता र मेलमिलापको माध्यमबाट प्रत्येक नेपालीको मन र मस्तिष्कमा छाप पर्ने गरी प्रस्ट्याउनुपर्दछ । जुन नीतिको आवश्यकता मुलुकले खोजिरहेको छ त्यही नीतिको संवाहक पार्टी नेपाली काङ्गे्रस तिखारिनु अनिवार्य छ । यहाँ नीति भन्नाले विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा राष्ट्रिय एकता र मेलामिलापको नीति भन्ने नै बुझ्नुपर्छ । जुन नीतिका प्रवर्तक बीपी कोइरालाले छाड्नुभएको कार्यभार उत्तराधिकारीले पूरा गर्नुपर्दछ । बीपीले छाड्नुभएका अपुरा काम सामान्य औपचारिकताले मात्र पूरा गर्न सम्भव छैन । त्यसको नीति गायत्रीमन्त्र जपेजस्तै अहोरात्र जपिरहनुपर्छ र सहअस्तित्ववादलाई पनि त्यत्तिकै ध्यान दिनुपर्छ । सबैको अस्तित्वबोधमा आफ्नो पनि उपस्थिति भेटिन्छ भन्ने मान्यताका साथ नेपाली समाजलाई एकढिक्का बनाइराख्न सकिन्छ । त्यसको निम्ति महानता, उदारता र त्याग पहिलो सर्त हो जसका लागि तम्तयार भएर बस्न सक्नुपर्छ । अयथा, केवल औपचारिकताले मात्र बीपीको नीतिलाई साकार रूप दिन अलि कठिन नै होला । ०७० पुस १६ को कार्यक्रमले खासै प्रभावकारी सन्देश दिन सकेन कि भन्ने भान गराएको छ । ‘आइन्दा प्रभावहीन कार्यक्रमले काङ्ग्रेस पार्टीको गरिमासमेत खस्कन सक्छ भन्नेतिर ध्यान पु-याउनुपर्दछ ।