बिरामीको गुनासो नआउने गरी काम गर्न निर्देशन

बिरामीको गुनासो नआउने गरी काम गर्न निर्देशन


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिरामीको गुनासो नआउने गरी समानरुपले गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन् ।

नेपाल प्रहरी अस्पतालभित्र निर्माण भएको काली मन्दिर उद्घाटन, इमर्जेन्सी तथा ओपिडी र महिला ब्यारेक भवनको शिलान्यास र हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

महानिरीक्षक खनालले अपराध नियन्त्रण र कानून कार्यान्वयनमा प्रहरीले विशेष ध्यान दिनुपर्नेमा जोड दिदैं नेपाल प्रहरीको शिर उँचो पार्ने कार्य गर्न आफू तल्लीन रहेको हुँदा उक्त अभियानलाई सफल पार्न अस्पताललगायत सबै इकाइका प्रहरी आआफ्नोतर्फबाट लाग्नुपर्ने बताए ।

‘प्रहरी अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ, आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा महानिरीक्षक खनालले अस्पतालबाट प्रकाशित ‘नेपाल मेडिकल जर्नल’ विमोचन गर्नुका साथै उत्कृष्ट काम गर्ने अस्पतालका कर्मचारीलाई नगद पुरस्कारसमेत प्रदान गरे ।