पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध


सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।

गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार पहिरोले पाँचपन-चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ ।

कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताए । उनका अनुसार वर्षाका कारण पाँचखपनको चुङखुरुङतर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण आज (२३ जेठ) बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

सडक निर्माण जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको छ । बाढीबाट कमजोर बनेको भिरालो जमिन खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकार भएका निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।