कामनपाद्वारा ‘स्मार्ट पार्किङ’का लागि बोलपत्र आह्वान

कामनपाद्वारा ‘स्मार्ट पार्किङ’का लागि बोलपत्र आह्वान


काठमाडौं महानगरपालिकाले न्युरोडमा एकैपटक पाँच सय सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।

महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रूपमै आवेदन दिन बोलपत्र आह्वान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेशमार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी–साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

शारीरिक रूपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने व्यवस्थासहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी संकलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेसन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको दाबी छ । भवन निर्माण गर्न कामपाले न्युरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ ।

सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हुँदा उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । उक्त भवन निर्माणसँगै काठमाडौं उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ ।