अमेरिकी दबाबमा इरानी कच्चातेल रोक्ने तयारीमा जापान

अमेरिकी दबाबमा इरानी कच्चातेल रोक्ने तयारीमा जापान


जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरू मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्ध घोषणा गरेका थिए ।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्ध आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ ।

‘जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भए पनि त्यो सम्भव भएन,’ जीजी प्रेस र अरू सञ्चारमाध्यमले जनाएका छन् । परिणामस्वरूप, जापानी तेल कम्पनीहरू इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन् । उनीहरू बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् ।

व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको, तर कुनै प्रगति हुन नसकेको बताए ।

‘हामीले सरकारको निर्णयको प्रतीक्षा गरेका थियौँ, तर अहिल्यै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा हामी छैनौँ,’ तेलको थोकबिक्रेता कम्पनी शोवा शेल सेकियुका प्रवक्ताले बताए ।

अर्को थोकबिक्रेता कम्पनी जेएक्सटीजीले पनि तेल आयातबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

जापानमा तेलको आयात मुख्य रूपमा मध्यपूर्वबाट हुने गरेको छ । गत वर्ष जापानको कुल आयातको ५.३ प्रतिशत कच्चा तेल इरानबाट आयात भएको थियो ।