राजदूतलाई साक्षी राखेर विद्यालय उद्घाटन

राजदूतलाई साक्षी राखेर विद्यालय उद्घाटन


जापानी राजदूतलाई साक्षी राखेर पूर्वबडामहारानी कोमलबाट एक माध्यमिक विद्यालय भवनको समुद्घाटन हुने कार्यक्रम तय भएको छ । गोरखाको पालुङटार ठाँटीपोखरीस्थित भवानी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तात्कालिक बडामहारानीबाट हुन लागेको हो ।

जापानी आर्थिक सहयोगमा हिमानी ट्रस्टले निर्माण गरिदिएको विद्यालय भवन ट्रस्टको संरक्षकको हैसियतमा बडामहारानीबाट उद्घाटन हुन लागेको बताइएको छ । बिहीबार (भदौ २१ गते) बिहान एघार बजे विद्यालय प्राङ्गणमा आयोजित समारोहमा नेपालका लागि जापानका राजदूत मसाशी ओगावाको विशेष उपस्थिति रहने भएको छ ।

उद्घाटन समारोहमा सहभागिता जनाउन पूर्वबडामहारानी कोमल र पूर्वयुवराज्ञी हिमानी बुधबार नै त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । बुधबार साँझ मुग्लिननजिकै एक रिसोर्टमा बिताएर बिहीबार उहाँहरू ठाँटीपोखरी पुग्नुहुने बताइएको छ ।