मनाङमा रहेको झोलुंगे पुल विश्वकै पाँचौँ अग्लो भएको दाबी

मनाङमा रहेको झोलुंगे पुल विश्वकै पाँचौँ अग्लो भएको दाबी


मनाङको नासोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं. ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाइ १३५ मिटर रहेको छ ।

केही दिनअघि नासोङ गाउँपालिकाका इन्जिनियर सुभास पाण्डेयलगायतको टोलीले नापजाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्माण गरिए पनि यसको वास्तविक उचाइ सार्वजनिक भएको थिएन ।

०७२ मा निर्माण भएको यस पुल विश्वकै पाँचौँ नम्बरमा पर्छ । हालसम्म विश्वको तथ्यांक हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुंग्रे ब्रिज ५६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४८५, एचीपुल ४३४ मिटर अग्लो छ ।

चीनका ती चारवटा पुलपछि ड्रोनाखोलामा निर्माण भएको पुल नै अग्लो भएको दाबी स्थानीयवासीको छ । हालसम्म नेपालको अग्लो झोलुंगे पुल भनेर चिनिएको पर्वत कुश्माको पुलको उचाइ जम्मा १६६ मिटर छ । ‘हामीले प्राविधिक हिसाबले नै नापजाँच गरेका हौँ । पुलको वास्तविक उचाइ ४१२ मिटर छ, इन्जिनियर पाण्डेयले भने, ‘अब यसको प्रचार देशभरि गर्नुपर्छ । यसले पनि मनाङको पर्यटन बढाउन सहयोग गर्छ ।’

‘हामीलाई हाम्रो सम्पत्ति नै थाहा भएन । नत्र पहिले नै प्रचार गरिसक्थ्यौँ,’ नासोङ गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले भने, ‘विकट जिल्ला र अशिक्षाका कारणले पनि पछि परिरहेका छौँ ।’ गाउँलेलाई हिँडडुल गर्न चार वर्षअघि यो पुल बनाइएको हो । मनास्लु पदमार्गमा पर्ने झोलुंगे पुल लार्के पास र भोटमा नुन लिन जाने पुरानो बाटो पनि हो ।

खोलामा पुल नहँुदा धेरै सास्ती व्यहोरेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । पुललाई सम्पदाको रूपमा स्थापित गरिदिन आग्रह गर्दै उनले तिलिचो तालजस्तै यस पुललाई पनि विश्वमा चिनाउन सकिने भएकाले यसको प्रचारप्रसार गरिदिन सरकारसँग आग्रह गरे ।

रासस