‘रिलिफ फार्मेसी’को ‘पेनफुल’ कार्य, भिडियो एक्सरेमा खुलेआम ठगी

‘रिलिफ फार्मेसी’को ‘पेनफुल’ कार्य, भिडियो एक्सरेमा खुलेआम ठगी


– पुनहरि बेल्बासे, भैरहवा

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को खिल्ली उडाउँदै भैरहवाको एक निजी औषधि पसलले जनस्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । भैरहवाको बुद्धचोकमा रहेको रिलिफ फार्मेसीले यसरी जनस्वास्थ्यमाथि खेलवाड गरिरहेको छ । औषधि व्यवस्था विभागमा दर्ता रहेको भनिएको उक्त फार्मेसीले औषधि पसल सञ्चालनको लागि मात्र औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको छ । तर, त्यहाँबाट प्याथोलोजी सेवा, एक्सरे सेवा तथा भिडियो एक्सरे सेवा पनि सञ्चालन गरिरहेको छ । एक्सरे र प्याथोलोजीमा दक्ष स्वास्थ्यकर्मी रहेको भनिए पनि भिडियो एक्सरेको लागि त्यहाँ न त रेडियोलोजिस्ट चिकित्सक नै छन् न त दक्ष स्वास्थ्यकर्मी ।

यही भदौ १३ गते एक युवतीको भिडियो एक्सरे गराउन भनी उक्त फार्मेसीमा जाँदा उक्त तथ्य बाहिरिएको हो । पेट दुख्यो, एकपटक भिडियो एक्सरे गरिहेरौँ न भनी युवतीको आफ्नै चाहनाअनुरूप भिडियो एक्सरे गर्न जाँदा त्यहाँ न त चिकित्सक नै थिए न त दक्ष प्राविधिक । एकैछिनको पर्खाइपछि एक महिला आइन् । उनी आएलगत्तै ल डाक्टर आउनुभयो भिडियो एक्सरे गर्न भित्र जानुस् भनियो । भिडियो एक्सरे पनि भयो । रहस्य तब थाहा भयो जब भिडियो एक्सरेको रिपोर्ट आयो । भिडियो एक्सरेको रिपोर्ट भीम अस्पताल भैरहवाका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट डा. रामजी चौधरीको नामबाट दिइयो ।

यसबारेमा उक्त फार्मेसीमा बुझ्दा भिडियो एक्सरे गर्ने ती महिला (कथित डाक्टर) को योग्यता के हो, मेडिकल काउन्सिल नं. कति हो यसबारे मेडिकल सञ्चालकलाई पनि थाहा छैन । न त ती महिलासँग नै यसको जवाफ छ । भिडियो एक्सरे गर्ने महिलासँग यसबारे बुझ्न खोज्दा उनी भन्छिन्– म रेडियोलोजीमा मास्टर्स गर्दै छु, रिजल्ट आएपछि दर्ता गराउँछु, तर म नेपाल मेडिकल काउन्सिलमा दर्ता छैन । यसबाट के स्पष्ट हुन्छ भने न त ती महिला चिकित्सक हुन्, न त उनीसँग भिडियो एक्सरे गर्ने योग्यता नै छ ।

किन तपार्इंहरूले डा. चौधरीको लेटरप्याडमा रिपोर्ट दिनुभएको छ त भन्ने प्रश्नमा मेडिकल सञ्चालक महिलाले प्रतिप्रश्न गर्दै भनिन्– मेडिकल कलेजमा भिडियो एक्सरे गर्ने को हो भनेर कसैले सोधेको छ ? त्यहाँबाट जसले रिपोर्ट दिए पनि तपाईंहरू चुपचाप बस्नुहुन्छ, हामीले त के नै गरेका छाँै र इमर्जेन्सी पर्दा मात्र भिडियो एक्सरे गरिदिने त हो नि, अनि किन हाम्रो पछाडि लाग्नुभएको छ ?

रेडियोलोजिस्टभन्दा अरूले के भिडियो एक्सरे गर्न मिल्छ त ? यसबारेमा डा. रामजी चौधरीसँग बुझ्दा रेडियोलोजिस्टबाहेक अन्य कुनै चिकित्सकले निश्चित अवधिको तालिम लिएको छ भने बिरामीको भिडियो एक्सरे गर्न पाउने प्रचलन रहे तापनि अन्य कुनै प्राविधिक वा स्वास्थ्यकर्मीले चिकित्सकको उपस्थितिबिना भिडियो एक्सरे गर्न नमिल्ने बताउँछन् । तपाईंको नामको लेटरप्याड दुरुपयोग भई भटाभट भिडियो एक्सरे भइरहेको पाइएको छ नि डाक्टर साहेव, तपाईंलाई थाहा छ यसबारेमा भन्ने प्रश्नमा आफूले केही दिन अगाडि यो हल्ला सुनेको, तर आफूले नदेखेको बताउँदै यसो भएको छ भने यो गलत काम हो, यसलाई रोक्न पहल गर्छु भन्छन् डा. चौधरी ।
उता जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य निरीक्षक मोतीप्रसाद पौडेलले यसबारेमा जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीलाई कुनै जानकारी नभएको बताउँदै त्यस्ता उजुरी आएमा अनुगमन गरी नियमानुसार गरिने बताउँछन् ।

स्रोतका अनुसार रिलिफ फार्मेसीमा आउने बिरामीको भिडियो एक्सरे गरिदिने ती महिला, डा. रामजी चौधरीकी बुहारी इन्दु सिंह हुन् । उनले आफ्ना ससुरा डाक्टर रामजी चौधरीको नामबाट भिडियो एक्सरे गर्ने र निजकै नामबाट रिपोर्ट दिने गरिरहेकी छिन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा २३ (ग) मा स्पष्ट भनिएको छ– रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता : रेडियोलोजी सेवाको लागि आवश्यक जनशक्ति तथा योग्यता देहायबमोजिम हुनुपर्नेछ : (१) रेडियोलोजिस्ट : मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गरी रेडियोलोजी विषयमा एमडी, डीएमआरडी, एफआरसीआर वा सोसरह कोर्स उत्तीर्ण गरेको हुनुपर्नेछ । (२) रेडियोलोजी एन्ड इमेजिङको रिपोर्टिङ रेडियोलोजिस्टहरूले मात्र गर्न पाउने साथै रेडियोलोजिकल प्रोसिड्योरहरू पनि यथासम्भव रडियोलोजिस्टले गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै दफा २३ (ङ) मा अल्ट्रासोनोग्रामको प्रयोग सम्बन्धमा रेडियोलोजिस्टहरूबाहेक आप्mनो क्षेत्रमा मात्र प्रयोगमा ल्याउने गरी मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको यूएसजी तालिम प्राप्त गरेको स्त्री तथा प्रसूति रोगसम्बन्धी विशेषज्ञहरूले गर्न पाउनेछन् भनी स्पष्ट पारेको छ ।

रिलिफ फार्मेसीमा एक्सरेको लागि चाहिने मापदण्ड पनि पूरा गरिएको छैन । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को २३ (क) अनुसार (१) एक्सरेको लागि कम्तीमा २ सय २५ स्क्वायर फिटको कोठा उपलब्ध हुनुपर्ने । (२) एक्सरे गर्ने कोठाको भित्ताको मोटाइ (क) प्लास्टर अफ पेरिससहित ९ इन्च वा (ख) शून्य दशमलव बीस मिलिमिटरको लिडव्यारिएरसहित ६ इन्चको हुनुपर्ने । साथै झ्याल, ढोका तथा भित्ताबाट हुने विकिरणको चुहावट हुन नसक्ने गरी आवश्यक व्यवस्था भएको हुुनुपर्ने भनिएको भए पनि मापदण्डअनुसारको कुनै पूर्वाधार रहेको छैन । कुनै पनि सामान खरिद गरिसकेपछि उपभोक्ताले बिल लिन पाउने अधिकार रहे तापनि उक्त फार्मेसीले औषधि खरिद र भिडियो एक्सरे गरेको बिलसमेत कापीको पन्नामा लेखेर दिने गरेका छन् ।

प्रचलित ऐनकानुनको खिल्ली उडाउँदै जिल्ला सदरमुकाममै यसरी जनस्वास्थ्यमाथि खेलवाड गरिनु र भिडियो एक्सरेको नाममा ठगी हुनु चिन्ताको विषय हो । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।