नेपाली काङ्ग्रेस संसदीय दलमा सभापति सुशील कोइराला स्पष्ट बहुमतमा देखिनुभएपछि उहाँ नै प्रधानमन्त्री बन्नुहुने विश्वास ‘नेपाली राजनीतिलाई सतहमा बुझ्ने’हरूले गरेका छन् । दुई ठाउँबाट प्रत्यक्षतर्फको निर्वाचनमा विजय हासिल गरेको, पार्टीको शक्तिशाली सभापति पदमा रहनुभएको, काङ्ग्रेस सभासद्हरूमध्ये बहुसंख्यकको समर्थन रहेको र जनसाधारण तथा विपक्षीहरूको सहानुभूति पनि भएकोले सुशील कोइराला नै प्रधानमन्त्री बन्नुहुने विश्वास गरिएको हो । कोइराला स्वयम् पनि आफू प्रधानमन्त्री बन्नेमा विश्वस्त हुनुहुन्छ र उहाँले विपक्षी नेताहरूसँगको वार्तालापसमेत ‘भावी प्रधानमन्त्रीकै शैलीमा’ थाल्नुभएको छ । गत सोमबार (पुस २२) काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवासँग उहाँले छुट्टाछुट्टै भेटी काङ्ग्रेस संसदीय दलको नेतामा आफूलाई सर्वसम्मत बनाउन सहयोग माग्नुभयो । कोइरालाले नेताहरू आपसमा मिलेर जाँदा पार्टीभित्र र देशमा समेत राम्रो सन्देश जाने भन्दै दलको नेता सर्वसम्मत ढङ्गले चयन गरेर त्यस्तो सन्देश दिन सकिने विचार प्रकट गर्नुभएको थियो । कोइरालाका कुरा सुनेपछि वरिष्ठ नेता शेरबहादुर देउवाले ‘ठीकै छ, अझै समय बाँकी छ, कुरा गर्दै गरौँला, अन्तिमसम्म हेरौँ न’ भन्ने जवाफ फर्काउनुभएको बुझिएको छ । देउवाको ‘अन्तिमसम्म हेरौँ न’ भन्ने वाक्यले सुशील कोइरालालाई झस्काएको बताइन्छ । देउवाले अहिलेसम्म आफैँ संसदीय दलको नेता बन्ने कसरत खुलेर गर्नुभएको छैन र उहाँले त्यस्तो इच्छा कसैसँग जाहेर गर्नुभएको पनि पाइएको छैन । तथापि संसदीय दलका नेताको जिम्मेवारी देउवाले कोइरालालाई सजिलै छोड्नुहुने विश्वास भने गरिएको छैन । सर्वसम्मत नेता बन्न कोइरालाले सभापति पद छोड्नुपर्ने सर्त देउवाको छ । आफूलाई कार्यवाहक सभापति बनाइएको अवस्थामा कोइरालालाई सर्वसम्मत नेता बनाउन देउवा तयार हुनुहुने अनुमान गर्न सकिन्छ । यद्यपि देउवाले गत सोमबारको भेटवार्तामा कोइरालासमक्ष त्यस्तो प्रस्ताव भने राख्नुभएन, सामान्य औपचारिक कुराकानी गरेर देउवा कोइरालासँग छुट्नुभएको थियो । यदि देउवाले कार्यवाहक सभापतिको प्रस्ताव राख्नुभए पनि सुशील कोइराला त्यसमा सहमत हुनुहुने सम्भावना अत्यन्त न्यून मात्र रहेको छ । प्रधानमन्त्री पदका लागि कोइरालाले सभापतिको जिम्मेवारी हस्तान्तरण गर्न नहुने उहाँका अनुयायीहरूको सुझाव छ र कोइरालाले त्यस्तो सुझावलाई सकारात्मक रूपमा लिनुभएको छ । कदाचित कोइराला त्यसका निम्ति तयार हुनुभए पनि काङ्गे्रसको विधान देउवालाई कार्यवाहक सभापति बनाउन बाधक छ । कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपरे उपसभापतिलाई दिनुपर्ने वैधानिक प्रावधान रहेको छ । तसर्थ देउवाले चाहे पनि उहाँ कार्यवाहक सभापति बन्नुहुने सम्भावना देखिँदैन । त्यसैले आफ्नो स्थिति अनुकूल हुने भएमा अन्ततः देउवाले संसदीय दलको नेतामा कोइरालासँग प्रतिस्पर्धा गर्नुहुने सम्भावना बढी छ ।
यसरी कोइरालाका निम्ति देउवालाई मिलाउनुपर्ने चुनौती एकातिर छ भने अर्कोतिर उपसभापति रामचन्द्र पौडेलको विश्वास आर्जन गर्न पनि सजिलै सकिने स्थिति छैन । काङ्गे्रसमा नेतात्रयको अनौपचारिक अवधारणा जीवित रहे पनि हालसम्म व्यवहारमा पौडेललाई सोअनुरूपको महत्व दिइएको छैन । टिकट वितरण होस् या समानुपातिक सभासद्हरूको टुङ्गो लगाउने क्रममा होस् कोइराला र देउवाबीच मात्र भागबन्डा हुने गरेको छ । हालसम्म पौडेलको समेत प्रतिनिधित्व कोइरालाले गर्ने गर्नुभएकोमा अब पौडेलले स्वतन्त्र भूमिका निर्वाह गर्नुभयो भने आश्चर्य हुनेछैन । अप्ठ्यारा र सङ्कटहरूमा आफूलाई प्रयोग गरे पनि खास–खास अवसर आउँदा आफूलाई कोइरालाले वञ्चित गर्ने गर्नुभएको ठम्याइ पौडेलमा रहेको बताइन्छ । पहिलो संविधानसभामा काङ्गे्रस संसदीय दलको नेता रहनुभएका पौडेललाई प्रधानमन्त्री बन्न नसक्ने निश्चित भएका बेला प्रधानमन्त्रीका उम्मेदवार बनाइएको, तर साँच्चै प्रधानमन्त्री बन्ने अवसर आउन लाग्दा भने कोइराला आफैँ अग्रसर रहने गर्नुभएकोमा पौडेल असन्तुष्ट हुनुहुन्छ । त्यसैले यसपटक संसदीय दलको नेता बन्न पौडेल आफैँ अगाडि सर्नुहुने सम्भावना प्रबल देखिएको छ । कार्यवाहक सभापतिको जिम्मेवारी प्राप्त गर्न पौडेल इच्छुक हुनुहुन्न र उहाँले त्यस्तो प्रस्ताव सभापति कोइरालासमक्ष राख्नुभएको पनि छैन । तथापि भविष्यमा फिर्ता नलिने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिइएमा भने पौडेलले त्यसलाई स्वीकार गर्नुहुने सम्भावना छ । यसबाहेक अन्य सानातिना प्रयासले पौडेललाई मनाउन सकिने अवस्था देखिएको छैन । त्यसैले यसपटक उपसभापति पौडेललाई विश्वासमा लिनु पनि कोइरालाका निम्ति एउटा चुनौतीकै विषय बन्न पुगेको छ । यसअघि झैं उपेक्षा गरिएमा पौडेल जुनसुकै कदम चाल्न पनि तत्पर हुनुभएमा त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने स्थिति छ । अहिलेसम्म पौडेल र देउवाबीचको दूरी कोइरालाका निम्ति राजनीतिक रूपमा लाभप्रद बन्दै आएको छ । पौडेलले स्वतन्त्र भूमिका निर्वाह गर्नुभयो र कोइराला र देउवा दुवैसँगै समदूरीको सम्बन्ध बनाउँदै सम्झौताका लागि दुवैतर्फको ढोका खुला गर्नुभयो भने काङ्गे्रसको आन्तरिक शक्ति सन्तुलनमा भारी परिवर्तन आउने देखिन्छ । पौडेल कोइराला या देउवामध्ये जतापट्टि ढल्कनुहुन्छ त्यतैको पल्ला भारी हुनेमा शङ्का गरिरहनुपर्ने अवस्था छैन । काङ्गे्रसमा सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र खुमबहादुर खड्का बलियो नेटवर्क भएका नेतामध्ये पर्नुहुन्छ । चारमध्ये खड्काले देउवाको समर्थन गर्नुभएको छ । अब पौडेलको समर्थन पनि कोइरालाले गुमाउनुभयो भने उहाँका निम्ति अत्यन्त प्रतिकूल अवस्था सिर्जना हुनेछ । त्यसैले बाहिरबाट हेर्दा सुशील कोइराला दलको नेता बन्न जति सजिलो देखिएको छ, काङ्ग्रेसको आन्तरिक राजनीतिमा चियाउँदा त्यति नै कठिन रहेको देख्न सकिन्छ । यो कठिनाइलाई पार गर्ने सामथ्र्य राख्नुभयो भने कोइराला संसदीय दलको नेता बन्न सम्भव छ । होइन भने जोखिम उठाउँदै देउवासँग चुनाव लड्ने या नयाँ पुस्ताका कसैलाई अघि सारेर आफू पछि हट्ने दुईमध्ये एउटा विकल्प रोज्न कोइरालाले बाध्य हुनुपर्नेछ । त्यस्तो अवस्थामा रामचन्द्र पौडेल या डा. रामशरण महतलाई देउवासँग प्रतिस्पर्धामा उतारेर आफूलाई जोगाउनु नै कोइराला र काङ्ग्रेसका निम्ति उपयुक्त हुने कोइरालाकै निकटवर्तीहरूको समेत धारणा छ ।
प्रतिक्रिया