बुद्धको देश यो

बुद्धको देश यो


– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

बुद्धको देश हो मेरो शान्त नेपाल सुन्दर
पाइँदैनन् यहाँभित्र केही कुरा असुन्दर
बुद्धले ज्ञान पाएको मेरै क्षेत्र हिमाल हो
बुद्धले प्रीत लाएको मेरै देश विशाल हो ।।१।।

यो माटोभरि उम्रेका बोधिवृक्ष अनन्त छन्
यो बाटोभरि पैmलेका ज्ञान, विज्ञानयुक्त छन्
पैmलियो सभ्यता पैले यहीँबाट सबैतिर
सन्देश शान्तिको बोकी हिँड्छौँ हामी निरन्तर ।।२।।

गौरीशङ्करमा पैलो घाम झुल्कन्छ विश्वमा
माथा सगरले बोक्छन् स्वर्ग समुच्च काँधमा
उषा आएर च्याउँछिन् हाम्रै शिर हिमालय
वसन्ती गाउँछन् गीत हालेर कोयली लय ।।३।।

शरद्मा शीतका थोपा मोती बनेर झर्दछन्
वर्षामा जलले सारा खेत–बारी सिंगार्दछन्
हजारौँ नदी छन् स्रोत पानीमा बिजुलीसरि
सूर्य–चन्द्र यहीँ डुल्छन् उज्यालो रातमा छरी ।।४।।

बुद्धको करुणा, मैत्री, शान्तिको मूल–मन्त्र छ
आइलाग्छन् भने जाइलाग्ने मेरो स्वभाव छ
मौरीभैmँ श्रममा खट्ने शुद्ध जीवन धन्य छ
स्वाभिमानी भई बाँच्ने पुर्खौंदेखि प्रवृत्ति छ ।।५।।

हडप्न देश यो खोजे फिरंगीले यहाँ अघि
ढल्यो साम्राज्य नै तिनको गति–ग्रास भएपछि
नखोज्ने हेपिन कहिल्यै यसको सुन्दर पक्ष छ
समृद्धिको चुली चुम्ने यस्को विशाल लक्ष्य छ ।।६।।

नझुकेको कसैसामु मेरो देश स्वतन्त्र छ
नालापानी र टिष्टामा लडेको इतिहास छ
हारेको कहिल्यै छैन लत्रेर युद्धभूमिमा
स्वाधीनता फिँजाएको यसैले हो समस्तमा ।।७।।

वीरको देश हो मेरो धीरको पनि देश हो
ज्ञान, विज्ञानको ज्योति बाल्न सक्ने विशेष हो
मटोभित्र छ सौगन्ध, माटो बाहिर चेतना
विश्व ब्रह्माण्ड हाँक्नमा सामथ्र्य छ यथार्थमा ।।८।।

नछोऊ अब यो माटो बिनाकाम झुकाउन
पर्ला आखिरमा कालो तिम्रै शिर लुकाउन
बुद्धको शान्तिको अर्थ सहनेचाहिँ होइन
सापेक्ष क्रान्तिको अर्थ विस्तारवाद होइन ।।९।।

म आफ्नै देशको निम्ति छाती फुकाई लड्दछु
हार्दैन देशले मेरो युद्धमा मर्न सक्दछु
सिमाना, साँध सारेर देश सारिन्न क्यै गरी
देशभक्ति हुँदा साथ म मारिन्न कसै गरी ।।१०।।