निर्मला हत्याका अपराधीले उन्मुक्ति पाउँदैन : खनाल

निर्मला हत्याका अपराधीले उन्मुक्ति पाउँदैन : खनाल


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । आज (शुक्रबार) देखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

महानिरीक्षक खनालले घटनाको सूक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन,’ उनले भने, ‘चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।’
अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन खनालले आग्रह गरे ।

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनको भनाइ छ । ‘अभियानअन्तर्गत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक संघसंस्थासित समन्वय गरेर अघि बढ्छौँ,’ खनालले भने, ‘न्यायमा पहुँच बढाउनसमेत अभियान लाभदायक हुनेछ ।’

महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो । बिहीबार साँझ भीमदत्तनगर आइपुगेका खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेका थिए ।