बढेको पारिश्रमिक पाएनन् चिया मजदुरले

बढेको पारिश्रमिक पाएनन् चिया मजदुरले


यहाँका चिया मजदुर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् ।

न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदुरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले आन्दोलन गर्ने जनाएको छ ।

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको न्यूनतम पारिश्रमिक रु. २७८ बाट वृद्धि गरी रु. ३८५ निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको पारिश्रमिक मजदुरले पाउन नसकेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । चिया बगान मालिकले सरकारी निर्णयको अवज्ञा गर्दा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । ‘सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनु हाम्रो अधिकार हो,’ उनी भन्छन् ।

अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटाले पारिश्रमिक माग्दा व्यवसायीले अड्को थापेको बताए । अखिल नेपाल चिया मजदुर संघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटाले मजदुरले आफ्नो उचित पारिश्रमिक माग्दा व्यवसायीले दिन नमानेको बताए ।