संयुक्त सैन्य अभ्यासको थालनी गरेर दक्षिण एसिया एउटा बेग्लै शक्तिकेन्द्र भएको सन्देश दिने प्रयास भएको छ । आर्थिक विकास सुरक्षा र अन्य सामाजिक मुद्दाहरूमा साझेदारीका निम्ति दुई दशकअघि गठित बिमस्टेकको हालै काठमाडौंमा सम्पन्न बैठकले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गरेपछि विश्व राजनीतिमा तरङ्ग पैदा भएको छ । यसले सार्कभन्दा बिमस्टेक प्रभावकारी हुन सक्ने सङ्केत पनि गरेको छ ।
यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजित बिमस्टेक सम्मेलन सकिना साथ सबैभन्दा पहिला सैन्य अभ्यासबाटै बिमस्टेक बैठकमा भएका निर्णयहरूको कार्यान्वयन हुने भएको छ । समाचारअनुसार भारत महाराष्ट्रको पुनेमा यही भदौ २५ गतेदेखि संयुक्त सैन्य अभ्यास शुरु हुनेछ । सात दिन (भदौ २५ देखि ३१ गते) सम्म चल्ने सैनिक अभ्यासमा बिमस्टेकका सातै सदस्य राष्ट्रका सैनिकहरूको सहभागिता रहनेछ । बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपाल सदस्य छन् ।
प्राप्त जानकारीअनुसार यो सैनिक अभ्यासमा नेपालबाट ५ जना अधिकृत र २५ जना अन्य दर्जा गरी ३० सैनिकको सहभागिता रहनेछ । बिमस्टेक राष्ट्रहरूको पहिलो संयुक्त सैन्य अभ्यास भएकोले उद्घाटन समारोहमा सबै देशका प्रधानसेनापतिको सहभागिताबारे छलफल भइरहेको बुझिएको छ । यदि अन्य देशका प्रधानसेनापतिहरूको सहभागिता रहने भएमा नेपालबाट पनि प्रधानसेनापति पूर्णचन्द्र थापाको सहभागिता रहने बताइएको छ । सैन्य अभ्यास प्रतिआतङ्कवाद (काउन्टर टेरोरिजम) मा केन्द्रित हुनेछ ।
स्मरणीय छ, सार्क मुलुकमध्ये अफगानिस्तान, पाकिस्तान र माल्दिभस बिमस्टेकमा सहभागी छैनन् । बिमस्टेक मुलुकहरूले संयुक्त सैन्य अभ्यास शुरु गर्नुलाई विश्लेषकहरूले सामान्य रूपमा लिएका छैनन् । कतिपयले यो सैन्य एकता कसका विरुद्ध लक्षित भन्ने प्रश्न उठाएका छन् । कतिले यस क्षेत्रमा बेग्लै सैन्य एकता प्रस्तुत गरेर चीन र पाकिस्तानलाई ‘सन्देश’ दिएको पनि भनेका छन् । जे होस्, संयुक्त सैन्य अभ्यासले बिमस्टेकको महत्व बढाएको ठानिएको छ ।
प्रतिक्रिया