एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्सको आयोजना

एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्सको आयोजना


नेपाली सेना र ‘युएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’को संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रका उच्च सैनिक अधिकारी तथा अधिकृत प्रतिनिधिहरू सहभागी गराई ११औँ एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स आयोजना गरिएको छ । कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले हिजो सोमबार होटल हायतमा एक समारोहका बीच कन्फ्रेन्सको उद्घाटन गर्नुभयो ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यस कन्फ्रेन्समा २३ मित्रराष्ट्रहरूका उच्च तहका सैनिक अधिकृत ८३ र नेपाली सेनाको तर्फबाट २० जना गरी १०३ जनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ । भोली बुधबार (२० भदौ)सम्म सञ्चालन हुने यस कन्फरेन्समा सहभागी हुन आएका उच्च तहका विदेशी सैनिकलाई नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने कार्यक्रम समेत रहेको बताइएको छ ।

यस प्रकारको बहुराष्ट्रिय संयुक्त कन्फ्रेन्सले वर्तमान र भविष्यमा उत्पन्न हुन सक्ने रणनैतिक सुरक्षा चुनौतिको समाधानको लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदानप्रदान हुन गई सैनिक इन्टेलिजेन्स क्षमतामा अभिवृद्धि गर्न मद्धत पुग्नुको साथै मित्रराष्ट्रहरूसँगको सैनिक सम्बन्ध अझ मजबूत र प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।