पृथ्वीमा जीवनको उत्पत्ति मंगलबाट ? -नवीन उप्रेती

पृथ्वीमा जीवनको उत्पत्ति मंगलबाट ? -नवीन उप्रेती


पृथ्वीमा जीवनको सुरुआत कहाँबाट भएको थियो भन्ने सवाल अहिले पनि रहस्यकै गर्भमा छ । आ-आफ्ना अनुमानित धारणाहरू त अनेक आइरहेका छन् तर कुनैले पनि प्रमाणित रूप हासिल गर्न सकेका छैनन् । यस्तोमा वैज्ञानिकहरू पृथ्वीमा जीवनको सुरुआत मंगल ग्रहबाट भएकोमा बढ्ता विश्वस्त बन्न थालेका छन् । पृथ्वीको जस्तै जीवनका लागि आवश्यक कतिपय कुराहरू त्यहाँ रहेको सङ्केत मिलेबाट उनीहरू यस्तो धारणामा पुगेका हुन् । यही धारणाबाट पे्ररित भएर हारर््वर्ड विश्वविद्यालय एवम् म्यासाच्युसेट्स प्रोद्यौगिकी संस्थानका वैज्ञानिकहरू एउटा यस्तो उपकरण निर्माणमा जुटेका छन् जसले पृथ्वीमा जीवन सुरुआत हुनमा मंगल ग्रहको भूमिकाबारे जानकारी दिनेछ । ‘सर्च फर एक्ट्रा, टे्रसेटेरियल जेनोमेस’ नाम दिइएको सो उपकरण तयार गरेर मंगल ग्रहमा पठाउने वैज्ञानिकहरूको योजना छ । यसले त्यहाँ लाखौँ वर्ष पहिलेको स्थितिको आँकलन गर्नुका साथै डीएनएको समेत पहिचान गरेर प्रतिवेदन पठाउने वैज्ञानिकहरूको दाबी छ ।

मधुमेह रोगीका लागि ‘पेसमेकर’
संसारमा रोगको प्रकार एवम् मात्रा जति बढ्दै छ त्यसको निदान तथा उपचारका विधि पनि सोही अनुपातमा वैज्ञानिक वा शोधकर्ताहरूले आविष्कार गर्दै आएका छन् । त्यही क्रमलाई निरन्तरता दिँदै वैज्ञानिकहरूले एउटा यस्तो डिभाइस निर्माण गरेका छन् जो ‘टाइप-२’ मधुमेह रोगीको उपचारमा गुणकारी सावित हुने दाबी गरिएको छ । ‘डाइबेटिज इम्प्रुभमेन्ट एन्ड मेटावालिक नर्मलाइजेसन डिभाइस’ नामक सो उपकरण सलाईको डिब्बा आकारको छ भने यसद्वारा बिरामीको पेटमा हल्का बिजुलीको झट्का दिएर उपचार गरिन्छ । हेर्दा मुटुरोगीका लागि प्रयोग गरिने ‘पेसमेकर’जस्तै देखिने यस यन्त्रलाई खाना खाएको बेला पेटमा छुवाएर हल्का विद्युतीय झट्का पैदा गरिन्छ, जसका कारण उत्पन्न उत्तेजनाले बिरामीको शरीरभित्र इन्सुलिन अधिक मात्रामा पैदा हुन पुग्छ । यसरी उत्पन्न हुने इन्सुलिनले मधुमेह रोगीको रगतमा ग्लुकोजको मात्रा बढ्न नदिई सन्तुलनमा राखिदिन्छ ।

मोटे बाबुहरू होसियार १
विज्ञहरूले अहिलेसम्म मान्दै आएका छन् कि ज्यादा वजन भएकी महिलाबाट जन्मिएका बच्चा पनि त्यस्तै गोलमटोल आकारप्रकारका हुन्छन् र महिलाको अत्यधिक तौलले तिनका सन्तानलाई भविष्यमा लाग्न सक्ने रोगका लागि भूमिका निर्वाह गर्दछ । यो तथ्यलाई कायम नै राख्दै अध्ययनकर्ताहरूले अर्को नयाँ कुरा पत्ता लगाएका छन् जसअनुसार सन्तानमा लाग्ने रोगका लागि तिनका बाबुको मोटोपनले पनि त्यत्तिकै भूमिका निभाइरहेको हुन्छ । युनिभर्सिटी अफ न्यू साउथ वेल्सको नेतृत्वमा अनुसन्धान गरिरहेको एक टिमले दाबी गरेअनुसार गर्भाधानको समयमा बाबुको तौल, खानपानको अनियन्त्रित आदात हुनेवाला बच्चामा मधुमेह पैदा गर्नमा सोझै सम्बन्धित हुन्छ । ‘नेचर’ पत्रिकामा प्रकाशित सो प्रतिवेदनसँगै चेतावनी दिइएको छ- मोटा पिताहरू होसियार १

हलुवा खाएर ज्यान बन्ने १
हलुवाको बास्ना र मिठासले धेरैको मुखमा पानी आउँछ, तर यसमा हुने चिनी र चिल्लोका कारण चाहेर पनि कैयनले यसलाई परहेज गरिरहेका हुन्छन् । यसरी हलुवाप्रति सावधानी अपनाइरहेका व्यक्तिले अब त्यसरी हलुवालाई परहेज गर्नु नपर्ने भएको छ । ओमानका शोधकर्ताहरूले यस्तो हलुवाको फर्मुला आविष्कार गरेका छन् जो स्वादमा उत्तिकै मीठो भए पनि स्वास्थ्यका दृष्टिले भने अत्यन्त उपयोगी हुन्छ । परम्परागत हलुवा खाँदा जसरी स्वास्थ्य बिग्रने सम्भावना रहन्छ, काबोस विश्वविद्यालयका खाद्य वैज्ञानिक प्रोफेसर मोहम्मद सफिदर रहमानको अगुवाइमा पत्ता लागेको फर्मुलाबाट बनेको हलुवाले चाहिँ स्वादका साथ-साथ ‘स्वास्थ्य’ पनि दिने दाबी गरिएको छ । छिट्टै विश्वबजारमा उपलब्ध हुने दाबी गरिएको हलुवाको सो सूत्र हलुवापे्रमीका लागि स्वाद र स्वास्थ्य निर्माणको अचुक उपाय बन्ने सम्बन्धित खाद्य शोधकर्ताहरूले जनाएका छन् । उनीहरूले त्यसलाई ‘पौष्टिक हलुवा’ नाम दिएका छन् ।