राजदूतसँग चन्द्रशमशेरको संवाद

राजदूतसँग चन्द्रशमशेरको संवाद


काठमाडौं फर्केपछि श्री ३ चन्द्र र रेजिडेन्ट म्यानर्स स्मिथबीच युरोप भ्रमण विषयमा वार्ता हुन थाल्यो र लेखापढी पनि सधैझैँ शुरु भयो । तत्सम्बन्धी केही विवरण तल दिइएको छ–

मे. ८ ता. १९०७ ई. का दिन श्री ३ चन्द्र र रेजिडेन्ट म्यानर्स स्मिथबीचको केही वार्ताको अंश यसप्रकार टिपिएको छ–

महाराज : के अफगानीस्थानको अमीर आउने साल इंग्ल्यान्ड जाने भएको छ ?

रेजिडेन्ट : मलाई यस विषयमा थाहा छैन, के महाराजले पनि इंग्ल्यान्ड जाने विचार गर्नुभएको छ ?

महाराज : त्यस्तै विचार छ ।

रेजिडेन्ट : राम्रै हुने थियो साथै महाराज जानुभए फाइदा पनि हुने थियो । तपाईंको इंग्ल्यान्ड भ्रमणको खास उद्देश्य के हो ?

महाराज : एकपल्ट आफैँ खुद हाजिर भई किङ यम्परको सलाम् गर्नाको इच्छा राखेको छु ।

रेजिडेन्ट : महाराजबाट इंग्ल्यान्डको भ्रमण गरेमा बहुत बढिया छ ।

मे १७ ता. १९०७ ई. का दिन सरदार मरिचीमान सिंहले श्री ३ चन्द्रको बेलायत–युरोप भ्रमण विषयको पत्र लिई रेजिडेन्सीमा गए । त्यस अवसरमा सरदार र रेजिडेन्टबीचमा भएको वार्ताको केही विवरण निम्नप्रकार टिपिएको छ–

रेजिडेन्ट : म एउटा कुरा तिमीसँग सोध्छु यथार्थ भन, सर वीरले बेलायत जानुहुने कुरा सबै बन्दोबस्त मिलेपछि किन जानु नभएको हो ?

सर्दार : भोटसँग उस्बखत् सेवानातर्फको कुरामा वात् नमिली गडबड होला भनेजस्तो भयाको हुनाले तेस्तो परी आउँदा आउँदै आफू टाढाको सफरमा सवारी भै बक्सनु मुनासिव नहुनाले सवारी हुन सकी नबक्सियेको हो ।

रेजिडेन्ट : अरू केही कारण छ कि ?

सर्दार : मलाई थाहा भयाको कारण त येतिकै हो ।

रेजिडेन्ट : तेति कारणले मात्र वाहाले बेलायत् सवारीको कुरा बिलल्कुल त्याग गरी बक्सनुपर्ने होइन कि जस्तो लाग्छ ।

सर्दार : हो हुनलाई त वाहाँले बेलायत सवारी भइबक्सने पक्का इरादा र षाइश भयाको भया सो भोटसँगको गडबड छिनिसकेपछि अर्को साल सवारी भया पनि हुने थियो, तर के कारणले हो कुन्नि फेरि जाने मन्सुवा गरी बक्सियेन । सरजंगलाई भयाको बमोजिम् आनर्स र स्यालुट इत्यादी सबै हुनुपर्छ भन्ने विषयमा येकपल्ट कुराको छलफल भयाको थियो क्यारे तैपनि स्याटिस्फयाकटरिली मिल्यो भनी जनरल वाइलीले लेषेको थियो भने सो कुरा पनि वहाको मुताबिक मिलिसकेको थियो, मैले महाराजको यो तजबिज भयाको सफरमा पनि सोही सरजंगकै साविकबमोजिम सबै आनर्स स्यालुट् इत्यादी हुने बन्दोबस्त हुन्या छ भन्या महाराजबाट निश्चय मानी बक्सेको छ ।

रेजिडेन्ट : सर जंगकै साविक पुक्नु किन ?

सर्दार : यहाँ हाम्रा दुनिञाको मिजाज अनौठो छ । अघि सर जंगलाई जो इज्जत स्यालुटहरू भयाको थियो तेस्मा १ रती मात्र घटी भयो भने पनि यति घटी गरी हामीहरूलाई हलुक्याइँ गऱ्या भन्या सम्झन्छन्,

त्यसपछि सरदार मरिचीमान सिंहले रेजिडेन्टलाई श्री ३ चन्द्रको भ्रमणमा हुने इज्जत र स्यालुटको कुरा तय गर्नको लागि भने । यस कुराको तय भएपछि मात्र महाराजबाट भ्रमणको लागि अरू ठीकठाक गर्नुहुनेछ । कदाचित यो विषय सन्तोषजनक नभएमा महाराजले विवश भई भ्रमण स्थगित गर्नुपर्नेछ र सो राम्रो हुँदैन भन्ने कुरा पनि गरे ।

नोभेम्बर १३ ता. १९०७ ई. का दिन सबेरै पाँच बजे भिक्षाखोरी ‘हाल अमलेखगञ्ज’बाट रेजिडेन्ट म्यानर्स स्मिथले श्री ३ चन्द्रलाई लेखेको पत्रमा श्री ३ महाराजको प्रस्तावित बेलायत भ्रमणमा उन्नाइस तोपको सलामी दिइने कुराको टेलिग्राम प्राप्त भएको हवाला दिँदै पत्रमा श्री ३ जंगलाई बेलायत भ्रमणको औपचारिक सम्बन्धको रूपमा मान्यता दिइएको कुरा उल्लेख गरिएको छ । प्रस्तावित भ्रमणमा प्राप्त हुने सम्मानका सम्बन्धमा पनि चर्चा गरिएको छ ।

नोभेम्बर १५ ता. १९०७ ई. का दिन श्री ३ चन्द्रले रेजिडेन्टलाई लेखेको पत्रमा रेजिडेन्टबाट प्रस्तावित भ्रमणका सम्बन्धमा जुटाइने सम्मानमा उन्नाइस तोपको सलामी नै कायम रहने कुरालाई लिएर आश्चर्य व्यक्त गर्दै एक्काइस तोपको सलामी नपाउने भएपछि कसरी श्री ३ जंगको भ्रमणभन्दा आफ्नो भ्रमण बढी सम्मान र इज्जतको हुन सक्दछ भन्ने प्रश्न गरिएको छ र एक्काइस तोपको सलामी नै पाउन सके हुन्थ्यो भन्ने मनसाय देखाइएको छ ।

नोभेम्बर २८ ता. १९०७ ई. का दिन रेजिडेन्टले श्री ३ चन्द्रलाई पत्र पठाए, त्यस पत्रमा लेखिएको छ कि नोभेम्बर १५ ता. १९०७ ई. का दिन तपार्इंले लेख्नुभएको पत्र सरदार मरिचीमान सिंहमार्फत हिजो पाएँ, साथै तपाईंको भारत र इंग्ल्यान्डको यात्रा विषयमा तपाईंको धारणा बुझेँ । साथै तपाईंको उच्च सम्मानका साथ यात्रा सम्पन्न गर्न ब्रिटिस सरकारलाई पठाउन लागेको टेलिग्रामको बोधार्थ पठाएको छु ।