भरतपुर आँखा अस्पतालबाट एक लाख ७१ हजारले लिए सेवा

भरतपुर आँखा अस्पतालबाट एक लाख ७१ हजारले लिए सेवा


भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४ सयको आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो ।

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरंग विभागमार्फत एक लाख १८ हजार ४ सय ५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९ सय ८५ को आँखाको उपचार गरिएको छ । अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहँुमा आँखा शिविर गरिएको घिमिरेले बताए । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६ वटा एकदिने शिविर र १६ वटा सर्जिकल शिविर सञ्चालन गरेको थियो ।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सो अस्पतालले गत आवमा पाँच हजार ६ सय ९६ को आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार हरेक वर्ष बिरामीको संख्या बढ्दै गएको छ । आव ०७३–७४ मा एक लाख ३४ हजार ९ सय ७९ जना आँखाका बिरामीको परीक्षण गरेको थियो । अस्पतालले मुख्य अस्पतालसहित भरतपुर हाइटमा बहिरंग विभाग र नौवटा आँखा उपचार केन्द्रमार्फत सेवा दिइरहेको छ ।