खुल्यो सिरहामा विद्युतीय पुस्तकालय

खुल्यो सिरहामा विद्युतीय पुस्तकालय


एघारौँ पुस्तकालय दिवसका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व जयगोविन्द साहको स्मृतिमा ‘जयगोविन्द साह स्मृति पुस्तकालय’ नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो विद्युतीय पुस्तकालय भएको बताइएको छ ।

धनगढीमाई नगरपालिका–९ मा स्थापना गरिएको पुस्तकालय नगर प्रमुख हरिनारायण चौधरीले शनिबार उद्घाटन गरेका हुन् । पुस्तकालयले पठनीय संस्कृतिको विकास गर्नुका साथै पुस्तक अध्ययनबाट प्राप्त ज्ञान समाज रूपान्तरणमा सहयोग मिल्ने उनले बताए ।

पुस्तकालयमा दर्शन, साहित्य, विज्ञान, कलालगायतका विभिन्न विषयका १३२ पुस्तकसहित तीन थान कम्प्युटर राखिएको छ । अनलाइनमार्फत ती कम्प्युटरबाटै विभिन्न पुस्तक हेर्न सकिने र पाठकको मागअनुसार आगामी दिन क्रमशः अन्य पुस्तक र कम्प्युटर थप्दै जाने नगरपालिकाले जनाएको छ । पुस्तकालयले आगामी दिनमा शिक्षा, राजनीतिक, संस्कृतिलगायत विविध विषयमा नियमित रूपमा छलफल कार्यक्रम गर्ने जनाएको छ ।