राष्ट्रपति कृष्ण मन्दिरमा

राष्ट्रपति कृष्ण मन्दिरमा


राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छिन् ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् ।

सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिरमा ०७२ को भूकम्पबाट आंशिक क्षति पुगेकामा हालै मर्मतसम्भार गरिएको हो । मन्दिरको जीर्णोद्धार रु. ५७ लाखको लागतमा काठमाडौं उपत्यका संरक्षण कोषले गरेको हो ।

किंबदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले जानकारी दिए ।

मन्दिरमा आज बिहानैदेखि भक्तजनको भिड लागेको छ । अपराह्न २ बजेसम्म दुई लाख ५० हजारभन्दा बढी भक्तजनले मन्दिरमा पूजा एवं दर्शन गरेको बताइएको छ ।