‘मास प्रिन्टर’ ल्याउँदै यातायात कार्यालय

‘मास प्रिन्टर’ ल्याउँदै यातायात कार्यालय


यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् ।

हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’को माग छ । विभागले भने एक हजार चार सय मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’को पालो कुरेर बसेका छन् ।

‘मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका आठ छाप्ने यन्त्रमध्ये हाल चारवटाले काम गरेको र चारको अवधि सकियो, यसको मर्मत गर्नुभन्दा नयाँ किन्न सस्तो पर्छ, चारवटा यन्त्रले छापेको ‘स्मार्ट लाइसेन्स’ १६ वटा कार्यालयबाट वितरणको निर्णय गरिँदा सेवाग्राही मर्कामा परे,’ उनले भने ।

विभागले गत वर्ष साउनदेखि १६ कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ सेवा शुरु गरेको हो । उपत्यकाका तीन कार्यालयले भने यो सेवा ०७२ मंसिरदेखि शुरु गरेका थिए । एउटा यन्त्रको क्षमता एक लाखसम्म छाप्ने हुने महानिर्देशक ढकालको भनाइ छ । लामो समय पर्खनुपर्ने समस्या समाधानका लागि विभागले ‘मास प्रिन्टर’को बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

तीन महिनामा ‘मास प्रिन्टर’ आएपछि दैनिक १० हजारसम्म ‘स्मार्ट लाइसेन्स’ छापिने उनी बताउँछन् । यन्त्र किन्न अनुमानित रु. पाँच करोड लाग्ने विभागले जनाएको छ । विभागले हालसम्म साढे तीन लाख ‘स्मार्ट लाइसेन्स’ छापिसकेको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि ‘आउट सोर्सिङ’बाट ‘स्मार्ट लाइसेन्स’ छाप्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी पनि गरेको छ ।

‘स्मार्ट लाइसेन्स’ लिन एक वर्षदेखि पाँचपटकसम्म काठमाडौं आउजाउ गरिरहेको नारायणघाटका राजेन्द्र कार्कीले गुनासो गरे । निश्चित समय तोकेर बोलाएको भए पटक–पटक आउजाउ गर्नुनपर्ने उनको भनाइ छ । विभागले ‘स्मार्ट लाइसेन्स’का सेवाग्राहीलाई पटकपटक तारिख दिने गरेको छ ।